Comments Add Comment

बारामा अपहरणपछि बालकको हत्या

१३ माघ, बारा । बाराको सदरमुकाम कलैयामा साढे ४ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । कलैया नगरपालिका ५ बस्ने मोतिलाल साहका छोरा आशिषको हत्या भएको हो ।

घरभन्दा करिब चार सय मिटर टाढा पूर्वपट्टी अचेत अवस्थामा फेला परेका बालकको टाउको र छातिमा चोट थियो ।

उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको डिएसपी रविन्द्र रेग्मीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने उनले बताए । उनले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

सोमबार राति घरमा सुतिरहेका बालक राति ८ बजेतिर हराएका थिए । घरमै रहेका अभिभावकहरुले बालक नभएको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । त्यसलगत्तै खोजीमा निस्किएका प्रहरी र स्थानीयले टाँगा स्ट्याण्डमा आशिषलाई फेला पारेका थिए ।

अभिभावक र स्थानीयले अपहरणपछि हत्या भएको बताएका छन् ।

शान्ति सुरक्षा माग्दै प्रदर्शन

स्थानीयले शान्ति सुरक्षाको माग गर्दै बाराको भरतचोकमा प्रदर्शन गरिरहेका छन् । यसअघि पनि कलैयामा दुई बालिकाको हत्या भएको थियो । यस्ता घटना पटक पटक भएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । समस्या समाधानको लागि पीडित पक्ष र प्रहरीबीच वार्ता भैरहेको छ ।

सर्लाहीमा महिलाको हत्या

सर्लाहीको मलंगवा नगरपालिका ५ की खुसवुदा खातुनको हत्या भएको छ । राति घरमा सुतेकी खातुनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलबार विहान शव फेला परेको थियो ।

पक्की घरमा सुतेकी उनी कच्ची घरमा मृत फेला परेको प्रहरी नायव उपरीक्षक सुदम सिजापतिले जानकारी दिए । एउटै घरको छुट्टाछुट्टै कोठामा सुतेकाले दुई छोरा र एक छोरीले बिहानमात्र आमाको हत्या भएको थाहा पाएका थिए ।

मृतक खातुनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा छन् ।

यसैगरी सिन्धुपाल्चोकको भोताङ गाविस-१ छिम्तिका राजु तामाङको हम्बर प्रहारबाट गएराति मृत्यु भएको छ । खानेपानीको पाइप काटेको आरोपमा सोही गाउँका पेम्बा तामाङले हम्बर प्रहार गर्दा गम्भीर घाइते भएका राजुको उपचारका लागि क्षेत्रीय अस्पताल मेलम्ची ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्ऽबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment