Comments Add Comment

इटालीबाट हराएका राहदानी नेपालमा भेटिए

१६ माघ, काठमाडौं । इटालीको परराष्ट्र मन्त्रालयबाट हराएका तीनवटा राहदानी काठमाडौंमा भेटिएका छन्। नेपाललाई ट्रान्जिट बनाई युरोपेली मुलुक छिर्न खोज्ने तीन इरानी नागरिकको साथबाट ती राहदानीफेला पारिएको हो। माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जाने क्रममा उनीहरू ती राहदानीसहित पक्राउ परेका हुन्।

फाइल तस्वीर
फाइल तस्वीर

उनीहरू माघ ४ गते नेपाल आएका थिए। नेपाल आउँदा उनीहरूले इरानी राहदानी नै प्रयोग गरेका थिए। इटालीको परराष्ट्र मन्त्रालयले आफ्ना तीनवटा राहदानी हराएपछि खोजीका लागि विभिन्न मुलुकमा रहेका दूतावासमा पत्राचार गरेको थियो। उसले नेपालस्थित बेलायती दूतावासलाई पनि पत्र लेखेर हराएका राहदानी नम्बरलगायत विवरण पठाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

बेलायती दूतावासको सूचनाका आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले उनीहरूलाई ती राहदानीसहित पक्राउ गरेको हो। इटाली सरकारले जारी गरेका एए ५६५७७९५, एए ५६७५७८८ र एए ५६७५७८० नम्बरका राहदानी हराएका थिए।
पक्राउ पर्नेमा टी २९१२७४४४ नम्बरको इरानी राहदानीवाहक तोहिद ताहेरी र उनकी पत्नी एफ २४३८७८१८ नम्बरको राहदानीवाहक बाहेरे पासाजादे छन्। उनीहरूसँगै आएका एम २५९५९२५५ नम्बरको इरानी राहदानीवाहक सिना यारी पनि पक्राउ परेका छन्।
अध्यागमन विभागका निर्देशक ध्रुवकुमार जोशीले उनीहरूको बयान लिएर अनुसन्धान भइरहेको बताए। उनीहरूलाई अदालतमा पेस गर्ने तयारी भइरहेको छ।
उनीहरूले ती राहदानी इरानको राजधानी तेहरानस्थित इटालीको दूतावासबाट पाएको दाबी गरेको स्रोतले बतायो। ती इरानीले आफूहरूले मेसिन रिडेबल राहदानी खरिद गरेपछि विवरण भरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment