Comments Add Comment

घाँटी रेटेर महिलाको हत्या

१३ माघ, काठमाडाैं । धारिलो हतियार प्रहार गरेर सर्लाहीमा एक महिलाको हत्या भएको छ भने हम्बर प्रहारबाट सिन्धुपाल्चोकमा एक युवकको ज्यान गएको छ । सर्लाहीको सदरमुकाम मलङ्गवामा धारिलो हतियार प्रहार गरी खुसबुदा खातुनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलबार बिहान खातुनको शव फेला परेको हो । राति पक्की घरमा सुतेकी खातुनलाई छेउमै रहेको अर्को कच्ची घरमा लगेर घाँटी रेटेर हत्या गरिएको प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले जानकारी दिए ।

एउटै घरको छुट्टाछुट्टै कोठामा सुतेकाले दुई छोरा र एक छोरीले बिहानमात्र आमाको हत्या भएको थाहा पाएका थिए । प्रहरीका अनुसार छोराछोरीले बिहान उठेर हेर्दा आमालाई नदेखेपछि छिमेकीसहितले निकैबेर खोज्दा अर्को घरमा हत्या गरिएको अवस्थामा खातुनको शव फेला परेको थियो ।

मृतक खातुनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा छन् ।

हम्बर प्रहार गरी युवाको हत्या

यसैबीच  सिन्धुपाल्चोकको भोताङ गाविस–१ छिम्तिका राजु तामाङको हम्बर प्रहारबाट गएराति मृत्यु भएको छ ।

खानेपानीको पाइप काटेको आरोपमा सोही गाउँका पेम्बा तामाङले सोमबार साँझ हम्बर प्रहार गर्दा गम्भीर घाइते भएका राजुको उपचारका लागि क्षेत्रीय अस्पताल मेलम्ची ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

मृतक राजु र पेम्बाबीच पहिले पनि पटक पटक झगडा हुँदै आएको थियो । केही महिनाअघि मृतक राजुले पेम्बालाई खुकुरी प्रहार गरेको आरोपमा आठ महिना जेलसमेत बसेका थिए । पेम्बा अहिले इलाका प्रहरी कर्यालय मेलम्चीको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment