Comments Add Comment

सुशीललाई प्रचण्डको जवाफ : घाँटीमा तरबार राखेर वार्तामा बस्दैनौं

prachanda-with-susil

१६ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला वार्ताका लागि आग्रह गर्दै शुक्रबार बिहानै प्रचण्ड निवासमा पुगे । बिहान सहिदलाई माल्यार्पण गरेपछि प्रधानमन्त्री कोइराला सोझै लाजिम्पाटतिर लागेका थिए । कोइराला करिब आधाघण्टा प्रचण्ड निवासमा बसे ।

प्रधानमन्त्रीसँगको भेटपछि प्रचण्डको प्रतिक्रिया छ, ‘यो कुनै वार्ता होइन, उहाँ सीधै आउनुभयो ।’
घाँटीमा तरबार राखेर आफूहरु वार्तामा नबस्ने भन्दै प्रचण्डले प्रधानमन्त्री कोइरालासमक्ष वार्ताका लागि केही शर्तसमेत राखेका छन् ।

यस्ता छन् प्रचण्डका शर्त

भेटका क्रममा प्रचण्डले प्रधानममन्त्रीलाई वार्ताका लागि केही शर्तहरु राखेका छन् । ती शर्तहरुमा माघ ११ को संविधानसभाको कदम सच्याएर प्रश्नावली प्रस्ताव समिति खारेज गर्नुपर्ने र राज्यको पुनसंरचना लगायतका विवादित विषयमा सत्तापक्षको रोडम्याप जनतासमक्ष सार्वजनिक गर्नुपर्ने प्रचण्डको माग छ ।

‘यति गर्नुभयो भने तपाईहरुको रोडम्यापबारे मोर्चाको बैठकमा छलफल राख्छु र वार्तामा बसौंला,’ प्रचण्डले प्रधानमन्त्री कोइरालालाई भने-‘ वार्ताको ढोका हामीले बन्द गरेको होइन, तपाईहरुले हो, घाँटीमा तरबार झुण्ड्याएर हामी वार्तामा बस्दैनौं ।’

प्रचण्डको प्रस्तावबारे सरकारमा रहेका दलहरुसँग छलफल गर्छु भन्दै प्रधानमन्त्री लाजिम्पाटबाट फर्केको स्रोतले अनलाइनखबरलाई बतायो ।

केही दिनअघि टेलिफोन मार्फत प्रचण्डलाई वार्ताको आग्रह गर्दा सकारात्मक नदेखिएपछि प्रधानमन्त्री कोइराला प्रचण्डलाई फकाउन उनकै निवासमा पुगेका हुन् ।

दुई दिनअघि प्रधानमन्त्री कोइरालाले फोन मार्फत प्रचण्डलाई वार्तामा आउन आग्रह गरेका थिए । तर, माघ ११ गते संविधानसभाले गरेको निर्णय नसच्याएसम्म वार्ताको वातावरण नबने जवाफ प्रचण्डले प्रधानमन्त्रीलाई दिएका थिए । प्रधानमन्त्री कोइरालाले वार्ताको वातावरण बनाउने आश्वासन दिएका थिए ।

यसैबीच बिहीबार बसेको एमाओवादी केन्द्रीय समितिको बैठकमा समेत प्रचण्डले सत्तापक्षले संविधानसभाको कदम नसच्चिएसम्म वार्ता नगर्ने बताएका थिए ।

वार्ता र सम्वादका लागि विपक्षी लचिलो नदेखिएपछि प्रधानमन्त्री कोइराला प्रचण्डकै निवासमा पुग्न बाध्य भएका हुन् ।
उता शीतलनिवासबाट राष्ट्रपति डा. रामवरण यादवले पनि कांग्रेस र एमालेका नेताहरुलाई विपक्षीसँग सहमति खोज्न दबाव दिएका छन् ।

राष्ट्रपति यादवले बिहीबार नै संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई शीतलनिवासमा बोलाएर विपक्षीलाई सहमतिमा ल्याउन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment