Comments Add Comment

प्रचण्ड मोर्चाको आन्दोलनबारे बल्खुमा बहस

JhalaNath-Khanal

१३ माघ, काठमाडौं । नेकपा एमालेले विपक्षी एमाओवादी मोर्चाको सम्भावित आन्दोलनको आँकलन गर्दै त्यसको सामना गर्न सकिने निष्कर्ष निकालेको छ ।

पार्टीका जनवर्गीय संगठनका पदाधिकारीहरुसँगको छलफलमा अध्यक्ष केपी ओली बाहेकका शीर्षनेताहरुले एमाओवादी शक्तिको आँकलन गर्दै आन्दोलन उनीहरुले सोचेजस्तो उठ्न नसक्ने निष्कर्ष निकालेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा २२ मध्ये १७ जनसंगठनका पदाधिकारीहरुसँग अब पार्टीले लिनुपर्ने रणनीतिबारे सुझाव संकलन गरिएको थियो ।

अध्यक्ष ओली अनुपस्थित छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरु बामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेललगायतका नेता सहभागी थिए ।

‘माधव नेपाल प्रधानमन्त्री हुँदा देशकै ठूलो पार्टीको हैसियतमा माओवादीले गरेको आन्दोलन थेग्न सकिएको थियो,’ एमालेका एक नेताले भने, ‘यसपटक त्यति ठूलो आन्दोलन हुन सक्दैन र जनता आउँदैनन् भन्ने निष्कर्ष छ।’

जनसंगठनहरुबाट सुझाव लिइसकेपछि बुधवार बस्ने स्थायी कमिटी बैठकले देशव्यापी सभा, जनपरिचालन र कार्यकर्ता भेला आयोजनाको निर्णय गर्ने महासचिव पोखरेलले बताए ।

जनसंगठनका पदाधिकारीहरुले पार्टीले अहिले लिएको नीति सहि रहेको भन्दै विपक्षीसँग वार्ता गर्दा अनुचित कुरामा सम्झौता नगर्न सुझाव दिएको युवा संघकी कार्यवाहक अध्यक्ष निरु पालले बताइन् ।

‘लामो समयपछि यसपटक एमालेेले राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ, यसलाई कायम राख्दै संविधानमा अधिकतम सहमति खोज्न सुझाव आएको छ,’ पालले भनिन्, ‘पार्टीभित्र अभूतपूर्व एकता देखिएको छ, यसबाट हामी उत्साहित छौं ।’

सो छलफलमा लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले मधेश केन्दि्रत जनसभा र अभियान चलाउनुपर्ने बताएका थिए ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका पदाधिकारीहरुले पार्टीले लिएको नीति सहि भए पनि कतिपय आदिवासी जनजातिमा भ्रम परेकाले जिल्ला-जिल्लामा एमालेको नीति प्रष्ट पार्न अभियान लैजानुपर्ने सुझाव दिएका थिए ।

संविधान निर्माणका सन्दर्भमा एमालेले निर्वाह गरेको भूमिकाबारे सबै जाति समुदायका जनतालाई प्रष्ट पार्ने गरी स्थायी कमिटीले कार्यक्रम तय गर्ने महासठेले बताए ।

एमालेले कम्तिमा पाँच विकास क्षेत्रमा ठूला जनसभा, जिल्ला जिल्लामा सानासाना सभा र कार्यकर्ता भेलाका साथै जनसंगठनहरुको संयुक्त भेला आयोजना गर्ने कार्ययोजना तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment