Comments Add Comment

मार्न खोज्ने आमाले नै बचाउँदैछिन सन्तान, भन्छिन्-मैले ठूलो पाप गरे हजुर

१४ माघ, काठमाडौं । गरिबीले मातृत्वको मूलसमेत केही समय थुनिदियो जब राजविराजकी २३ वर्षीया गीतादेवी रजकले आफैंले जन्माएकी पाँच दिनकी छोरीलाई गत शनिबार नहरको डिलमा फालिदिइन्। प्रहरीले उद्धार गरेर बचाएको ती शिशु अहिले तिनै आमाको दूधका धारा चुसेर बाँचिरहेकी छन्।

सगरमाथा अञ्चल अस्पतालको शय्यामा चिकित्सकको निगरानीमा रहेकी ती शिशुलाई दूध खुवाउन आमा गीतादेवीलाई पनि अस्पतालमै राखिएको छ। ‘बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त भए पनि सामान्य भइनसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।

अझै केही दिन यहीं अब्जर्भेसनमा राख्नुपर्छ’, अस्पतालका डा. डिकनाथ यादवले भने, ‘अस्पताल ल्याउँदा शिशुको अवस्था गम्भीर थियो। अहिले ठीक हुँदैछ।’

यादवले नवजात शिशुको स्वास्थ्य सामान्य अवस्थामा फर्काउन सक्दो प्रयास भइरहेको बताए। गीतादेवीले शनिबार फालेकी पाँच दिनकी ती शिशुलाई चार घन्टामै प्रहरीले उद्धार गरेको थियो। माघ ६ गते जन्मिएकी ती शिशु मंगलबार आठ दिनकी भएकी छन्।

प्रहरीको कडा निगरानीमा नवजात शिशुलाई अस्पतालकै शय्यामा दूध चुसाइरहेकी गीतादेवी आफ्नो कुकर्मको पश्चातापले विक्षिप्त छिन्। जोसँग भेट्दा पनि उनी भन्छिन्, ‘मैलै ठूलो पाप गरें हजुर!’

पाँच वर्षीया र दुई वर्षीया छोरीपछि जन्मिएकी छोरीलाई गरिबीले पाल्न नसक्ने भनी गीतादेवीले फालेकी थिइन्। रोजगारीका लागि मलेसिया गएका पतिले पनि ६ महिनामा सात हजार रुपैयाँमात्र पठाएको गीताले बताइन्। ती शिशुको उद्धार गर्दै प्रहरीले आमा गीतालाई नियन्त्रणमा लिएर शिशुसहित अस्पताल भर्ना गराएको थियो।

नवजात शिशुको स्वास्थ्य उपचार र स्याहारका लागि काठमाडौंस्थित होटेल तपोवनले मंगलबार १० हजार नगद सहयोग गरेको छ। होटेल तपोवनका प्रबन्धक राघवेन्द्र यादवले भने, ‘घटनाबारे थाहा भएपछि सहयोग गरेका हौं।’

गरिबीले मन विचलित भएपछि छोरी फालेकोमा पछुताउँदै गीतादेवीले पाएको सहयोग छोरीको स्याहारसुसारमा खर्च गर्ने बताइन्। पत्रकार रक्षा चौधरीले पनि गीतालाई आर्थिक सहयोग गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment