Comments Add Comment

पहिलो विकेट लिएपछि धेरै एक्साइटेड भएँ : करण केसी

राजकुमार श्रेष्ठ

१६ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा युगाण्डाविरुद्ध डेब्यू गर्दा नेपाली तीव्र गतिका बलर करण केसी जति उत्साहित थिए, त्यति नै दबावमा पनि थिए ।

हरेक टीम चाहन्छ कि सुखद सुरुवात होस् । डिभिजन वानमा पुग्ने लक्ष्यका साथ नामिबिया पुगेको नेपालका लागि हरेक खेल महत्वपूर्ण थियो । पहिलो खेलमा नै करणले डेब्यू गरे ।

karan KC

तीव्र गतिका बलर सोमपाल कामीसँग करणको ओपनिङ जोडी बन्यो । ‘राष्ट्रिय जर्सी लगाउने मेरो ड्रिम थियो, त्यो पुरा हुँदा खुसी लाग्यो’ डेब्यू अनुभव सुनाउँदै करणले अनलाइनखबरसँग भने-तर, राम्रो गर्न सक्छु कि सक्दिँन भन्ने टेन्सन पनि थियो ।’

डेब्यूका लागि मैदान प्रवेश गर्दै गर्दा उनले भारतमा रहेका आमाबुबालाई सम्झिए । बाग्लुङमा जन्मिए पनि बाबु भारतमा भएका कारण उनी बाल्यकालमै भारतको चण्डीगढ पुगे । त्यहीँ क्रिकेट सिकेका उनी अहिले नेपाली टोलीमा छन् ।

युगाण्डाविरुद्धको खेलमा उनले विकेट लिन त सकेनन्, तर, विपक्षीलाई धेरै रन बटुल्न भने दिएनन् । ७ ओभर बलिङ गरेका उनले २७ रन दिए, जुन खेल नेपालले मात्र २ रनले गुमाएको थियो ।

दोस्रो खेल नेदरल्याण्ड विरुद्ध थियो । प्रतियोगिताकै बलियो टोलीबिरुद्ध सोमपाल र करणको जोडी नै ओपनिङ बलिङमा थियो । करणले ७ ओभरमा तीन मेडन राख्दै मात्र १० रन दिए, जुन खेल २ विकेटले जित्दै नेपालले प्रतियोगितामा पहिलो जित हात पार्‍यो ।

karan ck 400डिभिजन टूको सुरुवाती दुई खेलमा बलिङ राम्रो भए पनि विकेट नझर्दा करणमाथि दबाव थियो । ‘विकेटका लागि टाइम लाग्यो । कोचले त्यही भन्नुभएको थियो कि विकेट नलिए पनि रन बनेको छैन’ करणले भने-‘शायद लक थिएन विकेटका लागि ।’

करण क्यानडाविरुद्धको खेलमा भने चम्किए । सोमपालले पहिलो ओभरको चौथो बलमा विकेट लिएर नेपाललाई सुरुवाती सफलता दिलाए । चौथो ओभरमा भने करणले खाता खोले । ओभरको चौथो बलमा उनले रिजवान चिमाको विकेट लिए, जुन उनको नेपालका लागि करियरकै पहिलो विकेट थियो ।

त्यो क्षण सम्झँदै करण भन्छन्-पहिलो विकेट लिएपछि म धेरै एक्साइटेड भएँ । गडलाई थ्यांक गरेँ । अब पनि यस्तै होस्, विकेट लिन पाइरहुँ भनें ।’

क्यानडाविरुद्धको खेलमा उनले ५ विकेट लिए । त्यसका लागि उनले १० ओभरमा २ मेडन राख्दै मात्र २६ रन खर्चिए । लिस्ट ए क्रिकेटमा यो कुनै पनि क्रिकेटरले लिएको सर्वाधीक विकेट थियो ।

प्रतियोगिताको अर्को बलियो टोली नामिबियाविरुद्ध पनि करणले आफ्नो लय कायमै राखे ।

६.१ ओभरमा १ मेडन राखेका उनले १२ रन खर्चिएर ३ विकेट हात पारे । प्रतियोगिताका छ खेलमा उनले ९ विकेट लिए ।
डिभिजन टूमा नेपालले राम्रो प्रदर्शन गरे पनि वानमा पुग्ने र उपाधि जित्ने लक्ष्य पूरा भएन । करण भन्छन्-टीमको प्रदर्शन राम्रो भएको थियो । माथिल्लो स्तरको प्रदर्शन भएको थियो । तर, केन्यासँग हुन सकेन । सायद हाम्रो लक थिएन ।’

लिग चरणको अन्तिम खेलमा केन्यासँग ब्यहोरेको ५ विकेटको हारले नेपाल डिभिजन वानमा पुग्नबाट चुकेको थियो । यद्यपि वर्ल्ड क्रिकेट लिग च्याम्पियनपिपका लागि छनोट भएको छ, जुन नेपालका लागि महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

एक वर्षअघिसम्म करण केसी नेपाली क्रिकेटमा कतै देखिएका थिएनन् । विदेश जाने सोचाइका साथ पासपोर्ट बनाउन पोखरा आउनु नै उनको करियरको टर्निङ प्वाइन्ट बन्यो ।

karan kc 650

डेब्यू प्रतियोगितामै आफ्नो प्रभाव छाड्न सफल करण भन्छन्-नेपालका लागि अझ धेरै खेल्नुछ । नेपालको जितमा योगदान गर्न चाहन्छु ।’

नेपालको जर्सी लगाउने उनको सपना नामिबियामा पूरा भयो । अब उनी टी-२० विश्वकप खेल्ने ड्रिम लिएर अघि बढेका छन् ।

त्यसका लागि नेपालले जुलाइमा हुने छनोट चरण पार गर्नुपर्ने हुन्छ, जहाँ नेपालसँगै आयरल्याण्ड, अफगानिस्तान, यूएई, नेदरल्याण्ड, हङकङ, स्कटल्याण्ड, पपुवा न्यूगिनीसहितका १४ देशले विश्वकपको छ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तर, करणका लागि टीममा पार्न अन्य बलरहरुसँग प्रतिस्पर्धा पनि गर्नु पर्ने हुन्छ । उनले भने-अबको डिम टी-२० वर्ल्ड कप हो । तर, लक लाग्नुपर्‍यो र प्रदर्शन गर्नुपर्‍यो । आफ्नो १०० प्रतिशत दिन म तयार छु । टीम छान्ने काम कोचको हो ।’

करण केसीको नेपाल यात्रा : बिदेश जान हिँडेको ठिटो जब क्रिकेट खेलाडी बन्यो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment