Comments Add Comment

जातीय राजनीतिको बिरोध गर्दै संघीय समाजवादीका नेताले पार्टी छाडे

१६ माघ, धरान । संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य विनोद राई र धरान उपमहानगर कमिटीका अध्यक्ष अजय राईले शुक्रवार पार्टी परित्याग गरेका छन् ।

Binod-rai
विनोद राई

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले जातीय संकीर्णता बोकेर जातिगत राजनीतिमात्र गरेको भन्दै उनीहरुले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

संघीय समाजवादी पार्टीमा जातीय राजनीति हावी भएको र त्यसको शीर्ष नेतृत्वमा रहेकाहरु अर्को जातिप्रति घृणा फैलाउने खालका भएको भन्दै उनीहरुले सो पार्टीमा बस्न नसकिने बताए ।

राईले भने-‘संघीय समाजवादीको नेतृत्वमा जातीय घृणा व्याप्त छ, बाहुन क्षेत्रीलाई काट्नुपर्छ भन्नेहरु नेतृत्वमा छन्, यस्तो कुराले त समाजमा बिखण्डन र बिद्वेषमात्र फैलाउने रहेछ, त्यसैले हामी बस्न सकेनौं ।’

संघीय समाजवादीका अध्यक्ष अशोक राई स्वयं पार्टीलाई सबै नेपाली जनताको बनाउने भन्दा पनि सिमित जनजातिको बनाउन लागेकाले यसको भविष्य नरहेको स्थायी समिति सदस्य राईले दावी गरे ।

पार्टी परित्याग घोषणा गरेका उनीहरुले अशोक राईहरुको नियत समाजमा बिखण्डन र साम्प्रदायिक दंगा मच्चाउने रहेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा राईले भने-‘हामीले नजिकबाट हेर्‍यौं, एमाले छाडेर संघीय समाजवादी बनाउनेहरुको खतरनाक उद्देश्य रहेछ, जातिका कुरा गरेर समाजलाई बिखण्डन गर्न पैसाको ठूलो चलखेल भएको रहेछ ।’

राई संघीय समाजवादीमा प्रवेश गर्नुअघि नेपाली कांग्रेसको सुनसरी जिल्लाबाट महासमिति सदस्य थिए । उनले नेपालमा जातीय राजनीतिक खतरनाक रहेको आफूले अनुभव गरिसकेको बताए ।

Ajay-Rai
अजय रार्इ

पत्रकार सम्मेलनमा समाजवादीका धरान उपमहानगरका अध्यक्ष अजय राईले संघीय समाजवादीमा पार्टीगत भन्दा पनि जातिगत कुरा बढी हुने गरेकाले आफू त्यहाँ बस्न नसकेको बताए ।

राईले भने-‘क्षेत्री बाहुनलाई गाली गर्नैपर्ने चलन देखियो, जातीय राजनीति गर्न नसकेर मैले छाडेको हुँ । उनीहरुले तत्काल अर्को पार्टी प्रवेशको सम्भावना नरहेको बताए ।’

यसअघि संघीय समाजवादीका बरिष्ठ उपाध्यक्ष बिजय सुब्बा, सचिव मीना गुरुङ लगायतका नेताहरुले समाजवादी परित्याग गरि एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment