Comments Add Comment

ओलीजीहरुले बुझ्नुपर्छ, नेपालका संस्थापक नै मधेसी हुन्

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको निवासमा कार्ल मार्क्सको तस्वीर सजिएको छ । पुष्पलाल समूहबाट वामपन्थी राजनीति गरेका यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिको ‘फ्रन्ट साइड’मा आएका हुन् ।

नेपालको निर्माण नै मधेसी समुदायले गरेको हुनाले मधेसीहरुलाई नेपालप्रति माया रहेको यादवले स्पष्ट पारे । 

प्रचण्ड नेतृत्वको मोर्चाले लिने रणनीतिबारे बुझ्न उनको निवासमा पुग्दा यादवले नेपाल निर्माणमा मधेसी समुदायको योगदानबारे चर्चा गर्दै अनलाइनखबरसँग भने- ‘केपी ओलीजीहरुले बुझ्नुपर्छ कि नेपालका संस्थापक नै मधेसी हुन् ।कविलाई राज्य स्थापित गर्ने, झण्डै साढे ६ सय वर्षसम्म सञ्चालन गर्ने मधेसीहरु नै हुन् । त्यसबेला कुमाउ गढवालबाट आउने ओलीहरुको अत्तोपत्तो थिएन ।’

Upendra yadav-1

शुक्रबार सभाध्यक्ष सुवास नेम्वाङसँग तपाईहरुको के सहमति भएको थियो ? 

– उहाँले के भन्नुभयो भने ममाथि दबाव पनि छ । शायद उहाँको कांग्रेस-एमालेतर्फको दबावको कुरा होला । तर, पर्सिपल्ट उहाँले त्यसको ठीक विपरीत गर्नुभो । सहमतिविना नै, उहाँले तटस्थताको जुन भूमिका निभाउनुपथ्र्यो, त्यसलाई परित्याग गरेर सत्ता पक्षको प्रस्तावलाई अघि बढाउनुभयो । त्यसले संविधानसभाको मर्यादा, स्थापित अभ्यास र प्रचलनलाई तोड्ने काम गर्नुभो । त्यो कांग्रेस-एमालेको दबावमै गर्नुभो ।

तर, कांग्रेस र एमालेले प्रश्नावली समिति नबनाई सीधै मस्यौदा समितिमै पठाउनुपर्छ भनेका थिए, मैले मानिँन भन्ने तर्क छ नि सभाध्यक्षको ?

– कुन प्रतिवेदन पठाउने ? पहिला प्रश्नावली बनाउने, प्रश्नावली बनाएपछि टिक लगाउन लगाउने र संविधानसभा भएर मस्यौदा समितिमा पठाउने । यो कामबाट उहाँले सम्वादसहितका समितिलाई निस्तेज पार्ने काम गर्नुभएको छ ।

प्रश्नावली बनाउन तपाईहरु पनि सहमत भएको होइन ?

– उहाँले नै संविधानसभाबाट निर्देशन दिनुभएको थियो कि सहमति भएका विषयमा सहमति र नभएका विषयमा सहमतिका आधारमा प्रश्नावली बनाउने जिम्मा सम्वाद समितिलाई दिइएको थियो ।

तर, नेम्वाङले त शुक्रबार तपाइहरुसँग भएको छलफलमा प्रश्नावली समिति बनाउने र दलहरुलाई पाँच दिनको समय दिन्छु भन्दा मोर्चाकै नेताहरुले सहमति जनाउनुभएको थियो भन्नुभएको छ नि ?

– पहिलो कुरा, प्रश्नावलीबाट संविधान बन्दैन । विषयवस्तुमा राजनीतिक दलहरुबीच सहमति भएर विगतमा भएका सहमतिलाई संविधानमा समावेश गर्ने हो । तथापि प्रश्नावली बनाउँदा सहमतिमै बनाउँ भनेका हौं । त्यो सम्वाद समितिले गर्ने हो, त्यो पनि सबैको सहमतिमा ।

तर, ती सारा नर्म्सलाई तोडियो नि । एक दिनअघि मात्र उहाँले भन्नुभएको थियो, अवरुद्ध रहेको अवस्थामा यो कार्य अघि बढ्न सक्दैन । तर, आफैंले उल्टाउनुभयो । त्यसले के स्पष्ट देखिन्छ भने उहाँले कांग्रेस र एमालेको दबावमा आएर एकपक्षीय ढंगले गरेको ठहर्छ ।

उसोभए प्रश्नावली समिति बनाउन विपक्षी सहमत भएका थिए भनेर सभाध्यक्षले झुठो बोल्नुभएको हो त ?

– कुनै सहमति भएको थिएन । त्यस किसिमको सहमति भएको मलाई थाहा छैन ।

शनिबारचाँहि के भएको थियो ?

सप्तरीदेखि पर्सासम्म काट्दा विशुद्ध मधेसी मात्र बस्ने क्षेत्र हुन्छ । एकातिर मिश्रित गर्ने भन्ने अनि अर्कोतिर यसरी गरी काट्ने ।

– शनिबार हामीले भेट्दा अहिलेको स्थितिमा तनाब उत्पन्न भएको छ । संविधान निर्माण सहमतिको विषय हो, सरकार बहुमतको विषय हो । त्यसकारण सहमतिका लागि संविधानसभाको बैठक केही समय पर सारौं । सेसन पर गएपछि नयाँ परिस्थिति बन्छ र सहमति हुन्छ भन्दा उहाँले म कोसिस गर्छु भन्नुभएको हो । तर, अर्को दिन उहाँले मैले दबाव थाम्न सकिँन भन्ने कुरा गर्नुभयो । प्रधानमन्त्री रिसाएर हिँडे, खड्ग ओलीले गर्छस् भने गर् नभए हटाउँछु भने भनेर सञ्चारमाध्यममा आएका कुुरा यथार्थ हुन् । दबावका कारण विवश भएर गरेको हुन सक्छ । तर, यसले उहाँको तटस्थता, निस्पक्षतामाथि आँच पुगेकै हो ।

तर, प्रश्नावली समितिको बैठक १७ गते राखिएको छ, त्यसको म्याद पाँच दिन छ । माघ २१ गतेसम्म सहमति भयो भने समितिको काम छैन भन्ने सभाध्यक्षको तर्क छ नि ?

– प्रश्नावली समितिको काम छैन भने बनाउनु किन ? त्यही पाँच दिनको समय सहमतिका लागि छोडिदिएको भए भइहाल्थ्यो ।

सभाध्यक्षसँग कांग्रेस-एमालेलाई पनि थुम्थुम्याउनुपर्ने बाध्यता थियो । त्यसैले बीचको बाटो लिइएको पनि त हुन सक्छ नि…

-वीचको बाटो भनेकै सहमति हो । अर्को कुरा के हो भने उहाँहरुले संविधानसभामा एकलौटी ढंगले जाने काम गर्नुभयो । त्यो केका लागि भन्दा विगतमा जनयुद्ध कालमा भएको १२ बुँदे र मधेस जनविद्रोहका क्रममा भएको २२ बुँदे र आठबुँदे सम्झौता, जुन राज्यले गरेको छ र अन्तरिम संविधानमा लेखिएको गणतन्त्र, पहिचानसहितको संघीयता, समोवशी जस्ता कुराहरुलाई उल्टाउनका लागि नै यो प्रयास भएको हो ।

अर्को कुरा, कांग्रेस र एमालेका नेताहरुले पटक-पटक भन्नुभएको छ कि विगतमा भएको सम्झौता हामी मन्दैनौं । किनभने विगतमा हाम्रो मत कम थियो, परिस्थितिवस आन्दोलन रोक्नलाई गरेका हौं । अब हाम्रो मत धेर भो, हामी मान्दैनौं भन्ने राजनीतिक भाषणलाई मूर्त रुप दिन र आफ्नो इच्छाअनुसार एकलौटी ढंगले संविधान निर्माण गरेर जनतामा लाद्ने प्रयास छ ।

अर्कोतिर तराईका जिल्लामा ब्यापक सशस्त्र तैनाथ छ । ठाउँ-ठाउँमा आर्मी परिचालन गरिएको छ । किनकि भोलि मधेसले अस्वीकार गर्‍यो भनेर दमन गर्न । एकातिर दमन गर्ने, अर्कोतिर संविधानसभामा एकलौटी ढंगले विगतमा सहमतिलाई उल्लंघन गरेर जाने देखिन्छ ।

तर, तपाईहरु मिल्नै लागेको पनि त देखिन्थ्यो नि ? के भएर बिग्रियो ?

-नमिल्ने केही थिएन । सबै कुरा मिल्न सक्थ्यो र करिव-करिव नजिक पुगेको हो । तर, त्यसलाई उहाँहरुले उल्टाउनुभयो । एक दिन कुरा गर्दा मिल्छ, भोलिपल्ट आएर उल्टाउनुहुन्छ । अनि प्रधानमन्त्रीले भनेको ओलीले मान्दैन, ओलीको भनेको उसले मान्दैन । यो गेममा लगेर ठीक भएन ।

गच्छदारजीले मानिसक्नु भएको थियो रे 

कुमाऊ, गढवाल, कान्यकुञ्जबाट आउनेहरु फर्किएलान् । तर, मधेसीहरु यो भूमिको प्रारम्भकालबाटै जोडिएका छन् । यो भूमिप्रति माया छ । टुक्रिन चाहन्नन् ।

– होइन, गच्छदारजीको मनमा के थियो, म भन्न सक्दिँन । बैठकमा उहाँले एउटा नयाँ प्रस्ताव ल्याउनुभयो, त्यो गच्छदारजीको नभएर कांग्रेस र एमालेको प्रस्ताव थियो । हिजो पनि माधवकुमार नेपालजीले प्रष्ट पारिसक्नुभयो कि त्यो प्रस्ताव राम्रो थियो भनेर । कांग्रेस र एमालेको प्रस्ताव उहाँले राख्नु भएको हो ।

त्यो उहाँको व्यक्तिगत प्रस्ताव थियो । त्यो प्रस्तावलाई न मधेसी मोर्चाले स्वीकार गर्‍यो, न संघीय गठवन्धनले स्वीकार गर्‍यो, न ३० दलीय गठवन्धनले । त्यो प्रस्ताव कांग्रेस एमालेकै प्रस्ताव थियो, उहाँको मुखबाट व्यक्त भएको मात्र हो ।
त्य

सोभए तपाईहरुको मोर्चामै कांग्रेस र एमाले रहेछन् हैन ?

– उहाँ (गच्छदार) ले स्पष्ट भन्नुभो कि मैले मनमा आएको कुरा राखेको मात्र हो । म आफैं त्यो पक्षमा छैन भनेर भनेपछि सिद्धियो ।

यसले त ३० दलीय मोर्चाले आज एउटा भोलि अर्को कुरा गरेको देखियो नि हैन र ?

– उहाँले त्यसो नगरेको भए हुन्थ्यो । सल्लाह गरेर प्रस्ताव राखेको भए हुन्थ्यो ।

संघीयताको विवाद अडि्कएका पाँचमध्ये तीन जिल्ला झापा, मोरङ र सुनसरी केपी ओली, कृष्ण सिटौला, उपेन्द्र यादव र विजय गच्छदारका ठाउँ हुन् । त्यसकारण नमिलेको भन्छन् नि ?

Upendra yadav_400– मोरङ, झापा, सुनसरीसहित मेचीदेखि महाकालीसम्म मधेस नै हो । नेपालमा के भयो भने सबै ठाउँबाट मान्छे यहाँ काठमाडौं आउने, पहाडबाट मधेस झर्ने र तराईबाट भारततिर लाग्ने । यसले जनसंख्याको स्थितिमा परिर्वतन भयो ।

सुनसरी, मोरङ, झापा मोरङयिाहरुको हो । त्यहाँ राजबंशी, धिमाल, सन्थाल, थारु लगायतका जातजातिहरु बस्दै आएका थिए । ०२४ सालमा जंगल फडानी हुन थालेपछि पहाडबाट आउन थाले । तर, त्यो भूभाग तराई मधेसकै हो ।

दोस्रो, कुरा सबै प्रदेशलाई मिश्रति बनाऔं । सप्तरीदेखि पर्सासम्म काट्दा विशुद्ध मधेसी मात्र बस्ने क्षेत्र हुन्छ एकाध बाहेक ।

एकातिर मिश्रित गर्ने भन्ने अनि अर्कोतिर यसरी गरी काट्ने । हामीले के भनेका छौं भने झापा, मोरङ, सुनसरीलाई मधेसमा राख्दा सामाजिक सहिष्णुता, घुलमिल अझ बढेर जान्छ । हामीले हटाउन खोजेको विभेद हो, जुन भूगोलका कारण, अनुहारका कारण, जनजाति, मधेसी भएकै कारण जुन विदेभ भयो, त्यसलाई अन्य गरौं । सबैलाई समान अधिकार, समान अवसर, न्यायमा पहुँच होस् । सशासन प्रशासन र साधन स्रोतमा सबै समुदायको विना भेदभाव पहुँच हुने र नीति निर्माणमा पहुँच हुने हो भने विभेद पनि अन्त्य हुन्छ र विवधतामा एकता भएर राष्ट्रियता मजबुत भएर जान्छ ।

मुलुक आर्थिक सम्बृद्धितिर जाने र द्वन्द्वतिर पनि नजाने बाटो आवश्यक छ । यो भन्दाभन्दै पनि उहाँहरुको दोहोरो चरित्र देखियो । पहिचानको कुरा गर्दा मिश्रति कुरा गर्ने, जब हामी मिश्रति बसौं भन्दा यो तीन जिल्लामा पहाडी समुदाय बढी छन्, त्यसैले काटेर पहाडमा राखौं भन्ने दोहोरो चरित्र नगरौं ।

हो, झापा, मोरङ, सुनसरीमा पहाडी क्षेत्र छन् । जस्तो चितवन पहाडी भाग पहाडमा १२/१३ बटा गाविस तराईमा राख्न के आपत्ति भो र ।

तपाईहरुले यसो भन्दा पनि मानेनन् त ?

– उहाँहरु के भन्नुहुन्छ भने मेरो निर्वाचन क्षेत्र हो । पर्सासम्म मिलाउँदा हाम्रो दादागिरी चल्दैन । झापा, मोरङ, सुनसरी पहाडमा राख्दा दादागिरी चल्छ । अहिले हामीले मत पाएका छौं । हाम्रो दादागिरी स्वीकार गर भन्ने अर्थमा आयो भने अहिलेको जमानामा कसैले कसैको दादागिरी स्वीकार गर्दैन र कुनै पनि समुदायले अधिकारविहीन भएर आत्मसमर्पण गर्दैन । त्यस ठाउँमा विद्रोह हुन्छ ।

जनमत संग्रह वा केन्द्र प्रशासित प्रदेश बनाउने विकल्प पनि आएको छ नि ?

– केन्द्र प्रशासित किन बनाउने ? जुन भूभाग जहाँको हो, त्यहीँ बस्ने नि ।

जहाँसम्म जनमत संग्रहको कुरा छ, कति कुरामा गर्ने ? गणतन्त्रबारे जनमत संग्रहको कुरा उठ्दैछ । संघीयतामा जनमत संग्रहको माग उठ्दैछ । यदि जनमत संग्रह नै गर्ने हो भने कुन समुदायले भोट हाल्ने ? बसाइँ सरेर आएका आप्रवासीले कि मूलबासीले ? यदि त्यहाँका मूलबासीलाई सोध्ने हो एउटा मत आउँछ आप्रवासीलाई सोध्ने हो भने अर्को । त्यसैले यसले पनि समाधान दिँदैन ।

निर्दलीय व्यवस्था कि बहुदल भनेर जनमत संग्रह भएकै हो नि । तर, निर्दल कहाँ गयो र त्यसलाई जिताउने कहाँ गए अहिले ? जिताउने राजतन्त्र गयो कहाँ ? जनमत संग्रह कुनै विवादको हल होइन ।

तपाईहरुले एक मधेस प्रदेशलाई भने अब छाड्नु भयो होइन त ?

अहिले माओवादी, मधेसी, जनजाति लगायतका शक्तिहरु क्रान्तिकारी शक्ति हुन् र यो शक्ति सडकमा गएपछि ठूलो आँधी र तुफान आउँछ

मधेस आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म भएको हो । मोरङमा ६ जनाले सहादत पाएका छन् । झापामा आन्दोलन भएको छ । आन्दोलनको माग भनेको मधेसमा अलगै प्रदेश बनाउने । मधेस आन्तरिक उपनिवेशजस्तै भएर बसेको छ, त्यसलाई अन्त्य गर्न नै हो ।

मधेस आन्दोलनकै कारण मुलुक संघीयतामा गयो । हाम्रो त्यो माग यथावत नै छ । तर, सहमतिबाट मुलुकलाई निकास हुन्छ भने हामीले देश प्रदेशको प्रस्ताव अघि बढाउन सहमत भएका हौं । मधेसलाई दुई टुक्रा गरियो र त्यसको बीचमा तेस्रो, चौथो भाग राख्ने हो भने हुँदैन । किनभने दुई मधेस फेरि मिल्न सक्छ । तर, त्यो आधारलाई समाप्त पारेर वीचमा चितवन, अखण्ड सुदूरपश्चिम राख्न थालियो भने त्यो सम्झौता विपरीत हुन्छ । प्रधानमन्त्रीले गरेको सम्झौतालाई राज्यलाई मान्दैन भने केमा विश्वास गर्ने ?

यसो गर्दा भोलि राष्ट्रिय अखण्डतामै अप्ठ्यारो पर्छ भन्नेहरु पनि छन् नि ?

यो के हो भने मधेसीहरुमाथिको अविश्वास, तिनीहरुमाथि घृष्णा फैलाउने र हेप्ने काम गरेका हुन् । केपी ओलीजीहरुले बुझ्नुपर्छ कि नेपालका संस्थापक नै मधेसी हुन् । कविलाई राज्य स्थापित गर्ने, झण्डै साढे ६ सय वर्षसम्म सञ्चालन गर्ने मधेसीहरु नै हुन् । त्यसबेला ओलीहरुको अत्तोपत्तो थिएन । मिथिलाको सभ्यता भनेको सबैभन्दा प्राचीन सभ्यता हो । जो नेपालसँग जोडिएर बसेको छ, यसलाई छोडेर जान सक्छ ? बरु कुमाऊ, गढवाल, कान्यकुञ्जबाट आउनेहरु फर्किएलान् । तर, मधेसीहरु यो भूमिको प्रारम्भकालबाटै जोडिएका छन् । यो भूमिप्रति माया छ । टुक्रिन चाहन्नन् । कसैले टुक्राउन पनि सक्दैनन् ।

तर, तपाईहरुले यो पहिचानको मुद्दा लिएर आन्दोलन गर्दा जनताले खासै साथ दिएनन् नि ?

– अहिले आन्दोलन गरेका छैनौं, दबावमात्र दिएका हौं । आन्दोलन त अब सुरु हुन्छ । तीन महिने कार्यक्रम ल्याएका छौं । आन्दोलन विशाल र भिषण हुन्छ र त्यसले क्रान्तिकारी परिर्वतन ल्याउँछ ।

तर, १०५ दलका ११० नेताले आन्दोलन गर्दैछन् भन्ने टिप्पणी आएका छन् । तपाईहरुले आन्दोलन गर्छु भन्दा सत्तापक्षले पत्याएकै छैन….

यो कस्तो हो भने ज्ञानेन्द्रको शैली हो । उनमा जनआन्दोलनमा कति मान्छे छन् र, रत्नपार्कमा ४/५ सय मान्छे घुम्दैछन्, उनीहरुले के सत्ता पल्टाउँछन् भन्ने दम्भ र अहंकार थियो । त्यसले कहाँ पुर्‍यायो ?

अहिले माओवादी, मधेसी, जनजाति लगायतका शक्तिहरु क्रान्तिकारी शक्ति हुन् र संघीय गणतन्त्र नेपाल बनाउने शक्ति हुन् । यो शक्ति सडकमा गएपछि ठूलो आँधी र तुफान आउँछ । त्यतिखेल को कहाँ हुन्छ, भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment