Comments Add Comment

मदरसाको मर्म : शिक्षक विना एसएलसी तयारी

MADARASA-SCHOOL-AT-BAKE

  • साथीबाट सिक्दै मदरसाका विद्यार्थी

आरपी सुवेदी
१४ माघ, नेपालगन्ज । एसएलसी परीक्षाको लागि विद्यालयहरुले धमाधम तयारी कक्षा सन्चालन गरिरहेका छन् । सकेसम्म धेरै विद्यार्थीहरु उत्तिर्ण गराउन शिक्षकहरु खटाइएका छन् ।

तर, बाँकेको नेपालगन्ज-१५ गुरुद्वारा रोडमा रहेको मदरसा दारुल उलुम बरकातिया माविका विद्यार्थीहरु भने शिक्षक विना नै परीक्षाको तयारी गर्दै आएका छन् । उनीहरु विद्यालय जान्छन् र एकअर्काबाट सिक्छन् । आफूले जानेका कुरा साथीहरुलाई पनि सिकाउँछन् ।

विद्यार्थी अली हुसेन शेखले भने-‘विषयगत शिक्षक नभएकोले सबै साथीहरुसँग बसेर सामुहिकरुपमा पढ्ने गरेका छौ ।’

मदरासाका कतिपय विद्यार्थीहरु ट्युसन पढ्छन् । तर, आर्थिक अवस्था कमजोर भएकाहरु ट्युसन पढ्न सक्दैनन् । त्यसैले ट्युसन पढेका विद्यार्थीहरुले पढ्न नपाएका विद्यार्थीहरुलाई पढाउँछन् ।

रेश्मा बानो कुरैशीले भनिन्, ‘मदरसामा पढ्ने हामी सबै जना ट्यूसन पढ्न नसक्ने भएकाले ट्यूसन पढेकाहरुबाट सिक्छौं ।’

मदरसाका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानीका अनुसार शिक्षकको व्यवस्था गरे पनि ति शिक्षकहरु लामो समय टिक्दैनन् । एकै शैक्षिक सत्रमा मात्रै झण्डै आधा दर्जन बढी शिक्षक फेरिन्छन् । त्यसको मुख्य कारण हो आर्थिक अवस्था । धार्मिक चन्दा र दानबाट मदरसा सञ्चालन हुँदै आएको छ । पछिल्लो समयमा त्यो पनि घट्दा कठिनाई भएको प्रधानाध्यापक नूरानीले बताए ।

उनले भने-‘मदरसाले मावि तहमा पढाउनको लागि आफ्नै प्रयासले शिक्षक राखे पनि सेवा सुविधा न्यून छ, राम्रो ठाउँमा अवसर पाउने बित्तिकै छाडेर गैहाल्छन् ।’

शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले मदरसाका विद्यार्थीहरुका लागि कथा, चुट्किला लगायतका किताब दिएर जान्छन् । तर, ति किताब पढाउने शिक्षकहरुको व्यवस्था छैन ।

एसएलसी परीक्षा आउँदो चैतमा छ । अब परीक्षा आउन मुस्किलले डेढ महिना मात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment