Comments Add Comment

वीरेन्द्र क्याम्पसका प्रमखुसहित ६ प्राध्यापकद्वारा राजीनामा

१३ माघ, चितवन । विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीचको विवादका कारण चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस मंगलबार ठप्प बन्न पुगेको छ ।

वीरेन्द्र क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले कारागारभित्रै आक्रमणमा परी मारिएका शिव पौडेलको स्मृतिमा सरस्वतीको मन्दिर बनाएपछि उत्पन्न विवादले अहिले यहाँ चरम रुप लिएको छ । जसका कारण क्याम्पसप्रमुखसहित ६ जना प्राध्यापकले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसमा देखिएको जबर्जस्ती सहन नसकेर राजीनामा दिएको क्याम्पसप्रमुख डा केशवभक्त सापकोटाले बताए ।

उनीसँगै राजीनामा दिनेमा सहायक क्याम्पसप्रमुख गोविन्द सापकोटा, धर्मबहादुर थापा, खगराज आचार्य, अर्जुनप्रसाद सापकोटा र दयानिधि घिमिरे छन् । उनीहरूले दिएको राजीनामापत्रमा क्याम्पसको जग्गा अतिक्रमण भएको देख्न नसकेर आफूहरुले राजीनामा दिएको उल्लेख छ ।

एउटा विद्यार्थी सङ्गठनले कसैको नाममा भौतिक निर्माण गरेपछि अरू समूहले पनि यस्ता गतिविधि गर्ने भएकाले यसलाई रोक्न खोज्दा जबर्जस्ती गरिएकाले राजीनामा दिएको डा सापकोटाले बताए । सरस्वती पूजाको दिनमा उक्त मन्दिर अज्ञात समूहले भत्काई दिएको थियो । त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पस नेवि सङ्घ इकाई समितिले क्याम्पस प्रशासनले मन्दिर भत्काएको भन्दै आन्दोलन सुरु गरेपछि क्याम्पस बन्द हुन पुगेको हो । सरस्वतीको मन्दिर पुनः निर्माण नभएसम्म आन्दोलन नरोक्ने नेविसङ्घ इकाई सभापति वचन कार्कीले बताए ।

यता अनेरास्ववियु क्याम्पस इकाई अध्यक्ष बिमल केसीले विगतका समयमा विद्यार्थी सङ्गठनले पठनपाठन र पुस्तकालय बन्द नगरेको बेला अहिलेको समयमा सबै ठप्प हुनु दुःखको कुरा भएको भन्दै तत्काल कलेजमा पठनपाठनको वातावरण तयार पार्न माग गरे । प्राध्यापक तथा कर्मचारी सङ्घले एक विज्ञप्ति जारी गरी प्रशासनिक र पठनपाठनको काम नियमित गर्न सम्बन्धित पक्षलाई वार्ताका लागि आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment