Comments Add Comment

व्यंग्य : यसरी भएँ म पनि राष्ट्रवादी

शैलेश भट्टराई

हिजोआज सबका सब राष्ट्रवादी हुन थालेको देखेर मलाई पनि राष्ट्रवादी हुने हुटहुटी जागेर आयो । कसरी बन्ने होला राष्ट्रवादी भनेर निकै सोचियो । निकै गमियो। अहँ उपाय नै फुरेन । यत्तिकैमा एकदिन एकजना मित्रसंग भेट भो। सन्चो बिसन्चो आदि इत्यादी केही पनि नसोधी शुरुमै झ्याम्मै आफ्नो समस्या राखें ।

उनले त मेरो कुरा’ सुन्नासाथ दुइचार खित्का दिइहाले र भने तपाईं कुन जमानामा हुनुहुन्छ ? यहाँ अनेकौं ट्रेनिंग सेन्टर खुलेका छन् । बिभिन्न भाषामा थुप्रै किताबहरू निस्केका छन् ।मैले भनें-अरू भाषा त के काम र आफूलाई! आउने त्यही नेपाली र हिन्दी हो ।

Sailesh-Bhattarai
शैलेश भट्टराई

उनले हिन्दीमा प्रकाशित राष्ट्रवादी बन्ने के एक से एक तरीकेनामको किताबको नाम लिए । राष्ट्रवादी बन्ने तालीम लिने ठाउँ पनि देखाए । एकेडेमिक कोर्स पनि उपलब्ध भएको बताए । यो कोर्समा भर्ना जुनसुकै समय खुल्ला छ रे।

त्यो भेट मेरा लागि भोकालाई खीर जस्तै भो । त्यसैले मेरो मुहार पूर्णिमामय भयो । उनले किताब किन्न, तालीम लिन र डिग्री लिन चौरमा जानु पर्ने कुरा बताए । तुरुन्त किताबचाहिँ ल्याएर पढ्न थालिहालें । रातभरिमा सकाएँ । भोलिपल्ट बिहान देखि त आफूलाई हल्का फुल्का राष्ट्रवादी भएको महसूस पो हुन थाल्यो ।

 लोभ न हो मान्छेको ! जाबो एउटा किताबले त यति परिवर्तन ल्यायो भने तालीम नै लिन पाए त देशको मायाले दुइचार राष्ट्रघातीलाई ठेगान लगाउन सकिन्छ कि जस्तो लाग्यो । अब चौर चाहार्ने चाँजोपाँजो मिलाइयो किनभने आफूलाई लरतरो होइन तालीम लिएर खरो राष्ट्रवादी बन्नु थियो । अनि डिग्री लिएर दरो राष्ट्रवादी बन्नु थियो । सीधै चौरमा गइयो।

त्यहाँ थरी थरीका स्टलहरु रहेछन्।ती मध्ये तीनवटा स्टलमा राष्ट्रवादी तालीम सञ्चालन हुँदोरहेछ भने एउटामा एकेडेमिक कोर्सको पढाई हुँदो रहेछ ।पक्का राष्ट्रवादी तालीम केन्द्रलेखेको बोर्ड देखियो जुन त्यहाँको सबैभन्दा पुरानो केन्द्र रहेछ । अर्को रहेछ सबैभन्दा नयाँ र आधुनिक जसले अत्याधुनिक राष्ट्रवादी तालीम केन्द्रभनेर बोर्ड झुन्ड्याएको रहेछ । अनि तेस्रो न नयाँ न पुरानो, न कच्चा न पक्का जसले आफ्नो नाम खाँटी राष्ट्रवादी तालिम केन्द्रभनेर राखेको रहेछ । अनि ब्राकेट भित्र यहाँ खाँटी राष्ट्रवादी बनाउने खाँटी तालीम दिइन्छभनेर पनि लेखिएको रहेछ। डिग्री लिने ठाउँ भने एउटै रहेछ । शुरुमा कुनमा तालीम लिने त्रिविधामा परियो ।

नलिनु तालीम लिनै परेपछि सब से नयाँ र अत्याधुनिकमा किन नलिने भन्ने सोच आयो र धेरै कुरा नबुझी तुरुन्तै ज्वाइन नै गरियो यो सेन्टरमा । धाउन थालियो दिनका दिन । लिन थालियो राष्ट्रवादी तालीम । उल्का उल्काका तालीमहरू त्यहाँ सञ्चालन हुँदा रहेछन् । थियोरिटिकल क्लास त्यतिकै प्राक्टिकल पनि त्यतिकै ।

एक किसिमले निकै दुःख पाइयो। घरी सुरूङ्गमा लुक्नु पर्ने, घरी चौरका मालिक अर्थात् चौराधिपति तिर फर्केर धारे हात लाउँदै घाँटी सुक्ने गरी भुक्नु पर्ने । फिल्ड भिजिट भन्दै कहिले कालापानी कुदनु पर्ने कहिले सुस्ता जानुपर्ने । गएर मात्र नहुने लु आईज खेल्नभन्दै पाखुरा सुर्किनु पर्ने अनि नाङ्गा खुकुरी नचाउनु पर्ने। अनि फिल्ड भिजिट सकेर आएपछि चौराधिपतिको चरणमा लम्पसार पर्नुपर्ने । थाक्नु थाकियो नि! चौराधिपतिलाई अनेक नाम, उपनाम, बिम्ब, प्रतिबिम्ब दिन पनि सिकाइँदो रहेछ यहाँ। त्यही उपनाम बिम्बहरूले चौराधिपतिज्यूको उछित्तो काढ्नु पर्ने । जति नयाँ धेरै बिम्ब र उपनाम दिएर उछित्तो काढ्यो उति नै अब्बल प्रशिक्षार्थीको पगरी पाइने ।

दौरा सुरुवाल लगाउनु जरूरी रहेनछ । कालापानी र सुस्ता जाँदा बाहेक चन्द्रसूर्य बोक्नु र नबोक्नुको खासै अर्थ रहेनछ । मन लाग्नेले बोक्दा पनि हुने । भाषा, धर्म, लिङ्ग, जातपात, क्षेत्र इत्यादि जस्ता कुनै कुराको आधारमा भेदभाव छैन तालीम लिनलाई। तालीमको पूरै पाठ्यक्रम चौराधिपतिले नै डिजाइन गर्नु हुँदो रहेछ। तालीम अलिक अपूरो जस्तो भयो भने वहाँले आफैले आफ्नोमा लगेर पूरक तालीम पनि दिनुहुँदो रहेछ । पूरा मेजमानीका साथ। अनि तालीम सकिएपछि वहाँले आयोजना गरेको दीक्षान्त समारोहमा दीक्षित भएपछि सकियो । यसै अनुरुप तालीम लिइयो अर्थात् आधुनिक राष्ट्रवादी भइयो ।

तर एक ठाउँमा मात्रै लिएर आफूलाई चित्त बुझेन । के नपुगे के नपुगे जस्तो भई नै रह्यो।यसै सन्दर्भमा एसएलसी दिंदाताकाका मेरा एकजना साथी सम्झन्छु । उनी पढ्न लेख्न खूब मन गर्ने खालका थिए । एउटै बिषयको दुई तीन ठाउँ ट्यूशन पढे  । पढ्न भनेपछि घरबाट जति पनि पैसा पनि पाउँथे । ऊनी जति पढन्ते र लगनशील विद्यार्थी हाम्रो क्लासमा मात्रै होइन स्कुलमै कोही थिएन । सबै ठाउँको पढाइलाई संश्लेषण गरेर उनले आफ्नो नोट बनाए । परीक्षामा सोही नोट पढेर जाँच दिए । राम्रो नम्बर ल्याए । हामी कतिपयले भने उनलाई गिज्याएका थियौं । जति ठाउँ पढे पनि आखिरमा कुरो एउटै हो क्यारे भनेका थियौं । अहिले आएर सम्झिंदा ग्लानी महसूस हुन्छ । अहिले आएर ती मित्रलाई बेकारमा जिस्काइएछ जस्तो लाग्छ किनभने मैले नमूना राष्ट्रवादी हुनलाई उनले दुइतीन ठाउँ ट्यूशन पढे जस्तै दुई तीन ठाउँमै तालीम लिने निर्णय गरिसकेको थिएँ ।

त्यसैले अब गइयो अर्को ठाउँ तालीम लिन । ‘खाँटी राष्ट्रवादी तालीम केन्द्र’ यो तालीम केन्द्रको नाम ।अत्याधुनिक केन्द्रका भन्दा प्रशिक्षकहरू पनि अलि अनुभवी र पाका रहेछन् यहाँका । शिक्षण सिकाई क्रियाकलापको एकतिहाई समय अत्याधुनिक केन्द्रको उछित्तो काढ्नलाई र एकतिहाई समय चौराधिपतिको चाकरीलाई छुट्याउनु पर्ने नियम रहेछ । बाँकी एकतिहाई समय अतिरिक्त क्रियाकलापको लागि छुट्याइएको रहेछ । अतिरिक्त क्रियाकलापमा पक्का केन्द्रका प्रशिक्षण विधिको अनुसरण गर्ने उनीहरू जतीको राष्ट्रवादी कसरी हुने भन्ने रिहर्सल हुन्थ्यो । बेलाबेलामा पक्का केन्द्रबाट बिज्ञहरु ल्याएर पक्का राष्ट्रवादी कसरी बन्ने भन्ने बारेमा प्रबचन पनि दिन लगाईंदो रहेछ ।

यहाँको पाठ्यक्रम पनि चौराधिपतिले नै निर्माण गर्नु भएको रहेछ । यो पाठ्यक्रम अलिक नरम खालको रहेछ ।अघिल्लो केन्द्रको जस्तो कडा तालीम रहेनछ। उफ्रिने, पाफ्रिने, मार्चपास गर्ने, बङ्करमा बस्ने, पाखुरा खैंचीने, नाङ्गो खुकुरी नचाउनु पर्ने जस्ता शारीरिक परिश्रम गर्नु नपर्ने रहेछ । किनभने हुबहु यस्तै विधि तिनले उहिल्यै अपनाई सकेर त्यसबाट लिने भन्दा अधिक लाभ लिईसकेका रहेछन्। प्रशिक्षार्थीलाई कालापानी कुदाउने, टिङ्कर टेकाउने, सिक्किम देखाउने र टनकपुर टन्काउन सिकाउने  उद्यम गरेर धेरैले पजेरो-प्राडो, सुन-चाँदी, गर-गहना, घर-घडेरी, एनजीओ-आइएनजीओ, शान-मान-दाम प्रशस्त नै जोडीसकेका रहेछन्। जोड्न बाँकी केही रहेनछ । र सबैभन्दा ठूलो कुरो महान् राष्ट्रवादीको पगरी पाइसकेका रहेछन् । त्यसैले ढ्याउउअ डकार्नु र ती पुराना विधि अपनाउनेलाई फट्कार्नु यहाँका प्रशिक्षकको अर्को कर्म रहेछ ।

चिटिक्क पारेर दौरा सुरुवाल लाउनै पर्ने, नेपाली भाषा जान्नै पर्ने, बोल्नै पर्ने, ठाउँ कुठाउँ बेला कुबेला राष्ट्रगान गाउनै पर्ने, बेला बेलामा श्रीमान गम्भीर नेपाली…पनि गाउनु पर्ने नियम रहेछ। चन्द्रसूर्य झन्डा एकैछिन छोड्न नहुने । एकै छिन चन्द्रसूर्य अथवा दौरा सुरुवाल छोड्यो भने राष्ट्रघाती भैहालिने स्थिति रहेछ त्यहाँ । त्यहाँ तालीम लिएपछि मैले पनि एक निमेष पनि छोडेको छैन । राती सुत्दा पनि संगसँगै। हरेकका कोटकोटमा चन्द्र-सूर्यको ठूलो ब्याच हुनै पर्ने । अरूलाई राष्ट्रघाती प्रमाणित गरेर आफूलाई  राष्ट्रवादी प्रमाणित गर्ने काइदा काईदाका कला पनि सिकाइँदो रहेछ ।

यस्ता धेरै कलामा पोख्त भइयो। हाम्रो शक्ति: चौराधिपतिको भक्तियस केन्द्रको मूलमन्त्र रहेछ । हप्तामा छ दिन चौराधिपतिको सेवामा जानै पर्ने यस केन्द्रको नियम रहेछ। जो गएन उ खाँटी राष्ट्रवादी हुँदै भएन। त्यसैले गइयो । कहिलेकाहीं त सातै दिन पनि गइयो । बासै उतै बसियो ।

शिक्षण सिकाई क्रियाकलाप पुरै प्रशिक्षार्थी केन्द्रित । अधिकांश प्रशिक्षार्थीहरू कपाल लामो लामो पालेका, चुल्ठो बाटेका, कानमा अकबरी सुनका मोटा मोटा मुन्द्रा लगाएका,हातमा पनि त्यस्तै ब्रासलेट अनि गलामा पनि सुनकै माला लगाएका, बोल्दा पनि फाँ फाँ र फूँ फूँ, तँ तँ र म म गर्ने रहेछन् । तीनको कोटको दायाँ खल्तीमा अमेरिकन रिभल्वर अनि बायाँ खल्तीमा बिटाका बिटा नोट अनिवार्य हुँदो रहेछ । दौरा, सुरुवाल, कोट र टोपी लगाएपछि त ती मित्रहरू पनि ख्याल राम्रा र खाइलाग्दा देखिंदा रैछन् र! तीसंग पनि राम्रो सम्बन्ध बन्यो । तीनले नै सिकाए आफूलाई कपाल पाल्न, मुन्द्रा लाउन, पेस्तोल पड्काउन र हप्तावारी नोट छड्काउन ।

भित्ताभरी बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाका बडे बडे तस्वीर झुण्ड्याईएका। बोली पिच्छे बलभद्रको कसमभन्नु पर्ने नियम बनाइएको रहेछ। ।मसंगै तालीम लिने मेरा एक सहपाठी पेन्टिंगमा पोख्त रहेछन् । ऊनी केन्द्रको बलभद्र प्रतिको यस्तो सम्मान देखेर उत्पातै खुशी भए । केन्द्रको बैठक कोठाको भित्तामा कसैलाई नसोधी कसैलाई नभनी बलभद्रको एउटा राम्रो पेन्टिंग बनाएर दङ्ग पर्दै गुरूहरूलाई देखाएछन्। यो बनाउनु अघि उनलाई थाहा भएनछ कि झिक्दै राख्दै गर्न मिल्ने तस्वीरहरू मात्र यहाँ राख्न पाइन्छ । चौराधिपति आउँदा झिक्ने गएपछि फेरि राख्ने। यस्तो उपक्रम बारम्बार हुँदो रहेछ त्यहाँ।  चौराधिपतिलाई बलभद्र भनेपछि यस्तो रिस थियो अनि उस्तै प्रतीक चन्द्र-सूर्य र  दौरा-सुरुवालप्रति कुनै आपत्ति थिएन– किन हो अहिलेसम्म पनि थाहा पाउन सकेको छैन ।  विचरा उनी भविष्यमा केन्द्रबाट सञ्चालित कुनै पनि तालीममा भाग लिन नपाउने गरी तत्काल निलम्बनमा परे अनि त्यो भित्तो उनैलाई जस्ताको तस्तै पार्न लगाइयो । धन्न आफू भने सकुशल तालीम सकाएर उत्कृष्ट प्रशिक्षार्थीको पगरी पाएर निस्कन पाएकोमा गर्वको अनुभूत गरियो ।  धेरै ज्ञान सीप सिकियो जानियो । धारणा बदलियो । तब न खाँटी राष्ट्रवादी भईयो ।

तै पनि अझै के नपुगे के नपुगे जस्तो आभास भई नै रह्यो।अर्को एक ठाउँ बाँकी नै छ तालीम लिन।त्यसैले अब लागियो तेस्रो ठाउँ जुन सबै भन्दा पुरानो तालीम केन्द्र रहेछ । नामै पक्का राष्ट्रवादी तालीम केन्द्रभएपछि सक्किगो नि ! अन्य केन्द्रको झैं यहाँको पाठ्यक्रम पनि चौराधिपतिले नै डिजाइन गर्नु हुँदोरहेछ। यहाँका कतिपय प्रशिक्षकले चौराधिपतिबाट वेल सर्टिफाइड प्याट्रियोट को स्टाटस समेत प्राप्त गरिसकेका रहेछन्। कारण राष्ट्रभक्तिको भयानक क्षमता तीनले देखाइसकेका रहेछन्। यस्तो स्टाटस वहाँले सितिमिती कसैलाई दिने गर्नु भएको रहेनछ । र, यस्तो क्षमता पनि हत्तपत्त कसैले देखाउँदा रहेनछन् ।

यो थाहा पाएपछि  सबैभन्दा सही ठाउँमा अब चाहिं आइएछ जस्तो लाग्यो । अब  भने पूरा राष्ट्रवादी हुने भइयो भन्दै मनमनै मखलेल भएँ । यहाँ प्रवेश पाउन पनि न्यूनतम योग्यता काटिकुटी ‘खाँटी केन्द्रकै जस्तो रहेछ- नेपाली बोल्न लेख्न पढ्न जान्नै पर्ने, दौरासुरुवाल लाउनै पर्ने इत्यादी  ।  आफू मात्रै राष्ट्रवादी हुँ भनेर त्यति धेरै प्रदर्शन चाहिं गर्नु नपर्ने। यहाँको नारा चाहिं ‘हाम्रो मुख्य जिम्मेदारी: चौराधिपतिको खातिरदारी’ रहेछ ।

खातिरदारीका किसिम किसिमका कलाहरू, सिद्धान्तहरूको सेरोफेरोमा ज्ञान, सीप र अभिवृत्ति प्रदान गरिंदो रहेछ । एकजना धनी व्यापारी यहाँबाट राम्रोसंग तालीम पाएर राष्ट्रवादी भएर निस्कने बेलामा खुशी भएर दुइवटा सुनका ठुल्ठुला कलात्मक अम्खोरा केन्द्रलाई उपहार दिए । केन्द्रका प्रशिक्षकहरूले ती दुवै अम्खोरा तुरुन्तै चौराधिपतिलाई चढाएर खातिरदारी यसरी गर्नु पर्छ भनेर हामी प्रशिक्षार्थीलाई देखाइदिए । सिकाइदिए । चौराधिपतिज्यू रिसाउँदा के के हुन्छ खुशी हुँदा के के हुन्छ सब कुरा इतिहास साक्षी राखेर बिस्तारमा सिकाइँदो रहेछ ।यस बिषयमा थुप्रै श्रव्य, दृश्य, पाठ्य सामग्रीहरू पनि सुनाइयो, देखाइयो र पढाइयो । त्यही भएर यहाँ तालीम लिएको मान्छेले हत्तपत्त चौराधिपतिको बिरोध गरेको सुनिँदो रहेनछ । म पनि यस्तै भएर निस्कें ।

यत्रा यत्रा तालीम त लिइयो भने अब एउटा राष्ट्रवादको डिग्री पनि किन नलिने भन्ने सोच आयो । एम.पी.एस.(मास्टर्स डिग्री इन प्याट्रियोट्रिक साइन्स) पढाई हुने ठाउँ  रहेछ । भर्ना भइयो ।

जुनसुकै बिषयमा ब्याचलर्स डिग्री गरेका हिन्दी भाषामा पोख्त भएका जसले पनि यो डिग्री लिन सक्ने रहेछ।  मैथिली, भोजपुरी, नेपाली, अवधी, थारू इत्यादी जस्ता भाषामा बोले परीक्षा दिए त्यो प्रशिक्षार्थी स्वतः अयोग्य सावित भई आजीवन निलम्बनमा पर्ने ।

यसको पाठ्यक्रम पनि चौराधिपतिले नै निर्धारण गर्नु हुँदो रहेछ । यहाँको मुख्य नारा चाहिं ‘’हाम्रो जीत चौराधिपतिको हित: हाम्रो हार वहाँमाथिको प्रहार’’ रहेछ । यही नाराको  सेरोफेरोमा  विशिष्ट श्रेणीसहित स्वर्ण पदक लिएर यो डिग्री सकाइयो।  अब चाहि भने आफूलाई पूर्ण राष्ट्रवादी भा झैँ लाग्यो ।

एक बारको जूनीमा राष्ट्रवादी नभैकन नै परलोक होइने हो कि भन्ने खूब चिन्ता थियो तर अब म चिन्ता मुक्त भएको छु ।लरतरो होइन खरो र दरो राष्ट्रवादी भएको छु । मलाई राष्ट्रवादी बनाउन मद्दत गर्ने सबैलाई साधुवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment