Comments Add Comment

सुन्तलाले फेरेको जिन्दगी, शक्तिबहादुर उर्फ ‘सुन्तला बाजे’

suntala-baje-1

१४ माघ, जाजरकोट । ढिमे-१, दम्दालाका ५९ वर्षीय शक्तिबहादुर वलीको परिचय फेरिएको छ । उनको खास नाम शक्तिबहादुर भएपनि अचेल उनलाई सबैले ‘सुन्तला बाजे’ भनेर चिन्छन् । यसमा उनको कुनै आपत्ती छैन ।

यो भन्दा ३६ वर्ष अघि २०३५ सालमा १० रोपनी जग्गामा २ सय ५० वटा सुन्तलाका विरुवा रोपेर व्यवसायिक सुन्तला खेती शुरु गरेका शक्तिबहादुर जिल्लाका उदाहरणिय र सफल कृषक त भएका छन् नै उनकै सिको गरेर सिंगो दम्दाला गाउँ नै सुन्तलामय भएको छ । अहिले उनको बगैंचा मात्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

‘खाद्यान्न बाली लगाउने जग्गामा सुन्तलाका विरुवा रोप्दा उतिबेला दुनियाँले शक्तिबहादुर ‘बौलायो’ भने’ आफ्ना पुराना दिन सम्झिदै वली भन्छन्, ‘अहिले गाउँमा सुन्तला बगैंचा नहुने कोही छैन । यो सबै मेरै सिको हो ।’

उसो त जिल्लामा सुन्तला भित्र्याउने जस पनि उनै शक्तिबहादुरलाई जान्छ । उनीभन्दा अघि जिल्लामा यसरी व्यवसायिक रुपमा कसैले पनि सुन्तला खेती गरेको जिल्ला कृषि विकास कार्यालयको अभिलेख छैन ।

उनले सुन्तला रोपेको तीन वर्षसम्म गाउँमा कसैको बारीमा सुन्तला थिएन । उनले अरु कृषकलाई समेत सुन्तला खेती गर्न नहौसाएका भने होइनन् । तर, उतिबेला कसैले यसतर्फ चासो देखाएनन् । जब, शक्तिबहादुरको बगैंचामा लटरम्म सुन्तला फल्यो, तब उनको उछितो काढ्नेहरु पनि फलेको सुन्तलाको हाँगोजस्तै झुक्न आइपुगे, उनै शक्तिबहादुरकहाँ ।

शक्तिबहादुर वली
शक्तिबहादुर वली

‘पछि मेरै कुरा काट्नेहरु पनि सुन्तला खेती सिक्न म कहाँ आए’, शक्तिबहादुर भन्छन्, ‘मैले नाईनस्ती गरिन, आफूले जानेको कुरा सिकाईदिएँ, यो मेरो धर्म थियो ।’ सिजनको बेला शक्तिबहादुरले गाउँमा १२/१५ जनालाई रोजगारी समेत दिन सफल भएका छन् ।

वर्षमा १० मुरी मकै फल्ने जग्गामा शक्तिबहादुरले व्यवसायिक सुन्तला खेती गरेर वाषिर्क न्यूनतम साढे पाँच लाख आम्दानी गरिरहेका छन् । उनको बगैंचामा अहिले सुन्तलासँगै जुनार पनि उत्पादन भईरहेको छ । गएको पौषमा सदरमुकाममा खलंगामा लागेको महोत्सवमा उनले डेढ लाखको सुन्तला बेचेका थिए ।

तत्कालिन अवस्थामा सुन्तलाको मूल्य ७० रुपैयाँ प्रतिकिलो थियो भने जुनारको प्रतिकिलो एक सय रुपैयाँ थियो । सामान्य परिवारमा जन्मिएका शक्तिबहादुरले अहिले एउटा छोरालाई ईन्जिनियर पढाईरहेका छन् भने अर्का छोरा एचए (स्वास्थ्य सहायक) पढेर सरकारी कोटामा स्थायी जागिरे भईसकेका छन् ।

‘मेरो आम्दानीको स्रोत भनेको यही सुन्तला हो’ बारीको सुन्तला बगैंचा देखाउँदै उनले भने, ‘यसैबाट जेठो छोराले ईन्जिनियर पढिरहेको छ । अब फाइनल हुने बेला भो । माइलो एचए स्थायी भईसक्यो ।’

पछाडीका दुई छोरालाई पनि प्राविधिक शिक्षा नै पढाउने उनको सोच छ । ‘एउटालाई भेटनरी जेटिए र अर्काेलाई कृषि जेटिए पढाउने सोचमा छु,’ उनले भने ।

जिल्ला कृषि विकास कार्यालयले दम्दालालाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेपछि शक्तिबहादुरको आम्दानीका अर्काे बाटो थपियो नर्सरी व्यवसाय । सुन्तला बगैंचाको अलवा उनले नर्सरीबाट मात्रै वर्षमा दुई लाख पचार हजार बराबरको आम्दानी गरिरहेका छन् । अहिले उनको नर्सरीमा विभिन्न प्रजातीका सुन्तलाका विरुवा हुर्किरहेका छन् । उनी आफै त्यसको ‘ग्राप्टिङ’ गर्छन् । उनले आफ्नै लगानीमा भण्डारगृह समेत बनाएका छन् ।

‘जिल्ला कृषिले यो ठाउँलाई सुन्तलाको पकेट क्षेत्र बनाईसकेपछि झन् यसप्रति लाग्ने कृषकको संख्या बढेको छ’ शक्तिबहादुरले भने, ‘कृषिले वर्षमा १५ सय विरुवा रोप्ने लक्ष्य लियो, मैले पनि नर्सरी व्यवसायलाई बढाउँदै लिए ।’

कृषिले पकेट क्षेत्र घोषणा नगर्दै पनि ओलीसँग नर्सरी थियो तर, सीमित मात्र । अहिले उनले यसको पनि क्षेत्रफल बढाएका छन् । नर्सरीबाट प्रतिविरुवा ६० रुपैयाँदेखि एक सय रुपैयाँसम्म बिक्री हुने गरेको वलीले बताए ।

शक्तिबहादुर जिल्लाका धेरै ठाउँका कृषकलाई सुन्तला खेतीका विषयमा सिकाउँछन्, आफ्नै अनुभवले । उसो त उनी पटक-पटक सफल कृषकका रुपमा जिल्ला कृषि विकास कार्यालय लगायतका विभिन्न निकायबाट पुरस्कृत भइसकेका छन् । जिल्ला कृषिकै पहलमा राष्ट्रिय भ्रमण समेत गरिसकेका छन् ।

हँसिला र ठट्यौली पाराका वलीलाई जीवनमा मन परेका तीनवटा गीतमध्ये पशुपति शर्माको ‘मलाई अमेरिका यही’ बोलको गीत खूबै पन पर्छ रे । पैसा कमाउन भन्दै विदेश जाने युवाहरुलाई लक्षित गर्दै पक्तिकार छुट्टनिे बेला वलीले शर्माकै गीत गाउँदै भने-
‘मलाई अमेरिका यहीं
मलाई मलेसिया यहीं
मलाई जापान पनि यहीं…..।’

-रामकुमार शाहीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment