हिमाल शर्मा
माघ ११ गते सभामुख सुवास नेम्वाङले संविधानसभामा गरेको घोषणाले मलाई एउटा पुरानो घटनाको स्मरण गराएको छ । ०३९ सालको कुरा हो, म सानै थिएँ । मेरा आँखा अगाडि भएको घटना अझै मेरो स्मरणमा छ ।
बाग्लुङको हाम्रो गाउँका मुखिया साहुले माघे संक्रान्ति मेलामा भिडभाडको मौका छोपेर तुलसादेवीको कपालमा सिन्दुर छर्किदिए । र, भने- ‘अब तिमी मेरी स्वास्नी भयौ । अर्धाङ्गीनी भयौ । किनकि मेरो हातको सिन्दुर तिम्रो सिउँदोमा परिसक्यो । अब तिमी मेरो घरमा जानै पर्छ ।’
तुलसादेवी अक्क न बक्क भइन् । ‘यो काम जवरजस्ती भएको हो, झुक्काएर लगाएको सिन्दुर मलाई मान्य छैन । तिमीसँग जानुभन्दा मर्नु बेस’ भनेर उनले रुवावासी गरिन् ।
छलफल हुँदै गर्दा त्यहाँ उपस्थित धेरैले भने, ‘नहुनु थियो भैहाल्यो, जे लेखेको छ, त्यै भोग्नुपर्छ नानी । अब मुखियाको सिन्दुर तिम्रो सिउँदोमा परेपछि उसैसँग जानुको विकल्प छैन, जाउ खुरुक्क ।’
त्यतिबेला हाम्रो समाजमा अर्काको हातको सिन्दुर परेर ‘इज्जतमाथि बात’ लागेकी छोरीलाई घर फर्काएर लैजाने कुराले सामाजिक वहिष्कार खप्नु पर्दथ्यो । आफन्त र परिवारले पनि त्यो जोखिम मल्न चाहेनन् क्यारे । अनि भन्न थाले, ‘नहुनु थियो भैहाल्यो, मेलामा बढेकी छोरी नल्याको भए यस्तो हुने थिएन होला’ भन्ने सहानुभूति पनि कसै-कसैले दिए ।
‘झुक्काएर होस् वा जवरजस्ती होस सिन्दुर पर्यो, नपर्नु थियो, पर्यो । अब त्यै पुरुषसँग जानुपर्छ’ । जान्ने सुन्ने भद्र भलादमीले यसै भन्न थाले । तुलसाको पक्षमा मनमनै बोल्ने धेरै भए पनि खुलेर वोल्नेको संख्या थोरै थियो, त्यसैले उनको केही लागेन ।
माघे सक्रान्तीको अवसरमा बाग्लुड, कुश्मीसेरा-१ जैमिनिघाट भन्ने ठाउँमा ठूलो मेला लाग्दथ्यो । जो मेरो घरको आसपासमा छ । टाढा टाढाबाट धर्मालम्बीहरु मेला भर्न आउँथे ।
कालीगण्डकी र ठेउले खोलाको दोभानमा नुहाउँदा ‘पाप कटानी’ हुने किम्वदन्ती छ । भजन किर्तन, झ्याउरे दोहोरी, खेलकुद, सांस्कृतिक कार्यक्रम, कृषि-पशु प्रर्दशनी आदि रमाइला गतिविधि हुन्थे ।
अविभावकले विवाह गराइदिने उद्देश्यले आ-आफ्ना छोराछोरी अर्को अविभावकलाई प्रत्यक्ष वा परोक्षरुपमा देखाउने अवसरका रुपमा पनि मेला एउटा माध्यम थियो । लमीहरु त्यसदिन निकै सकृय देखिन्थे ।
हिम्मतवाला युवायुवती, जो अन्तरजातीय माया पिरतीमा परेका छन् र जसको सामाजिकरुपमा विवाह स्वीकार्य छैन, तिनीहरु त्यै मेलाबाट भाग्ने गरेका घटनाहरु पनि अझै पाइन्छन् ।
कुनै गाउँ-भेकको अर्को गाउ-भेगसँग कुनै रीसईबी छ भने पनि माघे सक्रान्तिमा हिसाव-किताव गरौंला भन्थे ।
पञ्चायतकालमा भेकीय लडाइँ खुब हुन्थ्यो । ०३५ देखि ०४६ सालसम्म बहुदल र निर्दल पक्षधरहरु मेला बजारमा भिड्थे । ०४७ सालपछि कांग्रेस-कम्युनिष्ट भिड्न थाले । ०४८ सालको माघे संक्रान्तिमा राजनीतिक झगडामा सत्ताधारी कांग्रेसको पक्ष लिएर कम्युनिष्टलाई दमन गर्दाको परिणाम एकजना प्रहरी इन्स्पेक्टर ज्ञानेश्वर वैद्यको त्यै ठाउँमा मृत्यु भयो भने घाइते टेकबहादुर थापाको पछि पोखरा अस्पतालमा निधन भयो ।
राजनीतिक प्रतिषोधका आधारमा मसमेत २४ जना तीन वर्षभन्दा बढी बाग्लुङ जेलमा बस्नुपर्यो । त्यसैको झोंकमा मेरा गाउँलेहरुले माघे संक्रान्तिको मेलाका लागि खाली राखेको फाँटमा खेती गर्न शुरु गरेपछि मेला त्योरुपमा छैन अहिले ।
यसै प्रसङ्गमा, आफूलाई समाजमा प्रतिष्ठित ठान्ने ६ दशक पार गरेका चन्द्रदत्त उपाध्याय (जो मुखिया साहु भन्ने पदावलीले परिचित थिए) ले पल्लो गाउँकी एउटी गरिब परिवारमा जन्मेकी १६ वर्षीया तुलसादेवीसँग विवाह गर्ने मनासय राखेर आँखा गाडेका रहेछन् । ती सुन्दरी युवतीलाई माग्दा उनले पाएका थिएनन् । घरमा दुई -दुईवटा श्रीमती हुने हजुरबा जस्तासँग बिहे गराइदिन केटीका परिवार मान्ने कुरै थिएन ।
मुखिया साहुले परिवार र युवतीलाई ललाई-फकाई भगाउने अनेक कोसिस नगरेका पनि होइनन् । टुनामुना-मोहनीको अस्त्रबाट पनि उनी सफल हुन सकेनन् । अन्त्यमा, सिन्दुरको हतियारलाई आफ्नो अचूक अस्त्र ठानेर त्यै जुक्तिबाट नै आफ्नो अभिष्ट पूरा गर्ने योजना बुने ।
हिन्दु समुदायमा विवाहका लगि सिन्दुर भनेको अन्तिम कडी हो । त्यै अन्तिम हतियार शुरुमै प्रयोग गरिदिएपछि केटी माग्ने र फकाउने झञ्झटवाट मुक्ति पाइने सोच आयो मुखियामा ।
सामाजिक-सास्कृतिक हिसावले यो कदम सबैले स्वीकानु पर्ने बाध्यता थियो । यही सोचका साथ युवतीको टाउकोमा जबरजस्ती सिन्दुर हाल्ने अठोट गरेका रहेछन् मुखिया साहुले ।
अन्ततः मुखियाको षड्यन्त्रमा फसेकी तुलसा उनको घरमा जान बाध्य भइन् । तर, बलात्कृत तुलसा हप्ता दिन नपुग्दै घर नजिकैको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिइन् ।
यो घटना हत्या हो कि आत्महत्या भन्ने विवाद चर्कियो । त्यसपछिको घटनाले उग्र रुप लियो । छिमेकीहरुले उनका विगतका पोलहरु पनि खोल्न डराएनन् । सल्लाहकार र मतियारले पनि मुखियाको साथ छाडे । प्रशासनले पनि जनदवावका अगाडि उनलाई साथ दिन सकेन । छि छि र दुर दुरको प्रेसर थाम्न नसकेर मुखियाले कालीगण्डकीमा हाम फालेर आत्महत्या गरे ।
बलात्कृत संविधानसभामा
आज संविधानसभा तुलसादेवीजस्तै वलात्कृत भएको छ । त्यसको मुल्य मान्यतामा जवरजस्ती धावा बोलिएको अवस्था छ । मुखिया साहुले श्रीमती पाउन जबरजस्ती सिन्दुर हालेर अन्तिम अस्त्र प्रयोग गरेजस्तै सभामुखले पनि जबरजस्ती एकलौटी घोषणा गरेर बैधानिकता पाएको भन्ने कुरा एउटै हो ।
परिवर्तनका विरोधीहरुको मतियार सभामुख भएका छन । अनि भन्छन् । प्रस्ताव पास भैसक्यो-भैसक्यो । अब यसैलाई मानेर सहमति गर्नुपर्छ ।
सभाअध्यक्षजस्तो साझा र सम्मानित तटस्थ पदलाई सुवास नेम्वाङले दुरुपयोग गरे । उनी कांग्रेस र एमालेको मतियार बने । सहमतिको धज्जी उडाए ।
संविधानका विवादित विषयमा प्रश्न बनाउनका लागि प्रश्नावली समितिको नाम प्रस्तावका लागि चिनकाजी श्रेष्ठलाई प्र्रस्ताव गर्न लगाउने र अग्नि खरेललाई समर्थन गर्न लगाउने आफ्नै कार्यसूचिको नियमसमेत मिचे ।
संविधान सभासँग अनुमति नलिइकन ४९ सभासदको नाम आफै घोषणा गरी ताली ठोक्न लगाए । प्रकृयाकै कुरा गर्ने हो भने पनि कुनै पनि प्रस्ताव पारित हुने वेलामा ६१ जना सभासदले उक्त प्रस्तावको विरोधगरेमा निर्णयार्थका लागि मतदान गर्ने कानुनी व्यवस्था छ । यहाँ त १ सय ५० भन्दा वढी सभासदले प्रस्ताव विरुद्ध नारा जुलुस लगाउँदा पनि जवरजस्त पारित भएको हवला दिएर बैठक सकियो ।
यो घटना संवैधानिक हिसावले ऐतिहासिक भूल भएको छ । यसकारण पनि भन्न सकिन्छ, सभामुखले संविधान सभाको बलात्कार गरे । यो घटनलाई यथास्थिति नवधनाढ्य वर्ग र प्रतिकृयावादीले हाइहाई गरेका होलान् । तर, उत्पीडित वर्ग-समुदयले धिक्कार गरेका छन् ।
चिनकाजी श्रेष्ठलाई रोष्टममा बोलाउँदा विपक्षीले सहमतिको माग गर्दै अवरोध गरे । तर, झुक्काएर वा जवरजस्ती रोष्टममा पुर्याइएर होहलाका वीच नामावली समिति प्रस्ताव गराउने र समर्थन गराउने कोसिस पनि भयो । प्रस्ताव पढ्ने मौका पाए जितिहाल्ने जस्तो हर्कत देखाए सभामुखले । संविधानसभामा प्रतिपक्षले नारा लगाए “नियम नमिच, सहमतिको बाटो रोज, निषेधको राजनीति नगर, द्वन्द्व ननिम्ताउ” इत्यादि भनेर विरोध गरेपछि चिनकाजी श्रेष्ठ रोष्टमामा जान सकेनन् । तर, सभामुखले आफै घोषणा गरेर लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाए ।
यस्तो हर्कत संविधानसभा त के, संसदमा पनि गर्न पाइँदैन । संविधानसभामा संसदको जस्तो गणितीय खेल गर्नु हुँदैन । आन्दोलनका उपलव्धि र परिवर्तनका मुद्दालाई संस्थागत गरी राजनैतिक र कानुनी दस्तावेज बनाउने साझा संस्था संविधानसभा हो । बहुमत आयो भन्दैमा परिवर्तनका ऐजेण्डा र विगतमा भए गरिएका सम्झौताहरुबाट पछि हटेर प्रतिगामी संविधान बनाउने अधिकार सत्ता पक्षलाई छैन । बहुमतवाट सरकार चलाउन, नियुक्ती, सरुवा बढुवा गर्न कसैले रोकेको छैन ।
सभाध्यक्ष संविधानसभामा रेफ्रीको भूमिकामा रहनुपर्छ । मत व्यक्त गर्नु परेमा शुरुमै भोट राख्ने अधिकार पनि तिनलाई छैन । बराबरी मत परेमा मात्र निणर्ायक मत दिने हो । यस्तो तटस्थ रहने पदलाई सत्तापक्षको उक्साहटमा लागेर नियम मिच्ने काम सभामुखबाटै हुन गएको छ । यो कुरा नसच्ााएसम्म माओवादी मोर्चा संविधान सभाको बैठकमा भाग लिनुको औचित्य छैन ।
मुखिया साहुको सिन्दुरको अन्तिम हतियारजस्तै सभामुखको घोषणालाई अन्तिम हतियार ठानेर बाजी मारेको गर्व गर्नुले त्यही सामन्तवादी समाजको झल्को दिइरहेको छ । सामन्तवादी समाजमा जवरजस्ती चल्दथ्यो होला तर, अहिलेको समय मुखिया साहुको जस्तो छैन । जनता आफ्नो अधिकारका लगि आफै बोल्न सक्छन् । विद्रोह गर्न सक्ने सामथ्र्य राख्छन् ।
जबरजस्ती प्रतिगामी हिसाबले घोषणा गरेर ताली ठोक्दैमा संविधान लागु हुनै सक्दैन । कार्यान्वयन हुन नसक्ने दस्तावेजको के अर्थ ? जवरजस्ती गरेमा भोलिको दिनमा मुलुक ‘डिस अर्डर’ तर्फ धकेलिन सक्छ । यसबाट उत्पन्न हुने परिणामको जवाफदेहिता संविधान सभालाई बलात्कार गरी एकलौटी सिंदुर हाल्ने सभामुख र सत्ताधारी कांग्रेस एमालेका राजनीतिक मुखिया साहुहरुले लिनुपर्दछ ।
(शर्मा एमाओवादीका काठमाडौ जिल्ला अध्यक्ष हुन्)