Comments Add Comment

तस्करको पन्जामा नेपाली युवाको अमेरिका सपना

१५ माघ, काठमाडौं । सन् २००४ देखि २०१३ सम्मको ९ वर्षको अवधिमा एक हजार ५ सय ४१ नेपाली मानव तस्करको सहायताबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका थिए । बितेको एक वर्षमा यो संख्या कम्तिमा ५ सयले बढेको अनुमान छ ।

यो तथ्याङ्क अमेरिकी सरकारले नेपाल सरकारलाई उपलव्ध गराएको आधिकारिक दस्तावेजमा उल्लेख छ । नेपालमा मानव तस्करी गर्ने सबैभन्दा ठूलो गिरोह ल्याटिन अमेरिकामा सक्रिय रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

संसदका सामाजिक न्याय तथा मानवअधिकार समितिको विहिवारको बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले यो जालो अन्तर्राष्ट्रियस्तरको रहेको बताए । ‘अन्तर्राष्ट्रिय मानवतस्करको सञ्जाल ल्याटिन अमेरिकामा सक्रिय छ, त्यो सन्जालमा नेपालका मानव तस्कर पनि जोडिएका छन्’ मन्त्री पाण्डले भने-‘अमेरिका जाने लोभमा धेरै नेपाली यो जालामो फसेका छन् ।’

मन्त्री पाण्डले नेपालीहरुलाई कम्तिमा एक दर्जन मुलुक पार गराएर मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइएको बताए । उनका अनुसार यसक्रममा कतिपयको मृत्यु हुन्छ भने कतिपय जेलमा परेका छन् । ‘यस्तो अवैध र खतरनाक बाटोबाट अमेरिका जान खोज्ने अधिकांश पढेलेखेका, बुझेका र पैसावालनै हन्छन्’ पाण्डेले भने-‘गरीव र अनपढले ३०/३५ लाख रुपैयासम्म फसाएर अमेरिका जाने सपना देख्न सक्दैन ।’

संसदीय समितिले मानव तस्करीका जालो रोक्ने उपायबारे छलफल गर्न मन्त्री सहित सरकारी अधिकारीहरुलाई बोलाएको थियो ।

धेरै नेपाली अवैध ढंगले विदेश जाँदा जेल पर्ने, मृत्यु हुने र लासमात्रै आउने गरेको सन्दर्भमा समितिले यसबारे सरकारको धारणा मागेको एमाले सभासद कमला कुमारी घिमिरेले बताइन् ।

परराष्ट्रमन्त्री पाण्डेले मानव तस्करी रोक्ने, विमानस्थल तथा अध्यागमनमा कडाई गर्ने काम गृहमन्त्रालयको रहेको भन्दै यसमा परराष्ट्रले केही गर्न नसक्ने जवाफ दिए ।

मन्त्री पाण्डेले मानव तस्कारीमा अन्तरदेशीय मानव तस्करको जालोसमेत सक्रिय भएकाले वैदेशिक रोजगारका लागि के कति मानिस कहाँ गइरहेका छन् भन्ने बारेमा गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच सˆटवेयर बनाई एकीकृत सूचना प्रणाली विकास गर्ने कार्य भइरहेको बताए । ‘अहिलेका युवामा विदेशको जुन भूत सवार भएको छ, उनीहरुलाई वाण हानेर रोक्न सकिदैन’ मन्त्री पाण्डले भने-‘यसका लागि सानो तिनो योजनाले हुदैन ।’

उनले ल्याटिन अमेरिका अहिले मानव तस्करीको डरलाग्दो केन्द्र भएकाले त्यहाँ धेरै नेपाली जेलमा रहेको र कतिपयको गुमनाम मृत्यु भएको बताए ।

मेक्सिकोबाट अबैध रुपमा अमेरिका लैजाने तस्कर र अपराधीको गिरोह खतरनाक भएको भन्दै उनले मेक्सिकोमा नेपालको दूतावास वा मिसन राख्ने तयारी भइरहेको जानकारी दिए ।

अहिले ल्याटिन अमेरिकामा ब्राजिल बाहेक अन्यत्र नेपाली दूतावास छैन । तस्करहरुले अमेरिका लैजादा बोलिभिया, पेरु, ग्वाटेमाला, कम्बोडिया जस्ता मुलुक हुँदै मेक्सिको पुर्‍याएर जंगलको बाटो अमेरिका छिराउने गरेको पाइएको छ ।

समितिको निर्देशन

यसैबीच समितिको बैठकले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकामा हुने मानव तस्करी र त्यस क्रममा पक्राउ परी विभिन्न देशका कारागारमा रहेका नेपालीका सम्बन्धमा जानकारी दिन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

दुई वर्षअघिको बोलिभियाली अध्यागमनको तथ्याङ्कअनुसार दुई महिनाको अवधिमा मात्रै ५०० नेपाली अवैध रुपमा अमेरिका प्रवेश गरेका थिए ।

अमेरिकाको आन्तरिक मामिला विभागका अनुसार सन् २००४ देखि सन् २०१३ सम्म एक हजार ५४१ नेपाली गैरकानुनी रुपमा अमेरिका पुगेको पाइएको छ । यस्तै हाल छ हजार ९५ जना नेपाली अमेरिकामा शरणार्थीका रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment