Comments Add Comment

खाना पकाउने ग्यास माग्दै विप्लव माओवादी सडकमा

BIPLAV MAOIST१५ माघ, काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले खाना पकाउने एलपी ग्यास सहज बनाउन माग गर्दै बिहीबार आयल निगम घेराउ गरेका छन् ।

नेकपा माओवादी नेवाः राज्य समिति इन्चार्ज इश्वरी दाहाल नेतृत्वको जुलुसले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका हुन् ।

सुनधाराबाट नारा लगाउँदै बबरमहल आएका माओवादी कार्यकर्ताहरुले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा कालोबजारी तथा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने काम भएको भन्दै तत्काल कालोबजारी बन्द र कृत्रिम अभाव अन्त्य गरी उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन माग गरिएको छ ।

ASARE KAKA and Gopal Bahadur Khadka

  • निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै ईश्वरी दाहाल ‘असारे काका’ (दायाँ)

पेट्रोलियम पदार्थको विश्व बजारमा कायम रहेको मूल्यको आधारमा नेपालमा पनि स्वचालित मूल्य निर्धारण गर्ने भनिए पनि चरम मूल्यमा पेट्रोलियम पदार्थको बेचविखन भइरहेको भन्दै ज्ञापनपत्रमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाइए र सर्वसुलभ तथा सुपथ मूल्यमा खाना पकाउने एलपी ग्यास उपलब्ध नगराइए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

भण्डारण क्षमता नहुँदा समस्याः खड्का

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले केही दिनभित्रै खाना पकाउने एलपी ग्याँस सहज उपलब्ध हुने बताए ।

नेकपा माओवादी नेवाः राज्य इन्चार्ज दाहालको ज्ञापनपत्र बुझ्दै उनले ग्यासकै कारणले राजनीतिक दलहरुले आन्दोलन गर्नै नपर्ने बताए । निगममा एक दिनअघि मात्रै पदबहाली गरेका गरेका खड्काले ग्यासको भण्डारण क्षमता नभएको कारण समस्या हुने गरेको बताए ।

‘ग्यासको नियमित रुपमा सप्लाई भइराखेको छ’, खड्काले भने, ‘स्टोरेज क्यापासिटी नहुँदा समस्या उत्पन्न भएको हो ।’ राजनीतिक अन्यौलताको कारणले पनि समस्या उत्पन्न भएको उनले बताए । माघ ८ को अवस्थाले गर्दा उपभोक्ताहरुमा पनि अन्यौलता भएकोले समस्या भएको उनको भनाई थियो ।

न्यूज च्यानल तथा पत्रपत्रिकाले लामो लाइनको फोटो लिएर आम उपभोक्तालाई आतंकित पार्ने काम गरेको उनको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment