Comments Add Comment

अर्थ समितिले एमाओवादीलाई ३ दिन पर्खिने

१५ माघ, काठमाडौं । संसदीय समितिका बैठकहरु समेत बहिस्कार गर्ने निर्णय गरेको प्रमुख विपक्षी एनेकपा माओवादीलाई पर्खिने भन्दै संसदको अर्थ समिति बैठक विहिवार एजेण्डामा प्रवेश नगरी टुंगिएको छ ।

prakash jwala
प्रकाश ज्वाला

समितिको विहीवारको बैठकको एजेण्डा पूराना सवारी साधनको व्यवस्थापन सम्बन्धी थियो । सो एजेण्डामा छलफल गर्न सरकारका मुख्य सचिव, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरुलाई बोलाईएको थियो ।

तर बुधवारै एमाओवादीले संसदीय समिति बैठक समेत बहिस्कार गर्ने निर्णय गरेकाले उसका सभासदहरु सहभागी भएनन् ।

बैठक सुरु भएलगत्तै एमाले सभासद भरतमोहन अधिकारीले एमाओवादीका सभासदहरुको अनुपस्थितिमा बैठक बस्न नहुने भन्दै स्थगित गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अरु सभासदहरुले पनि समर्थन जनाएका थिए ।

एमाले पोलिटव्यूरो सदस्य समेत रहेका समितिका सभापति प्रकाश ज्वालाले जे जसरी बहिस्कार गरे पनि एउटा दलका सभासदहरु सहभागी नभएकाले उनीहरुलाई मौका दिनका लागि आइतवारसम्म बैठक स्थगित गरिएको जानकारी दिए ।

एमाओवादीले गलत र आत्मघाती निर्णय गरेको भए पनि उनीहरु सच्चिएर आउनलाई समय दिन बैठक एजेण्डामा प्रवेश नगरेको एमालेकी सभासद मन्जु चौधरीले बताइन् ।

तर संसदका अन्य समिति बैठक भने सुचारु भएका छन् । विहीवारै सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठक बस्यो भने बुधवार पनि माओवादी निर्णय लगत्तै महिला वालवालिका समिति बैठक बसेको थियो ।

एमाओवादीभित्रै असन्तुष्टि

संसदीय समिति बहिस्कारको निर्णयप्रति एमाओवादीभित्रै असन्तुष्टि प्रकट भइरहेको स्रोतले जनाएको छ । समिति बहिस्कारले सरकारलाई सहयोग हुने भन्दै सभासदहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एमाओवादीको यो निर्णयमा उसकै मोर्चाका अन्य १८ दलले साथ दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment