Comments Add Comment

देउराली जनता उद्योगबाट २१० थरी औषधि उत्पादन

Deurali Janata Drogs Udyog

१६ माघ, काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्स प्रालिले औषधि उत्पादन सुरु गरेको २४ वर्ष पुरा गरेको छ । साढे दुई दशकको अवधिमा आइपुग्दा कम्पनीले अत्याधुनिक उपकरणमार्फत दुई सय १० थरी औषधिहरु उत्पादन गरिरहेको छ ।

लामो औषधि उत्पादनको अनुभवसँगै आफ्नो उत्पादन क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरि विकास गरिसकेको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । एक लाख १० हजार बर्गफिटमा फैलिएको यो उद्योग पूर्णतया वातानुकुलित रहनुका साथै विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम कुशल औषधि उत्पादन प्रकृया पुरा गरेको छ ।

कम्पनीले मुटु रोग, नशा सम्बन्धी रोग, मधुमेह, चर्म रोग लगायत नेपालमा देखा पर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधिहरु उत्पादन गरिरहेको छ ।

अत्याधुनिक उपकरणबाट कच्चा पदार्थहरु, सहायक कच्चा पदार्थहरु र कम्पनीबाट उत्पादित औषधिकहरुको गुणस्तर परीक्षण गर्ने र अन्य अत्यावश्यक औषधिहरुको विकास तथा अनुसन्धानको काम समेत यस कम्पनीले गर्दै आएको छ ।

कुल उत्पादन क्षमताको ६० प्रतिशत मात्र उपयोग गर्न सकेको कम्पनीले ४० प्रतिशत उत्पादन क्षमतालाई विकासको चरणमा रहेका विभिन्न अत्यावश्यक औषधि, नशारोग, मनोचिकित्सा लगायतका औषधिहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अहिले नेपालमा करीव ४५ वटा उद्योगहरुले विभिन्न रोगका औषधिहरु उत्पादन गर्दै आएका छन् । यी उद्योगहरुले औषधिको कुल मागको ४० प्रतिशत हिस्सा ओगटेका छन् । औषधिमा नेपाललाई आत्मनिर्भरताको बाटोमा लम्काउन यी उद्योगहरुको अतुलनिया योगदान रहेको छ ।

पछिल्ला वर्षमा देखिएको उर्जा संकट, औद्योगिक असुरक्षा लगायतका समस्याबाट अन्य उद्योगहरु जस्तै औषधि उद्योगहरु पनि गुजि्रनु परेको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माको गुनासो छ ।

थुप्रै विदेशी कम्पनीहरुले आफ्ना उत्पादनलाई नेपाली बजारमा बिक्री वितरण गरिरहेको वर्तमान अवस्थामा स्वदेशमै उच्च गुणस्तरीय औषधि उत्पादन गरी औषधि उत्पादनको क्षेत्रलाई आत्मनिर्भर बनाउने प्रयत्न जारी रहेको कार्यकारी निर्देशक शर्माले बताए ।

कम्पनीले एक दशकभन्दा अगाडि देखि नै नेपालमा पहिलो पटक आइएसओ १४००१, आइएसओ ९००१ तथा विश्व स्वास्थ्य संगठनको कुशल निर्माण प्रकृया (जीएमपी) लगायतका प्रमाणिकरण गराई औषधिको गुणस्तर कायम गरेको छ ।

नेपालमा औषधिको आयात कम गर्नका लागि उच्च गुणस्तरीय औषधि उत्पादन गर्ने नेपाली उद्योगहरुबाट टेन्डर आहृवान गरी खरिद गरेमा यस क्षेत्रका उद्योगहरुको प्रवर्द्धन हुनुका साथै लगानीले समेत प्रोत्साहन पाउने शर्माले बताए ।

नेपाली औषधि उद्योगबाट आत्मनिर्भर हुनसक्ने करीव ५० प्रतिशत मोलिक्यूलको औषधिहरु आयातमा प्रबिन्ध लगाउन सकेमा यस क्षेत्रमा लगानीको वातावरण तयार हुने शर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment