Comments Add Comment

एक्कासी किन बन्द भयो फेसबुक ?

Facebook-NSA-PRISM
मंगलबार केही समयका लागि सोसल मिडिया साइट फेसबुक बन्द भयो । प्रयोगकर्ताले एड्रेस बारमा गएर फेसबुक टाइप गर्दा साइट खुल्नुको साटो ‘माफ गर्नुहोला, केही गल्ती भैरहेको छ । हामीले यसलाई सुधार्ने कोसिस गरिरहेका छौँ र छिटै सुधारेर फर्काउनेछौँ’ भन्ने लेखेको कुरा मात्र आयो ।

फेसबुक मात्र होइन, इन्टाग्राम, टिन्डर, एओएल इन्स्टान्ट मेसेन्जर र हिपच्याट समेत केही समयका लागि बन्द भए ।

नेपाली समय अनुसार झण्डै १२ बजेर ५ मिनेट देखि फेसबुक खुल्न छाड्यो र यो क्रम ५० मिनेटसम्म जारी रह्यो ।

झण्डै एक घण्टासम्म फेसबुक बन्द भएपछि ठूलै तहल्का मच्चियो । ह्याकरले फेसबुकमा आक्रमण गरेको हल्ला पनि चल्यो ।

गएको क्रिसमसको दिन सोनीको प्लेस्टेसन तथा एक्सबक्स लाइभ नेटवर्क ह्याक गरेको चर्चित ह्याकर समुह लिजार्ड स्क्वाडले फेसबुक, इन्स्टाग्राम, टिन्डर लगायतका सेवाहरु अफलाइन भएको भनि टि्वट गरेपछि त अझ सोही ह्याकरले फेसबुक समेत ह्याक गरेको भनि विभिन्न संचार माध्यमहरुले समेत समाचार छापे ।

तर, एक घण्टापछि नै साइट संचालनमा आएपछि प्रयोगकर्ताहरु ढुक्क भए । आखिर किन एक्कासी फेसबुक बन्द भयो त ?

वास्तवमा कुनै ह्याकरले आक्रमण गरेका कारण फेसबुक बन्द भएको होइन । फेसबुकको मुख्यालयमै आएको प्राविधिक समस्याका कारण यस्तो भएको हो । फेसबुकमा समस्या आउँदा त्यसले अन्य सोसल नेटवर्कमा पनि स्वतः प्रभाव पार्यो, किनकी ती सोसल साइटहरु समेत आफ्ना प्रयोगकर्ताको आधिकारिकताको लागि फेसबुककै प्रयोग गर्दछन् ।

फेसबुक केही समयका लागि बन्द भएको विषयमा प्रष्टिकरण दिँदै फेसबुकले भनेको छ ‘ कुनै तेश्रो पक्षको आक्रमणका कारण यस्तो भएको होइन । हामीले सुरु गरेको केही परिवर्तनले प्रणालीमा प्रभाव पारेका कारण यस्तो हुन गएको हो ।’

तत्कालै समस्या समाधान गरिएको र तत् पश्चात फेसबुक र इन्टाग्रामका प्रयोगकर्ताले शत प्रतिशत फेसबुक र इन्स्टाग्रामको सेवा प्राप्त गरेको फेसबुकले जनाएको छ ।
गएको जुन महिनामा पनि झण्डै ३० मिनेटसम्म फेसबुक बन्द भएको थियो । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment