Comments Add Comment

‘बिग्रेको एमाओवादी’ र अर्कमन्य बौद्धिक तप्का

-यादव देवकोटा

गएको साता नयाँ संविधान बनाउने प्रशव पीडामा रहेको देशले संविधानसभामार्फत केही टीठलाग्दा घटनाक्रम बेहोर्नुपर्‍यो । हिजो प्रचण्डहरुले गिरिजाप्रसाद कोइरालालाई उपभोग्य वस्तुको एउटा इकाइ ठानेर मुसो खेलाएझैं खेलाउन खोज्दा बाह्रबुँदेबाट शुरु भएको सहमतिको राजनीति बहुमतीय प्रक्रियामा प्रवेश गरेको थियो ।

अहिले त्यही बाह्रबुँदेको जगमा विकसित राजनीतिक घटनाक्रमको उत्कर्षमा देशले आयोजना गरेको संविधानसभा सनातन संसदजस्तो अल्पमत-बहुमतमा पुगेको छ र बाह्रबुँदेका सारा आधारहरु गल्र्यामगुर्लुम्म ढलेका छन् ।

यादव देवकोटा
यादव देवकोटा

संविधानसभा बिहारी शैलीको जोरजर्वजस्तीबाट सहमतीय प्रक्रिया छाडेर बहुमतीय प्रक्रियामा प्रवेश गरेपछि देशको सहमतिको यात्रा बानेश्वरको सेतोघरको कुर्सीमुनि च्यापिन पुगेको छ । र, हामी उत्तेजनाहरुको विस्तार गरेर देशलाई भीडन्तको दिशामा अग्रसर गराउँदैछौं ।

उसै पनि एमाओवादीसहित कांग्रस एमालेको योजनामा कैयन राजनीतिक दलहरुलाई संविधानसभाबाट बाहिर राखेर एकपक्षीय संविधानसभाको आयोजना गरिएकै थियो ।

संविधानलाई विद्यमान राजनीतिक शक्तिहरुबीचको लेनदेनको साझा सम्झौताको दस्तावेजको रुपमा लिने गरिए पनि नेपालमा भने संविधानसभाको चुनावको विरोध गरेर लामो समय गुजारेका र संविधानसभा माग गरेवापत टाउकाको मोल तोकेका मानिसहरु नै संविधान निर्माणको बलशाली स्थानमा पुगेपछि टाउको गन्ने खेलबाटै संविधान बन्ने भएको छ ।

बिग्रेको एमाओवादी र अर्कमन्य बौद्धिक तप्का

यताका दिनहरुमा संघीयता, राज्य पुर्नसंरचनाको कुरा गर्नासाथ देश विखण्डन गर्नेहरु, जातीवादीहरु भनेर गाली गलौज गर्न थालिएको छ ।

जातीय सवाल संघीयताका थुप्रै आधारहरु मध्ये एउटा थप आधार मात्रै हो । अझै संघीयता आफैंमा कुनै वाद होइन, यो त राज्यको बिकेन्द्रीकरण र अधिकार बाँडफाँडको एउटा मोडल मात्रै हो । लिङ्गीय, क्षेत्रीय, भौगोलिक, बर्गीय जस्तै जातीय उत्पीडन बिरुद्धको संघर्ष जायज छ । तर, जातीय मुक्तिको आन्दोलन बर्गीय मुक्ति आन्दोलनको अधीनस्थ हुनुपर्छ ।

Prachandaयुगौंदेखि दलितहरुमाथि विभेद गर्दा, मन्दिर, धारा, बाटोमा छोइछिटो गर्दा पनि तिनले सहँदासम्म समाज शान्त भइरहने, समाज भब्य र सुन्दर लागिरहने तर मनुस्मृतिको निलडामले गलेको काँध फेर्छु भन्दै युगौदेखि अमानस बनाइएका दलित, अपहेलितहरुले अब अत्याचार र समयको क्रुर दलनलाई अब मानिन्न भन्नासाथ विखण्डन हुने कति टीठलाग्दो समाज हाम्रो ? यस्तो टीठलाग्दो समाज हामीलाई किन चाहिएको होला ?

फेरि पनि उल्लेख गरौं, मानव सभ्यताको आजसम्मको इतिहासमा जति पनि हिंसा, दमन र मानिसहरुको मृत्यु खेलो चल्यो, सबै राज्यसत्ता र बलशालीहरुले निर्धाहरुलाई दबाइराख्ने, अधिकार, स्वतन्त्रता दिन नचाहने कारणले भएको छ । ती तमाम प्रयासका बावजुद पनि मानिसहरुले स्पार्टाकस विद्रोहदेखि आजसम्मको इतिहासमा शासक बर्गबाट अधिकार खोसेर लिएकै छन् ।

आजको सवाल इतिहासको पाठलाई गम्भीरतापूर्वक लिएर बिना रक्तपात निर्धाहरुलाई अधिकार दिने कि तिमीहरु कमजोर छौ, सकेको गर भनेर हिंसालाई निम्ता दिएर काजु चपाउँदै शान्ति, लोकतन्त्र र बहुलवादको नक्कली भजन फलाकेर बस्ने भन्ने नै हो ।

भक्तपुरका राजा यक्ष मल्लका सात छोरा र एक छोरी थिए । यक्ष मल्लको मृत्युपछि उनका जेठा छोरा राय मल्ल गद्दीमा बसे र अरु भाइहरुसँग मिलेर शासन चलाए । पछि उनका माइला भाइ रत्न मल्ल कान्तिपुरमा राजा भए । अन्य भाइहरुले बनेपा, ललितपुरमा शासन कायम गरे ।

राय मल्ललाई भाइहरुको पनि सम्राट मै हुँ भन्ने भयो र उनी भाइहरुको अस्तित्व स्वीकार्न तयार भएनन् । अन्तत भाइहरुको अस्तित्व स्वीकार नगरेकै कारण उपत्यकाको राज्य टुत्रिmएर तीन भागमा विभाजित भयो ।

त्यस्तै अस्तित्व अस्वीकार गर्ने घटना लमजुङ्गका राजा यशोब्रम्ह शहका दुई छोराहरुबीच पनि देखियो । लमजुङ्ग राज्यको अधीनस्थ राइनास कोटमा गाई गोठ कुर्न पठाइएका राजकुमार द्रब्य शाहले गणेश पाँडे, प्रतिमन राना, नारायणदास अज्र्याल, मुरली खवासहरुको बुद्धि र तिक्डमको बलमा लिगलिगकोट र गोरखा हात पारेर त्यहाँको शासक बने । उनका दाजु नरहरी शाहले भाइ लमजुङ्गको गोठ कुर्न गएकाले गोठ कुर्दाकुर्दै जोडेको गोरखा, लिगलिग, सिह्रानचोक, अजिरगढ (तत्कालीन टुक्रे राज्यहरु) पनि आफ्नै हुन्छ भन्ने किचलो निकाले ।

दुई भाइबीच किचलो बढ्दै गएपछि उनकी आमा कान्तिवतीले औंला काटेर चेपे नदीमा रगत बगाएर साँध लगाउँदै आफ्नो रगत परेको सीमा तरेर (इतिहासमा कतै दुध र कतै रगत बगाएको भनिए पनि रानीले रगत बगायो भन्दा अन्यथा मानिने भएकाले तत्कालीन समयका इतिहासकारहरुले दुध बगाएको लेखेपनि हुर्किएर राज्य जोड्दै हिँड्ने उमेरको छोरा भइसकेकी विधवा रानीको स्तनबाट दुध आउने कुरा पत्याउन सकिन्न, त्यसैले औला काटेर रगत बगाएको कुरा नै बढी सत्य हुन आउँछ) नजाने बाचा गराउनुपर्‍यो ।

दासताबाट मुक्ति खोजेका स्पार्टाकसहरुको विद्रोहलाई दमन गर्दै समाज भाँडुवा भनेर आरोपित गरियो । उनीहरुलाई स्वतन्त्रता दिन अस्वीकार गरेकैले असंख्य दासहरुको हत्या भयो ।

हामीकहाँ नै गणतन्त्र, संविधानसभा दिन नमानेकाले हजारौं मानिसहरुको ज्यान गयो । राणाहरुले प्रजातन्त्र दिन नमानेर गंगालालसहितका महान शहीदहरुले मृत्युबरण गर्नुपर्‍यो ।

संसारमा जति पनि हिंसाका खेलहरु भए या मानव जातिले आफ्नो जीवनको कुवार्नी गर्नुपर्‍यो सबै दमन गर्ने र अधिकारलाई मुट्ठीमा राखेर बाँकी मानिसलाई ब्यवस्थाको सिक्रीले बाँधीराख्ने प्रयासहरुका कारणले भएको देखिन्छ  ।

व्रिटिशहरुले भारतीय जनताको स्वतन्त्रताको मागलाई अस्वीकार गर्दै दमन गर्‍यो । पञ्चायतले स्वतन्त्रताको मागलाई अस्वीकार गर्दै यज्ञ बहादुर थापा, नेत्र घिमिरे, विरेन राजबंशी, ऋषि देवकोटा ‘आजाद’हरुको हत्या गर्‍यो । ०४६ सालको आन्दोलनले मागेको स्वतन्त्रता नदिन पनि कैयौंको हत्या भयो ।

गणतन्त्र, समानता, स्वतन्त्रता, समावेशिता, गरिब मैत्री राज्यको माग नमानी राज्यले दमनको बाटो लिँदा देशले दश बर्षे हिंसा-प्रतिहिंसाको बाटो समात्नुपर्‍यो ।

हो, आजको दिनमा एमाओवादी र अशोक राईको संघीय समाजवादी पार्टीवीच नाममा बाहेक भिन्नता देखिन छाडेको छ । एमाओवादी वर्गीय मुक्तिको आन्दोलनबाट स्खलित भएर एउटा जातीय युनिटजस्तो भई खुम्चिइबसेको छ । आज वर्गीय रुपले उत्पीडनमा परेका भोकानाङ्गा मजदुर, किसान, श्रमजीविहरुको मुद्दा चन्दा उठाउने प्रयोजनमा सीमित भइसकेको छ र एमाओवादी संघीय समाजवादी पार्टी या मंगोल नेशनल अर्गनाइजेशनको शाखा कम्पनीजस्तो महशुस हुन थालेको छ ।

संघीयताले नेपाली समाजलाई ठीक ठाउँमा लग्दैन भने जनतालाई अधिकारसम्पन्न बनाउन कांग्रेस एमालेसहित संघीयता मन नपराउनेहरुको फरक मोडल के हो त ? आफ्नो मोडल पनि नहुने र अरुले ल्याएको मोडलमा प्रतिक्रियात्मक बनेर देशको समय सिंहदरवारको तख्ताभित्र कैद गरेर रोकिराख्ने ?

धेरैले भन्छन्, एमाओवादी बिग्रियो, प्रचण्ड बाबुरामले यसो गरे, उसो गरे, त्यही भएर एमाओवादीको एजेण्डा अस्वीकार गर्नुपर्छ । तर,  मानिसहरुले निकै गहिरो गरी अनुभूत गर्नुपर्छ-प्रचण्ड बाबुरामहरुले समय क्रममा गरेका तमाम कमजोरीहरुको मूल्य चुकाउन नेपाली समाज अभिसप्त छैन । बरु त्यसबाट सिकेर अगाडि बढ्न अभिप्रेरित हुनुपर्छ ।

आज हामी कोही माओवादी भएका नाममा या कुनै एजेण्डा कुनै वादीले ल्याएका नाममा त्यसप्रति पूर्वाग्रही हुने र देशलाई परिवर्तनको ब्याक गियरमा चलाउने जुन योजनाबद्धता देखिरहेछौं यो विल्कुल कम्मरमा छुरी बोकेर भजन गाउन मन्दिर जाने जस्तै नक्कली काम भइरहेछ ।

हामी समाजमा कलह, विग्रह र झगडाको बिउहरु छरेर छाडिदिन्छौं र शान्तिको ओठे मन्त्र फलाक्छौं जस्तो कि एउटा नामूद भ्रष्ट, अपराधी मन्दिरमा गएर सदाचार, इमान र सादगीको मन्त्र फलाक्छ ।

महाभारत, रामायण र इतिहासको बीरगाथा पढेको रस बसेर होला, नेपाली समाज द्वन्द्वको बिउ झरेर कलह कुरीबस्छ । बाहिर शान्तिको गीत गाउँछ र घरमा युद्धका वीरहरुका कथाहरु पढिबस्छ ।

महाभारतमा प्रतापी भीष्मले कसरी गधा चलाए, अजुर्नले कसरी धनुबाण चलाए, कर्ण, भीष्महरुले कसरी बैरी पक्ष मारे, रामायणमा कसरी रावणको बध भयो, गोरखाली सेनाले कसरी मकवानपुर गढी, सिन्धुलीगढी र अन्य लडाइँमा मुला काटेझैं अंग्रेजको टाउको गिँडे, जंग बहादुरविरुद्ध लखन थापाले कसरी लडाकु दस्ता बनाए, कृष्णलाल अधिकारीले मकैको खेती लेखेर कसरी राणाहरुलाई चुनौति दिए, चार शहीदहरु कसरी झुण्ड्याइए, कांग्रेसले कसरी राणविरुद्ध हतियारबद्ध सशस्त्र युद्ध गर्‍यो, मालेले कसरी झापामा मान्छेको टाउको गिँड्यो, माओवादी छापामारहरुले कसरी सैनिक ब्यारेक कब्जा गरे जस्ता वीर रसले भरिएका कथाहरुमा नेपाली समाजको युगीन रुची भएर होला, बाहिर शान्तिको भजन फलाके पनि देशको राजनीति भीडन्ततिर जान लाग्दा समेत हामी त्यही असमझदारीको आगोमा घिउ थपेर आगो बाल्न उद्यत देखिन्छौं ।

अरु त अरु भैगए, देशमा समस्या आएका बेला, हाम्रा सामु तमाम प्रश्नहरुको चाङ्ग लागेको यस्तो बेला बौद्धिक भनिने बर्गको भूमिका प्रश्नहरुको पक्ष-विपक्षको घोडा दौडाएर बस्ने हो कि समस्याग्रस्त समाजलाई निकासका दिन केही उज्यालो देखाउन यत्न गर्ने हो ?

केही पूर्व फलकहरु

हामीले भुलिसकेजस्तो छ, यो देश १० बर्ष लामो हिंसा-प्रतिहिंसाबाट गुज्रिएर आएको हो । उतिबेला हिंसाको आयतन लम्बिँदै जाँदा देशको दुरदराजबाट मानिसहरुले आफ्नो हड्डीको पटरी लगाएर बत्ताउँदै पठाएको परिवर्तनको एक्सप्रेस रेलले छाडेको आवाज अलि चर्को गरी शहरमासमेत गुन्जन थालेको थियो- हिंसा थाम्न संविधानसभा देऊ ।

राजदरबारको चक्कर लगाएर दैनिक राजनीतिको पसले धन्दा चलाउने खेलोमा लागेकाहरु संविधानसभाको पेटबोलीले महाराजको गद्दी ताकेको देखेर होस गुमेको अवस्थामा पुगे । र, ऐलान गरे-संविधानसभा माग्नेहरु आतंककारीहरु हुन् ।

बस् त्यसपछि, संविधानसभा नमानेपछि, संविधानसभाको माग गरेवापत दुर गाउँका झुत्रे गोठालाहरु ‘आतंककारी’ भनेर मारिए । भरिया, बनमा दाउरा काठ खोज्न जाने, एयरपोर्ट खन्न जाने कुल्लीहरुसहित दसौं हजार मानिसहरु संविधानसभा माग्ने आतंककारीका रुपमा मारिए । त्यसरी दशौं हजार ‘आतंककारी’हरुले लडेर एक दिन शहरलाई संविधानसभाका लागि बाध्यकारी अवस्थामा पुर्‍याए ।

गाउँबाट हुत्तिँदै आएको अग्रगमनको तोप लागेर ध्वस्त हुँदै गएको दरबारले पुरातन सत्ताको धुरी खाँबोका रुपमा बल दिन छाडेपछि कांग्रेस एमाले सडकमा पछारिए र संविधानसभाको बुटी पाएपछि ब्युँतिएर परिवर्तनको बाटोमा हिँड्न लतारिएरै सही तयार भयो । त्यसको उत्कर्षमा देशले संविधानसभाको चुनाव आयोजना गर्‍यो ।

संविधानसभाको आयोजना गर्नुमा देशलाई हिंसाबाट बाहिर निकाल्नु र परिवर्तनको सूचीलाई संस्थागत गर्नु थियो । त्यो सबै काममा बाह्रबुँदे सहमति समयको एउटा लिखित साक्षीकारुपमा फड्के किनारामा उभिइरहृयो ।

तर, आज के भइरहेछ ? हिंसाबाट देशलाई मुक्त गरेर परिवर्तनलाई संस्थागत गर्न आयोजना गरिएको त्यही संविधानसभाले देशलाई फेरि भीडन्तको दिशातिर धकेलिदिएको छ ।

संविधानसभाको माग उत्पीडनमा परेका तमाम वर्ग, क्षेत्र, लिङ्ग, जातिलाई उत्पीडनबाट निकाल्ने र राज्यको तमाम अवयवहरुसम्म सहज उपस्थित गराउने मूल लक्ष्यबाट आयोजना गरिएको थियो । संविधानका लागि एकथान संविधान देशमा उहिल्यैदेखि थियो ।

देश संविधान नामको एक थान संविधानको भोकमा थिएन । बरु राज्यलाई भुईका मानिसहरुसम्म विस्तार गरेर, नागरिकले जिन्दगीका विविध आयामहरुमा सहजतापूर्वक आफ्नो दैलोबाट राज्यको उपस्थितिको महशुस गर्ने गरी, विकेन्दि्रत गर्ने गरी राज्य पुर्नसंरचना गर्ने मूल उद्देश्य राखेर संविधानसभाको माग भएको थियो । फगत संविधानसभाका लागि संविधानसभा देशको समयको वर्वादी मात्रै हो भनेर नबुझ्ने को नै होला र ?

चुनाव र घोषणापत्रको कुरा

अहिले जसले प्रक्रियाको सन्दर्भमा एमाओवादी घोषणापत्र च्यापेर एमाओवादी घोषणापत्र हुबहु लागु हुनपर्छ भनिरहेका छन्, तिनै मानिसहरु एमालेले घोषणापत्रमा लेखेको अन्य एजेण्डा पनि हुबहु लागु हुनुपर्छ भन्न किन्न सक्दैनन् ? अहिले कांग्रेस एमाले गठबन्धनका मानिसहरु यति टीठलाग्दो गरी तर्क गरिरहेछन् कि लाग्छ, उनीहरु एमाओवादीले घोषणापत्रमा प्रक्रियाको कुरा लेखेकाले नै एमाओवादी घोषणापत्रको आयु थमाइदिन प्रक्रियामा जर्वजस्त जाँदैछन् ।

संविधानसभामा अल्पमत बहुमत हुँदैन, देशलाई जर्वजस्त भीडन्तमा नलैजाऔं भनेर अपील गर्नेहरुलाई ओठे जवाफ फर्काउने गरिएको छ-संविधानसभामा भेडागन्ती शैलीको टाउकाको हिसाब नहुने भए चुनाव किन गरेको त ?

तिनलाई जम्मा एकहरफमा विनम्रतापूर्वक स्मरण गराउँ-संविधान बनाउने कार्यतालिका नभएका देशमा पनि चुनाव हुन्छ ।

यो देश सधैंभरि खिलराज रेग्मीहरुबाट चल्न सम्भव थिएन । सरकार निर्माण र संसदीय खेलोका लागि पनि अहिले नेपालले समातेको राजनीतिक बाटोका लागि चुनाव गर्नु नै थियो । हामीले भुल्नु हुँदैन, तिनै सभासदले ब्यवस्थापिका संसदमा टाउको गन्ने खेलबाट सरकार बनाउने हक राख्छन् । र, त्यो हक राख्न जनताबाट चुनिएर आउनुपर्ने विद्यमान ब्यवस्था भएकाले चुनाव गरिनु नै थियो ।

अन्त्यमा

बाहिरबाट हेर्दा बोन्पो र बौद्ध गुम्बा उस्तै देखिन्छ, जस्तो कि अहिले सतहबाट हेर्दा सबै पार्टीहरु उस्तै देखिन्छन् । नयाँ मानिसले हेर्दा दुबैलाई उस्तै गुम्बा पनि मान्छ । तर, गुम्बाभित्र बोन्पो शेराब र शाक्यमुनि बुद्धको फरक-फरक प्रतिमा राखिएको हुन्छ । बौद्ध गुम्बामा ‘ॐ मणि पद्ये हुं’ लेखिएको हुन्छ भने बोन्पो गुम्बामा ‘ॐ मत्रिमुये सालेदु’ लेखिएको हुन्छ । बौद्धहरु गुम्बालाई दाहिने पारेर र बोन्पोहरु देब्रे पारेर परिक्रमा गर्छन् । बौद्ध लामाहरुले घण्ट घोप्टो पारेर बजाउँछन् भने बोन्पोहरु उत्तानो पारेर बजाउँछन् ।

Subas-Nemwang1गुम्बाको विपरीतजस्तो लाग्ने एउटा बडो रमाइलो दृश्य छ, नेपाली राजनीतिमा-बाहिरबाट हेर्दा कांग्रेस एमाले फरक देखिन्छन् । गहिरिएर हेर्दा ती दुई फरक पार्टीहरु अस्थित्वमा रहनुपर्ने कुनै तर्कसंगत कारण देखिँदैन । अहिले ती एउटा अनुदार कम्पनीका दुई ठूला डिलरजस्ता देखिएका छन्, जसको प्रमुख कार्यकारी अधिकृतका रुपमा केपी ओली क्रियाशील छन् । यसरी ओलीले हिजोदेखि आजसम्म (झापा काण्डलाई त उनी आफैंले पश्चाताप गरेका छन् क्यारे) निरन्तर अनुदारवादीहरुको नेतृत्व गरेका छन् । फरक हिजो अलि सानो स्वरमा, दोस्रो-तेस्रो तहमा बसेर गर्थे, आज पहिलो तहमा बसेर, खुलेरै चर्को स्वरमा ।

गुम्बामा जस्तैगरी संविधानसभामा प्रबेश गरेका सबै दल संविधान बनाउँछु भनेर गएका भए पनि परिवर्तनको घेरोलाई ‘देब्रे र उल्टो’ पारेर ग्रहण गर्ने र ‘दाहिने र सुल्टो’ पारेर अघि बढाउन चाहनेहरुबीचको भित्री भिन्नता छाम्न सकिएन भने फेरि पनि हाम्रा सन्ततिहरुसँग एउटा मात्रै बिकल्प हुनेछ-इतिहासतिर फर्किएर दुख्नु ।

लिम्बुहरुको एउटा बडो ऐतिहासिक र गौरवपूर्ण पुरातन संस्कार रहेको पढ्न पाइन्छ, लास उठाउनु अघि बन्दुक पड्काउने । सुवास नेम्वाङ्गको मनको भित्री तहमा सम्भवत आफ्नो बाल्यकालदेखि सुनीजानी आएको संस्कारको गहिरो प्रेरणा थियो होला । उता पूर्वी पहाडमा मृत्युको घोषणा गर्न बन्दुक पड्काएजस्तै गरी नेम्वाङले संविधानसभाको अध्यक्षका रुपमा संविधानसभा सबै मानिसहरुको साझा थलो नरहेको र संविधानसभामा समझदारी र सहमतिको मृत्यु भएको जनाउन दिन ध्वनी फायर खोलेका छन् ।

कामना गरौं, बन्दुक पड्काएर लगिएको लासको सदगद गरेझैं सहमतिको मृत्यु फायर खोलेको संविधानसभाले देशको शान्ति, अग्रगमन र परिवर्तनको एजेण्डाको सद्गद् नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment