Comments Add Comment

एनसेलका ग्राहकको दैनिक खर्च १० रुपैयाँ

१६ माघ, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका ग्राहकहरुले औषतमा दैनिक १० रुपैयाँ खर्च गर्ने गरेका छन् । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले सार्वजनिक गरेको सन् २०१४ को वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।

Ncell-Towerवित्तीय प्रतिवेदन अनुसार एनसेलले सेवा बिक्रीबाट २०१४ मा ४३ अर्ब ११ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिसम्म आइपुग्दा एनसेलका ग्राहकहरु एक करोड २० लाख ९० हजार पुगेका छन् ।

एनसेलका ग्राहकको दैनिक औषत खर्च अघिल्लो वर्षको तुलनामा यस वर्ष डेढ रुपैयााले घटेको छ । सन् २०१३ मा एनसेलका ग्राहकहरुले दैनिक ११ रुपैयाँ ५० पैसा खर्च गर्ने गरेका थिए ।

सन् २०१३ मा एनसेलले ४५ अर्ब ३४ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । त्यतिबेला कम्पनीका ग्राहकहरु एक करोड ८ लाख ६७ हजार रहेका थिए ।

समिक्षा वर्षमा एनसेलको आम्दानी करिव सवा दुई अर्ब रुपैयाँले घट्नु र ग्राहक आधार १२ लाख जनाले बढ्न जाँदा दैनिक औषत खर्च घटेको देखिएको हो । एनसेल नेपालमा सबैभन्दा बढी ग्राहक हुने दूरसञ्चार कम्पनी हो ।

टेलियासोनेराका आम्दानी बढ्यो

एनसेलको आम्दानी घटेपनि प्यारेन्ट कम्पनी टेलिया सोनेराको आम्दानी भने बढेको छ । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा यस वर्ष एनसेलबाट टेलियासोनेराको आम्दानी १९ प्रतिशतले बढेको छ ।

सन् २०१३ मा एनसेलबाट ३ अर्ब २ करोड ३० लाख स्वीडिस क्रोनर आम्दानी गरेको टेलियासोनेराले २०१४ मा ३ अर्ब ५९ करोड ३० लाख स्वीडिस क्रोनर आम्दानी गर्न सफल भएको छ ।

नेपाली रपैयाँमा एनसेलको अाम्दानी घटेपनि स्वीडिस क्रोनरमा अाम्दानी बढेको छ । यसो हुनुको पछाडि स्वीडिस क्रोनरको तुलनामा नेपाली रुपैयाँ बलियो हुनु हो ।

गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दा १ स्वीडिस क्रोनरको नेापली विनिमय दर १५ रुपैयाँ थियो भने यस वर्ष घटेर १२ रुपैयाँमा आइपुगेको छ । जसले गर्दा अघिल्लो वर्षको तुलनामा एनसेलको आम्दानी स्वीडिस क्रोनरमा बढेको देखिएपनि नेपाली रुपैयाँमा रुपान्तरण गर्दा घटेको देखिएको हो ।

प्रतिवेदन अनुसार सन् २०१४ एनसेलले मोबाइल टेलिकम सेवाबापत ३७ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । त्यस्तै, आन्तरिक बिक्रीबाट करिव ६ अर्ब र उपकरणबाट ७ करोड २० लाख रुपैयाँ आम्दानी गर्न एनसेल सफल भएको छ ।

यसरी प्रतिवेदन हेर्दा स्वीडिस क्रोनरको तुलनामा नेपाली रुपैयाँ बलियो हुँदा टेलियासोनेरालाई फाइदा पुगेको छ । यदि नेपाली रुपैयाँ यथास्थितीमा रहेको भए एनसेलको आम्दानी घट्दा टेलियासोनेराको आम्दानी पनि सँगसँगै घट्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment