Comments Add Comment

गौतम बुद्धको जन्मस्थलमै जातीय विभेद ?

Monk-Milanda

सलमान खान

१५ माघ, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमै जातीय भेदभाव गरिएको एकजना दलित समुदायका भिक्षुले गुनासो गरेका छन् ।

तत्कालीन राजा महेन्द्र शाहका पालामा निर्माण गरिएको मायादेवी मन्दिरको आडैमा रहेको लुम्बिनीकै पहिलो पुरानो राजकीय बौद्ध बिहारबाट अहिले एकजना भिक्षुलाई दलित भन्दै बिहारबाट निकालिएको भिक्षु मिलिन्द (भीमबहादुर सार्की) ले गुनासो गरे ।

करिब साढे दुई वर्षदेखि बिहारमा पूजाआजा गर्दै आइरहे पनि राजकीय बौद्ध बिहारमा गठित लुम्बिनी धर्मोदय उपसिमितिले आफू दलित जातको हो भन्ने थाहा पाएपछि बिहारबाट निकालेको भिक्षु मिलिन्दले बताए ।

लुम्बिनीमा भिक्षुहरुको वास्तविक नाम र जात धेरैलाई थाहा हुँदैन । उनीहरु नयाँ नामबाट परिचित हुन्छन् । आफू दलित समुदायको रहेको भन्ने उपसमितिले थाहा पाएपछि उपसमितिका म्यानेजर बाबु साहेब भन्ने लखन सिंहले जातीय सूचक शब्दको प्रहार गर्दै बौद्ध बिहारबाट बाहिर जान भनेको भिक्षु मिलिन्दले गुनासो पोखे ।

साढे दुई वर्षअघि बिहारमा बस्न आउँदा भिक्षु मिलिन्दलाई उपसमितिले फूलमालाले स्वागत गरेको थियो । भिक्षु मिलिन्दले अनलाइनखबरसँग भने-‘तर, अहिले आएर उपसमितिले आफू दलित जातको थाहा पाएपछि बिहारबाट निकाल्ने बहानाका लागि अखिल नेपाल भिक्षु महासंघबाट स्वीकृति लिएर आए मात्रै बिहारमा बस्न पाउने भन्दै बिहारबाट निकाला गर्‍यो ।

‘म दलित जाति को हुँ , त्यही भएर मलाई जातीयताकै आधारमा यहाँबाट अहिले निकालिएको छ, भिक्षु मिलिन्दले अनलाइनखबरसँग भने ‘उपसमितिका अध्यक्षले आफू निकट गुनघोष शाक्यलाई बिहारमा राख्न खोजेका कारण मलाई निकालिएको हो ।’

उपसमितिको खण्डन

यता लुम्बिनी धर्मोदय उपसिमितिका अध्यक्ष चकोरमान शाक्यले भिक्षु मिलिन्दलाई जातीयताका आधारमा ननिकालिएको बताएका छन् । उनले भिक्षु मिलिन्दलाई बौद्ध बिहारमा ६ महिनाका लागि बाहिर पठाइए पनि उनी हालसम्म बिहारमै बसेका कारण भिक्षु महासंघले आफै काठमाण्डौँ बोलाएको बताए ।

भिक्षुहरुलाई विभिन्न बिहार खटाउने र तान्ने जिम्मेवारी भिक्षु महासंघको भएको र त्यसमा बिहार प्रशासनको कुनै भूमिका नरहने अध्यक्ष शाक्ले दाबी गरे ।

तर, यो घटनापछि उपसमितिका म्यानेजर सिंहलाई कार्यवाहीस्वरुप उपसमितिबाट निस्काशन गरिएको उपसमितिका अध्यक्ष शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment