Comments Add Comment

बालिका बलात्कारीलाई २० वर्ष कैद

१३ माघ, इलाम । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका चिसापानीका एक युवकलाई जिल्ला अदालत इलामले २० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले चिसापानी–५ का जङ्गे भनिने बुद्धकुमार सेञ्चुरीलाई मुलुकी ऐन जबर्जस्ती महलको १ र २ नं बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम १० वर्ष कैद र मुलुकी ऐन हाडानाता करणीसम्बन्धी १ बमोजिम थप १० वर्ष कैद सजाय सुनाएको हो ।

यसैगरी पीडितलाई २० हजार क्षतिपूर्ति भराइदिनेसमेत फैसला सुनाइएको छ । सेञ्चुरीले आफ्नै नाता पर्ने बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै गत जेठ १० गते जिल्ला प्रहरी कार्यालय इलाममा किटानी जाहेरी परेको थियो ।

विद्युत् महसुल उठाएर ठगी गर्नेलार्इ ६ महिना कैद 

यसैबीच विद्युत् उपभोक्ताबाट महसुल उठाएर ठगी आरोपमा पक्राउ परेका चिसापानी–७ का टङ्कमणि लुइँटेललाई जिल्ला अदालतले छ महिना कैद र एक लाख ४८ हजार ८८५ जरिवानासहितको फैसला सुनाएको छ ।

प्रतिवादी राम कार्कीलगायत उपभोक्ताका तर्फबाट माग दाबी भएबमोजिम लुइँटेललाई मुलुकी ऐन ठगी महलको १ र २ नं बमोजिम कसुर पुष्टि गरेकाले कैद र जरिवानासहितको फैसला सुनाइएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण इलाममा मिटर रिडरका रुपमा कार्यरत लुइँटेलले उपभोक्ताबाट महसुल लिए पनि प्राधिकरणमा नतिर्ने गरेको पाइएकाले प्रहरीले एक महिनाअघि पक्राउ गरी ठगी मुद्दा दायर गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment