Comments Add Comment

टिमुरे गाउँ: ‘दलाई लामा’ र ‘गोरा’को कब्जामा

योगेश ढकाल, (रसुवाबाट फर्केर)

Timure-gau-rasuwa-1
निक्कै तल भोटेकोशी देखिन्छ, लमतन्न परेको अजिंगरझै । मास्तिर फर्कियो, टोपी खस्ने अक्करको टुप्पो खिरिलो उत्तिस झैं उकालो । आँखाले भ्याउञ्जेलको डाँडो । यस्तै देखिन्थ्यो थुमन गाउँ छाडेपछिको दृश्य ।

आँत हरहर थियो पानीविना । भोकले तिरमिराएका थिए आँखा । पेटमा चारो परेकै थिएन । भएको एक लिटर पानी तुरिइसक्यो ७ बजेतिरै । शिथिल बन्दै थियो तन । त्यैपनि गाउँ पुग्ने छाँट थिएन । बाटो काट्नु नै थियो । गन्तव्य पुग्नभन्दा ज्यान बचाउनु मुख्य कुरो थियो । त्यसैले अक्करिलो भीरमा घिसि्रँदै थियौं हामी ।
सायद १० फिट हुँदो हो बाटो । थर्थरी काँप्थे पिडुँला । सुस्तरी हिडौँ भने पिडुँला काँपेर झाँक्रीझै शरीरै काप्नेे । रफ्तार बढाऔं, बाटै देखिन्न घाँसले छोपेर । म जत्रै अग्लो थियो खर बाटो छेउमा ।

यस्तै यात्रामा ६ घण्टापछि बल्ल भोटेकोशीको किनारमा ओर्लियौं । मुन्टो गाडेर पानी खाइयो भोटेकोशीमा । अलिकति सास आयो पानीले । अलिकति साहस थपियो सडक देखेर । ठाडो घाँटी लगाएर मास्तिर हेरें एकटकले फेरि आफू झरेको बाटोतिर । अघिभन्दा झन् पिडुँला काँप्न थाले खोला किनारमा उभिनै नसक्नेगरी ।
यही बाटो हो रे थुमन हुँदै टिमुरे निस्कने ‘तामाङ हेरिटेज ट्रेल ।’ गरिवी निवारणका लागि पर्यटन कार्यक्रमले प्रवर्द्धन गरेको टे्रल । यस्तो पनि टे्रकिङ टे्रल हुन्छ ?

छ्याङगै छ टिमुरे

टिमुरे गेष्टहाउस मध्यान्हबाटै रल्लिँदै थियो, चिनियाँ ब्रान्डमा । हुलका हुल रौसेहरुको भीडमा कोही थपिन्थे, कोही बाहिरिन्थे । रंगरौसका रुमानी सपनाहरु फैलिँदै थिए, चुरोटको धुँवासँगै ।

हुलमा भोटेकोशीको सुसाइजस्तो एक तमासको रौनक थिएन । भोटेकोशीको सुसाइ घरिघरि विरहलाग्दो धुनझै कानमा ठोक्किन आइपुग्थ्यो । अनि छिनमै हनिमून मनाउनै लागेका जोडीको प्रफुल्लित मनको संगीतझै बज्थ्यो ।

दुई बजेको हुनुपर्छ हामी टिमुरे गेष्टहाउस पुग्दा । ६ बजेतिर थुमनबाट टिमुरेका लागि बाटो लागेका थियौं । तल भोटेकोशी लमतन्न छ । भोटेकोशी मास्तिर रसुवागढी जाने मोटरबाटो छ । आडमा टिमुरे गाउँ ।

टिमुरेमा त्यस्तै ८० घरजति होलान् । झुरुप्प छन् घरहरु मौरीको चाकाजस्ता । वस्तीको वीचबाट ढल बगिरहेछ भोटेकोशीतिर । निकै कालो । गन्हाएर नाक थुन्नुपर्ने । ढलजस्तै गन्हाइरहने बाटो । अर्थात निकै फोहोर । सुग्घर नभएका घरहरु । बुढा रुखझैँ ढल्न लागेका ।

त्यैपनि आर्कषक लाग्ने थाङ्काको पुरानो कौशल देखिन्थ्यो झ्याल ढोकामा । ती घरजस्तै थियो बस्तीवीचमा गुम्बा । गुम्बा छेऊको छोर्तेन पनि सुग्घरकै पर्खाइमा थियो । मर्मतको प्रतिक्षामा थियो । नजिकैको बुढो घरले कतिबेला किच्ला भन्ने क्रासमा थियो त्यो छोर्तेन ।

गरिबी देखिन्छ झ्यालबाट छ्याङगै टिमुरेको । बोलिरहेछ चेहरा । छोर्तेन नजिकै भेटिएका एकजोडी बच्चाको आङमा प्रष्टै छ विपन्नताको प्रतीक । विपन्नताको मझेरीभित्र टिमुरेको छाती हरपल चिरिन्छ काँक्रोझै । फिरन्ते चिर्छन, विदेशी चिर्छन् प्रत्येक बिहानी र सम्साँझै प्रेमरुपी चक्कुले ।

अलिकति उवाँ फल्छ बारीमा । आलु र बोडी छाक टार्नलाई पुग्ने फल्दैन । उब्जनी नहुने कालो बलौटे माटो । करेशाबारीको एउटा गह्रो न छ, बारीका नाममा । भेडा, च्याँग्रा र चौंरी पनि अलि माथ्लो गाँउतिरमात्रै छन् ।

जोशिला युवाहरु ट्रेकिङमा जान्छन् गाइडभन्दा पनि भरिया बनेर । आयस्ता गतिलो हुन्न । दिन कटाउन र बेलुका जिऊ तताउनमात्रै पुग्छ ।

रसुवागढी नाकाबाट चिनियाँ सामान आउँछ सस्तोमा । नत्र जीवन धान्न धौधौ हुन्छ । विवशताको यही चेहरामा फिरन्ते र विदेशीहरु अनेक रंग कोरिदिन्छन् ।

लाग्छ, टिमुरे बिस्तारै टिमुरजस्तै आफै सुक्दैछ गरिबीले । राग गुमाउँदैछ पीडाले । पहिचान र अस्मिता पगालिँदैछ, विवशताको टेकोमा उभिएर । बाफिएको मनसँगै जिउँदो छ, टिमुरे रुमानी सपनामा तैरिएर ।

एकतमासका घरभित्र तिव्बती लवजका रैथानेहरुको कथा पढ्दा विरह लाग्छ । देख्दा रमाइलो । सुन्दा आश्चार्य ।Timure-gau-rasuwa-2

फिरन्तेका रंगिला रात
छेऊको हुल चिनियाँ ब्रान्ड र नेपाली टुबोर्गमा रमिरहेको थियो । चुरोटको धुवाँले कुहिरीमण्डल छ डाइनिङ हल । मस्तले रमाएकाहरुमा बोलीको बेठेगान छ ।

‘आजचाँहि लाग्नुपर्छ । बिल कति भयो ?’ हुलबाट एकजनाले साहुनीलाई सोध्यो । साहुनीको उत्तर आइसकेको थिएन । नेपाल प्रहरीको पोशाकमा एक जना शानले हुलमा मिसिन आइपुग्यो । तीनको साथमा थियो चिनियाँ ब्रान्ड । ‘पारिबाट हिजोमात्रै आएको कोशेली । अर्कोचाँहि हाकिमलाई काठमाडौं पठाइदिएँ । योचाँहि तपाईहरुका लागि ।’ बोतल मुसार्दै हुलको टेबुलमा टक्क्र्याए । बल्ल होटलतिरबाट जवाफ आयो ‘आज बसौं न, नानीहरु आउँदैछन् । बेलुका रमाइलो गरौँला नि ।’ चियर्समा झुम्मिएको टोलीले सायद सुनेन वा हेक्का राखेन । जवाफ आएन ।

‘जाडोमा एक्लै सुत्न जाऊँ भन्छौ, अनि कसरी मन मान्छ ?’ हुलबाट कसैले बोल्यो । ‘सँगै सुत्दिँन भनेको त छैन नि । आजचाँहि छुन पाइदैन है त हिजोजस्तो ?’ १९/२० बर्षजस्ती देखिने तरुनीले जवाफ दिइन् ।

टिमुरेमा प्रहरीभन्दा फिरन्तेको बोलबाला चल्दोरै’छ । नत्र फिरन्तेलाई प्रहरी भ्यानमा रसुवागढी भन्सारबाट चीन किन पठाउथे प्रहरी ? टिमुरेको प्रहरीको काम नै व्यापारीका दस्तालाई भन्सारमा सहयोग गर्नु रै’छ । अप्ठ्यारो परे प्रहरी भ्यानमा हालेर स्याफुबेंशी झार्ने । सजिलो परुन्जेल केरुङकै बसाइ मिलाइदिने ।
त्यति गरेपछि व्यापारीबाट नजराना त खातामै । प्रहरीभन्दा फिरन्ते बलियो हुनुमा व्यापारीबाट लिने पीसी अर्थात पर्सेन्ट कमिशनको कमाल जो कसैले देख्न सक्छ टिमुरेमा ।

पछि थाहा भो, फिरन्तेको टोली अर्थात त्यो हुल रसुवागढी-काठमाडौ चल्ने कन्टेनरका साहुले सामान सप्लाई गर्न पठाएको सुरक्षा दस्ता रहेछ । टिमुरेका होटल र गेष्टहाउस यस्तै दस्तामा झुम्मिने रै’छन् ।

‘सुरक्षा दस्ता’का साथमा जागिर खान पुगेका र रसुवागढी जलविद्य्त परियोजनाका जागिरेहरुको लस्कर थपिन्छ । कन्टेनरका चालक र सहचालकहरुको साथ त झनै सम्झन लायक हुन्छ । अनि रातहरु बन्न थाल्छन् रंगिला चिनियाँ ब्रान्डसँगै ।

रातमा जति शीतको थोपा तप्प-तप्प तपिन थाल्छ, टिमुरेका घर र गेष्टहाउसमा चुइँकिन थाल्छन् रसिला प्रहरहरु ।

Timure-gau-rasuwa-3

कथा डिर्भोसको

सुन्नलाई थुमनबाटै सुन्न थालेको हो, टिमुरेको डिभोर्स कहानी । दिन ढल्दै थियो । पर्दाहरु खुल्न थाले एकपछि अर्को । गेष्ट हाउसहरु हाउसफुल हुन थाले फिरन्तेहरुबाट ।

स्थानीयदेखि विदेशी ब्रान्डहरु तोडिन थाले औकातअनुसार । अनि सुरु हुन थाल्यो रौनक ।

टिमुरेमा किन पारपाचुके बढी हुन्छ ? पहिला एकदेखि दुईवटा बच्चा हुञ्जेल टिक्थ्यो सम्बन्ध । अहिले ६ महिना टिक्नै धौ धौ ।

यात्रामा मित्र सिङ्गीले अस्तिदेखि भन्दै थिए । सिङ्गी स्यार्फुवेंशीका रैथाने । टिमुरे उनका लागि पानी पधेँरो । घेवा, ल्होसार सप्पैमा आउने जाने हुन्छ । टाढा पनि होइन, मात्र २० मिनेट हो मोटरबाइकमा स्यार्पुवेँशी र टिमुरे ।

‘किन यस्तो होला ?’ नेपाली समाजको बनोट, सम्बन्ध, संस्कृति कता जाँदैछ ?

मध्यन्हतिरैबाट रौसिनेहरु मध्यरातसम्मै झुम्मिन्छन् गेष्टहाउसमा । ‘रक्सी सकिसक्यो, सुत्न जाने होइन ?’ होटलमा देखिएकी एक तरुनीले हुलमा रौसिनेलाई सोधिन् । रातको ९ बजिसकेको थियो । भोटेकोशीतिरबाट सिरेटो नीलकाँडाझै आइरहन्थ्यो मुटु काम्ने गरी । शीत पर्न थालेको थियो बाहिर तप्प तप्प ।

पातलो सर्टमै रल्लिरहेका थिए फिरन्तेहरु मध्यरातसम्म । ‘जाडोमा एक्लै सुत्न जाऊँ भन्छौ, अनि कसरी मन मान्छ ?’ हुलबाट कसैले बोल्यो । ‘सँगै सुत्दिँन भनेको त छैन नि । आजचाँहि छुन पाइदैन है त हिजोजस्तो ?’ १९/२० बर्षजस्ती देखिने तरुनीले जवाफ दिइन् ।

काठमाडौ, नुवाकोट र रसुवाका तल्लो फाँटबाट पुगेका फिरन्तेहरु टिमुरेका तरुनीसँग रौसिने योजनामै हुन्छन् हर रात । साथमा थपिन्छन् जागिरेहरु ।

टिमुरे त्यसै पनि मातृसत्ता जस्तो । यौनमा अलिक खुला । सायद फिरन्ते र जागिरेहरुलाई त्यही मज्जा लुट्नु छ ।

निमा(नाम परिवर्तन) सानैदेखि भारतमा दलाई लामाको धर्मशालामा बसेकी । केही समय भयो टिमुरे आएकी । सानोतिनो व्यापार थियो धर्मशालामा निमाको । उतै बिहे पनि गरिन् ६ महिना पहिला । हातमा व्यापार छैन अहिले । साथमा श्रीमान पनि छैनन् ।

टिमुरेमा एक्लो जीवन धान्दैछिन् । टिमुरे गेष्ट हाउसभन्दा तलतिरको घरमा भेटिएकी निमा लोकलसँगै रम्न थालेकी थिइन् सम्साँझै । उनलाई साथ दिने फिरन्तेहरुको हुल थियो पाँच जना जतिको । सँगै तीन जना अधबैंशे महिला । डिर्भोस भएको सबै महिलाको ।

छिरिङ (नाम परिर्वतन) तीन महिना जर्मनी घुमेर फर्केकी । जर्मनीको स्टुटगार्ड सहरको एक व्यापारीको प्रायोजनमा । पूर्वश्रीमान् टिमुरेमै छन् । रसुवा गढी टिमुरेमा चाइनिज सामान आपूर्तिको सानोतिनो काम गर्छन् जीविकाका लागि । तर, निमा र छिरिङ तिनै फिरन्तेसँग बिताउँदै छन् त्यो रात ।

टिमुरेका प्रत्येकजसो घरबाट पुगेका छन् भारतको धर्मशाला । भेटेका छन् विदेशी स्पोन्सर । अनि वेवास्ता छ घरको ।

स्वास्नीलाई लाग्छ, स्पोन्सर छँदैछ, किन लोग्नेसँगै बस्नु पर्‍यो कमाइ छैन भनेर । लोग्ने ठान्छन् स्वास्नीभन्दा तरुनी भेटेकै छ, किन सँगै बस्नुपर्‍यो ?

प्रत्येक विवाहित महिलालाई लागेको छ, डिर्भोस भए पनि बच्चा खैरेले स्पोन्सर गर्दिहाल्छ, के को डर ?

स्थानीय पासाङको भनाइमा अधिकांश विवाहित जोडीको डिर्भोस छ । धर्मशाला पुगेका हुन् या टिमुरेमै रहेका । सबैको ।

चाहे काठमाडौ, विदुर, धुन्चे, स्यार्फुबेंसी नै झरेका किन नहुन् । आजभोलि जोडी टिक्नेमा ५० बर्ष कटेका बुढाबुढीमात्रै भेटिन्छन् ।

टिमुरेको पानी पिएका अधिकांश महिलाको डिर्भोस भएको छ । र, दोस्रो बिहे पनि भएको छैन । त्यै पनि टिकेकै छन् । जीवन धानेकै छन् । बाहिरी हाँसोमा फुर्का भरेकै छन् ।

आजकल टिमुरे डिर्भोस गाउँले कहलिएको रै’छ, स्यार्फुबेंसी, धुन्चे, ब्रिदिमदेखि लाङटाङ, क्यान्जिनरी गुम्पासम्म ।

गरिबीमा खेल्छन् विदेशीTimure-gau-rasuwa-4
स्पोन्सर अर्थात प्रायोजक । टिमुरेमा चल्तीको शब्द दशक अघिदेखिको हो । दक्षिणको स्यार्फुबेंसीदेखि नजिकै । उत्तरको रसुवागढी नाकाबाट पनि नजिक । वीचको गाउँ हो टिमुरे । तिब्बत छिर्न सजिलो छ ।

सायद, यही ठानेर होला, युरोपियन र अमेरिकनहरु टिमुरेका प्रत्येक घरमा छिरेका छन् प्रायोजकको भेषमा । दानी भगवान बनेर । हरेकका छोराछोरीलाई काठमाडौका महंगा स्कूलदेखि युरोपसम्म पुरयाएका छन् उनीहरुले । प्रशिक्षित गराउँछन् तिनलाई स्वतन्त्र तिव्बतबारे ।

भारतको धर्मशाला लगिन्छ उनीहरुलाई दलाई लामा आश्रममा । बच्चाबच्चीलाई पढाउन खर्च व्यहोरिदिन्छन् उतैबाट । बुढाबुढीलाई खर्च पठाइदिन्छन् ।
धर्मशालामा दलाई लामाका ‘प्रधानमन्त्री’ डक्टर लोप्साङ साङ्गे लामाका भान्छे छन् एकजना । पेमा ३० बर्षदेखि धर्मशालामै छिन् । पेमाको पनि धर्मशालामा डिर्भोस भइसक्यो । पेमाका पनि जर्मन स्पोन्सर छन् ।

पेमाकी दिदीको घर टिमुरेमै छ । तिनकी दिदीले भोटे चिया खुवाइन् हामीलाई । उनैले कहिन् पेमाको डिर्भोस कथा । चिनियाँ कफीको सुरमा पासाङ (नाम परिवर्तन) ले कथा भन्दै रहिन् डिर्भोसको ।

यी डिर्भोस भएका सबैका विदेशी स्पोन्सर छन् । कसैका एकजना कसैका पाँच जनासम्म । अनि लोग्ने किन चाहियो ? पैसा स्पोन्सरले दिइहाल्छन् । रंगरौस गर्जो टरेकै छ । त्यसैले टिमुरे विस्तारै प्रायोजकको खेलौना गाउँ बन्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment