Comments Add Comment

कांग्रेस सभासद विमली कार्यकर्ताबाटै बहिस्कृत !

१६ माघ, काठमाडौं । नेपाली कांग्रेस तेह्रथुमका सभासद गणेश विमलीलाई कांग्रेसकै कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

निर्वाचन क्षेत्र भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत योजना छनौट सम्बन्धी छलफल गर्न विमली गृह जिल्ला पुगेका थिए ।

बिमलीले आफ्नो गल्ती नसच्याएकोले कार्यालय प्रवेश गर्न नदिएको नेपाल तरुण दल तेह्रथुम जिल्ला अध्यक्ष विपीन सुब्बाले बताए । विमली अझै नसच्चिए जिल्लामै प्रवेश गर्न नदिने सुब्बाले चेतावनी दिए ।

‘गलत हल्ला’

विमली समानुपातिक तर्फका सभासद हुन् । दोस्रो संविधानसभा निर्वाचनकोबेला पार्टीलाई अन्तरघात गरेको आरोप उनीमाथि लागेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै सभासद विमलीले भने आफूलाई जिल्ला पार्टी कार्यालय प्रवेशमा कसैले रोक नलगाएको दाबी गरे । ‘म कार्यकर्ताहरुको माझमै छु, जुन कार्यक्रमको लागि गएको थिएँ, त्यो कार्यक्रममा सहभागी पनि भएँ, कार्यालय प्रवेश गर्न नदिएको भन्ने कुरा सत्य होइन ।’

कांग्रेसलाई बदनाम गर्ने समूहले आफूलाई अभद्र व्यवहार गरेको उनले बताए । ‘प्रजातन्त्रमा विश्वास गर्ने निष्ठावान कांग्रेस कार्यकर्ताले कुकर्म गर्न सक्दैन, जसले गरे ति कांग्रेसलाई बदनाम गर्ने गिरोहहरु हुनसक्छन् ।’

विपी कोइरालालाई पनि विराटनगरमा प्लेन ल्याण्डिङ गर्न नदिइएको प्रसंग सुनाउँदै उनले आफूलाई भएको दुर्व्यवहार पनि सामान्य भएको धारणा राखे ।

‘सुशील कोइरालाबाट सफाइ’

सभासद विमलीले चुनावमा आफूले अन्तरघात गरेको र पार्टीले कारवाही गरेको भन्ने कुरा गलत भएकोले पार्टीले कारवाही नगर्ने बताए । पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले आफूमाथिको उजुरी फिर्ता हुने बताएको उनले जानकारी दिए ।

‘चार दिनअघि पार्टी सभापति ज्यूसँग मेरो भेट भएको थियो, उहाँले त्यो कार्यान्वयन नहुने बताउनु भएको छ, एकप्रकारले मैले सफाइ पाइसकेको छु,’ सभासद विमलीले अनलाइनखबरसँग भने ।

उनले पार्टी केन्द्रीय समिति भन्दा ठूलो अरु कुनै समिति नहुने भएकोले अनुशासन समितिको सिफारिस कार्यान्वयन नहुने बताए ।

आफू २०३४ सालदेखि पार्टीमा सक्रिय भएको भन्दै उनले भने-‘मैले कसरी पार्टीलाई अन्तरघात गर्नसक्छु ? यो सब बेतूकको कुरा हो ।’

उनले आफू माथिको भ्रम चिर्न केही दिन जिल्लामै बसेर कार्यकर्ता भेटघाट गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment