Comments Add Comment

आन्दोलन तय गर्न वैद्य माओवादी बैठक बोलायो

Mohan baidhya Kiran

१६ माघ, काठमाडौं । आन्दोलनका कार्यक्रम तय गर्न मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय बुद्धनगरमा शनिबारबाट सुरु हुने केन्द्रीय समितिको पूर्ण वैठकले पार्टीको भावी योजना तय गर्नुका साथै पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिनेछ ।

बैठकमा एमाओवादीसहितको मोर्चासँगको सहकार्यबारे छलफल हुनेछ । माघ ८ अघि एकठाउँमा उभिएका बैद्य र प्रचण्ड फेरि टाढिएका छन् ।

नेताहरुका अनुसार एमाओवादी मोर्चाले छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि बैद्य माओवादीले पनि छुट्टै कार्यक्रम ल्याउँदैछ ।

केन्द्रीय सदस्यबारे विवाद कायमै

तत्कालीन सचिव नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ४० प्रतिशत केन्द्रीय सदस्य लिएर अलग भएपछि बैद्य माओवादीले पदपूर्ति गरेको छैन ।

एक महिनाअघि भएको राष्ट्रिय भेलाले केन्द्रीय समितिमा रिक्त संख्यालाई पूर्ति गर्ने निर्णय गरेपनि केन्द्रीय सदस्य चुन्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । भेलाले यसअघि पार्टीमै रहेका वैकल्पिक केन्द्रीय सदस्यलाई पूर्ण केन्द्रीय सदस्यमा बढुवा गर्ने निर्णय समेत गरेको थियो ।

एक सय ५१ सदस्य केन्द्रीय समितिलाई पूर्णता दिनेबारेमा भने एक मत हुन नसकेको स्रोतले बताएको छ । एक सय ५१ केन्द्रीय समिति मध्ये विप्लवको बर्हिगमनपछि वैद्य माओवादीमा ८७ जना केन्द्रीय सदस्य बाँकी रहेका छन् ।

पार्टी विभाजनपछि ६४ जना केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने भएकाले विवाद कायमै रहेको एक नेताले बताए । केन्द्रीय सदस्यमा आफू नजिककालाई पार्न केन्द्रीय तहका नेताहरु कस्सिएकोले पनि विवाद हल गर्न सजिलो नभएको ती नेताले बताए ।

एमाओवादीसँगको विभाजनपछि पोखरा बैठकबाट केन्द्रीय समिति विस्तारमै विवाद भएको थियो । उक्त विवादले पार्टी विभाजनकै स्थितिमा पुर्याएकोले फेरि पनि केन्द्रीय समिति विस्तारले असन्तुष्टहरु विप्लवतिर जान सक्ने सम्भावना भएकाले तत्काल केन्द्रीय सदस्यमा बढुवा समस्या भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार केन्द्रीय समिति वैठकबाट दुई अंंक -९९ सदस्य) नबढाइए केन्द्रीय सदस्य विस्तार गर्न सक्ने सम्भावना बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment