Comments Add Comment

अफ्रिकाको आकाशमा नेपाली क्रिकेटरको बिजोग

१५ माघ, काठमाडौं । नेपाली क्रिकेट टोली नामिबियामा डिभिजन टू क्रिकेट खेलेर फर्किएको चार दिन भइसक्यो । तर, उनीहरुमा नामिबियाबाट दक्षिण अफ्रिका हवाइ यात्राको ‘हृयाङ’ भने अझै उत्रिएको छैन । साथी भाइ भेट्यो कि उनीहरु यात्रा अनुभव सुनाइहाल्छन्, जुन निकै डरलाग्यो थियो ।

nepali-team

नेपाली क्रिकेट टीमका कप्तान पारस खड्कासहितका अधिकांश खेलाडीसँग भेट हुँदा उनीहरु त्यही कुरा गरिरहेका थिए ।

डिभिजन टू क्रिकेट खेलेर नेपालसँगै क्यानडा र नेदरल्याण्डको क्रिकेट टीम नामिबियाबाट जोहानेसबर्गका लागि दक्षिण अफ्रिका एयरलााइन्सको विमानमा उडेको थियो ।

तर, विमान उडेको केहीबेरमा नै विमानमा यात्रारत खेलाडीहरुको सातो जाने गरी विमान हल्लियो ।

‘विमान उडेको झण्डै पाँच मिनेटपछि विमान तल-माथि गर्न थाल्यो, सबै डरायौं, रिंगटा लाग्यो’ घटनाबारे सोध्दा सुवास खकुरेलले अनलाइनखबरसँग भने-‘झण्डै ८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा हावा चलेका कारण त्यस्तो भएको रहेछ ।’

कप्तान पारसले सुनाएअनुसार विमान निकै तल-माथि गरेपछि उनीसँगै रहेका शक्ति गौचनले ‘वान्ता होला जस्तो छ, पेपर देउ न’ भनेर मागे । तर, अरुले बान्ता गरेको देखे आफूलाई पनि आउने भएकाले उनले हतार-हतार कानमा हेडफोन लगाए ।

धन्न विमानमा उनलाई बान्ता भएन । विमान जोहनेसवर्ग त आइपुग्यो तर, अवतरण गर्न सकेन । केहीबेर आकासमा उडेपछि इन्धन सकिन लागेको भन्ने सुन्दा सबैको सातो गयो ।

‘अब त गइयो कि क्या हो भन्ने लागेको थियो’ नरेश बुढायरले भने-‘हामी सबै ओम नमः शिवाय भनेर बसेका थियौं ।’

विमान इन्धन भर्न बोस्निया पुग्यो । इन्धन भरेर जोहानेसवर्ग आइपुग्नै लाग्दा बिजुली चम्किएर मेघ गर्जिएपछि फेरि सबै आत्तिए । तर, विमान सकुशल अवतरण भयो ।

‘अहिलेसम्म यस्तो यात्रा भएको थिएन’ नरेशले भने-‘अवतरण भएपछि अब कहिल्यै विमानमा नचढौं जस्तो भयो ।’

झण्डै २ घण्टाको यात्रामा ५ घन्टा लागेपछि जोहानेसवर्गमा झण्डै प्लेन छुट्यो । हतार-हतार खेलाडीहरु आए तर, लगेज भने छुट्यो ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार क्रिकेट खेलाडीहरुको लगेज बुधबार मात्रै नेपाल आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment