Comments Add Comment

शान्ति र संविधानको कार्यनीति फेल भएको छैन : बाबुराम

१५ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले शान्ति र संविधानको कार्यनीति फेल नभएको बताएका छन् ।

तर, माघ ११ गते संविधानसभा अपहरण भएर यथास्थितिवादी र प्रतिगामीको हातमा पुगेको उनको निष्कर्ष छ । उनले भने-‘कार्यनीति नै गलत थियो भन्ने म ठान्दिन, अहिले पनि नेपालीको निम्ति संविधानसभाबाट संविधान बन्नु नै हितकारी हुन्छ ।’

Baburam-Bhattarai

संविधानसभा जनताबाट यथास्थितिवादी शक्तिहरुको हातमा पुगेको भन्दै एमाओवादी नेता भट्टराईले त्यसलाई खोसेर लिन जनता सफल हुन्छन् कि हुँदैनन् भन्नेमा भर पर्ने बताए । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता भट्टराईले भने-‘जनताले अझै पनि खोसेर ल्याउन सक्ने सम्भावना म झिनो देख्छु तर, त्यसको निम्ति ठूलै संघर्षको आवश्यकता म देख्छु ।’

एमाओवादी नेता भट्टराईले बहमतीय प्रक्रियामा प्रवेश गरेपछि वार्ताको केही औचित्य नभएको बताए । उनले भने-‘माघ ११ गते बलजफ्ती गरिएको निर्णयलाई उहााहरुले फिर्ता लिनुपर्छ । त्यसपछि निःशर्त ढंगले फेरि वार्तामा बसौं भनेर वातावरण बनाउनुपर्छ । तर बलमिच्याईंपूर्ण तरिकाले प्रक्रिया अगाडि बढाउने अनि वार्ता गरौं भन्नु त ‘आत्मसमर्पण गर्न आइज’ भनेजस्तो हुन्छ ।’

सत्तापक्षले विगतका सहमति तोडेर संख्याको बलमा संविधान जारी गर्छु भन्ने मुढेबल प।दर्शन गरेकाले आन्दोलनको विकल्प नभएको उनले बताए । उनले भने-‘अझै पनि सत्तामा रहेकाहरुले हिजोका शासकहरुले जस्तो दम्भ प्रदर्शन नगरिकन देश फेरि द्वन्द्व र मुठभेडको दिशामा नजाओस् भनेर पहल गर्छन्, आफ्नो कमिकमजोरी सच्याउँछन् भने त म सम्भावना अझै पनि देख्छु ।’

संविधानसभामार्फत अग्रगामी संविधान बनाउन आफूले पहल गर्ने भन्दै सम्वाद समितिका सभापति भट्टराईले बल सत्ता पक्षको कोर्टमा रहेको बताए । उनले भने-मैले प्रष्टसाथ भन्नैपर्छ स्थिति अब धेरै जटील बनेको छ । अब बल सत्तापक्षको कोर्टमा पुगेको छ । उनीहरुले कत्तिको सुझ-बुझका साथ आफ्नो कदम चाल्छन् ।’

पहिलो चरणको आन्दोलन अन्तरगत फागुन १६ गतेसम्म संविधानसभा र संसद्का सबै बैठक बहिष्कार गर्ने निर्णय गरिएको भट्टराईले बताए । उनले भने-‘सधैंका लागि संविधानसभा छोड्ने भनेको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment