Comments Add Comment

क्यासिनोमा तीन अर्ब लगानी भित्र्याउँदै भारतीय कम्पनी

casino (1)
१७ माघ, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका क्यासिनो नवीकरण गर्न आनकानी गरी बन्द गरेर बसेकै बेला भारतीय कम्पनीले क्यासिनोमा ठूलो लगानी भित्र्याउन लागेको छ ।

भारतको पर्यटकीय गन्तव्य गोवामा क्यासिनो साम्राज्य खडा गरेको डेल्टा कर्पोरेशनले काठमाडौं बाहिर क्यासिनो हब बनाउने गरी तीन अर्ब लगानी गर्न लागेको हो ।

डेल्टा कम्पनीले भेगास सिटी इन्टरनेशनल नाममा उद्योग विभागमा दर्ता गरी प्रकृया अगाडि बढाइसकेको छ ।

क्यासिनो हब खोल्नका लागि पर्यटन विभागबाट लाइसेन्स लिने प्रकृयामा रहेको भेगास सिटी इन्टरनेशनका अध्यक्ष बलराम सापकोटाले बताए । सरकारले क्यासिनोलाई उद्योगसरहको मान्यता दिने निर्णय गरिसकेको छ । मुलुकमा क्यासिनो व्यवसाय सञ्चालनमा आएको ४७ वर्षपछि उद्योगसरहको मान्यता पाउन लागेको हो ।

राष्ट्रिय उद्योगसरहको मान्यता दिइने निर्णयले यसमा लगानी गर्न चाहाने लगानीकर्तालाई थप बाटो खुला गरिदिएको छ । विश्वका धनाढ्य पर्यटक भित्राउन सकिने सम्भावना रहेको हुँदा नेपालमा क्यासिनो मनग्गे कमाउन सकिने व्यवसाय बन्ने निश्चित छ ।

क्यासिनो व्यवसायबाट मनग्ये कमाइ भइरहे पनि सञ्चालनमा रहेका क्यासिनोहरु भने गत बैशाखदेखि बन्द अवस्थामा रहेका छन् । गत वर्षदेखि लागू गरिएको क्यासिनो नियमावली ०७० अनुसार नवीकरण गर्न आनकानी गरेपछि सरकारले सञ्चालनमा रहेका १० वटै क्यासिनो बन्द गराएको हो ।

अहिलेसम्म कुनै क्यासिनो सञ्चालनमा आउन सकेका छैनन् । क्यासिनो सांग्रिलाले भने पछिल्लो समय सरकारलाई पुरानो सबै बक्यौता रकम तिरेर नयाँ नियमावलीअनुसार सञ्चालनका लागि प्रकृया अगाडि बढाइसकेको छ । रोयल क्यासिनो सर्वोच्च अदालतको स्टे अर्डर आएको भन्दै चलाउन थालिएको छ ।

सञ्चालनमा रहेका क्यासिनोहरुले नियमावली मान्न अटेर गरे पनि नयाँ लगानीकर्तालाई भने उक्त नियमावलीले लगानीको ढोका खोलिदिएको छ ।

नियमावलीमा नयाँ व्यवस्था
casino (3)नयाँ नियमावलीमा क्यासिनोमा ठूला लगानीकर्ता आकषिर्त गर्न सरकारले क्यासिनो सञ्चालनका लागि होटल हुनैपर्ने प्रावधान हटाएको छ ।

अब जुनसुकै स्थानमा लगानी गरेको क्यासिनो सञ्चालन गर्न सकिने भएको छ । यही अवसरको सदुपयोग गर्दै डेल्टा कर्पोरेशनले क्यासिनो हबमा लगानी गर्न तम्सिएको हो । पर्यटन विभागबाट लाइसेन्स पाउने वित्तिकै संरचना निर्माणमा लाग्ने कम्पनीले जानकारी दिएको छ ।

भेगास सिटीका अध्यक्ष सापकोटाका अनुसार वाषिर्क दुई लाख जनालाई खेलाउने क्षमताको पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको छ ।

चीनबाट क्यासिनोका सबै आवश्यक पूर्वाधारहरु रेडिमेड ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले क्यासिनोको उक्त पूर्वाधार फोल्डिङ गरेर ल्याउने र यहाँ ल्याएर जोड्ने बताए ।

क्यासिनो नियामावलीमा भएको नाफाको २५ प्रतिशत सरकारलाई बुझाउनुपर्ने प्रावधानप्रति भने डेल्टाले प्रश्न गरेको सापकोटाको भनाइ छ । ‘प्रत्येक दिन खेल्न आउनेहरुबाट लगानीकर्ताले जितेको हुन्छ वा खेल्नेले पनि जितेको हुन्छ, त्यसबाट २५ प्रतिशत कसरी दिन सकिन्छ ?’ डेल्टाको प्रश्न छ ।

वर्षमा ३ करोड रोयल्टी बुझाएपछि प्रत्येक दिनको नाफाबाट २५ प्रतिशत बुझाउनुपर्ने प्रावधानले अप्ठ्यारो पारेको डेल्टाले गुनासो छ । क्यासिनो व्यवसायीहरुबाट धेरै गुनासा आएपछि सरकारले पनि बाझिएका प्रावधानलाई हटाएर नियमावली संसोधन गर्ने तयारी गरिरहेको छ ।

क्यासिनोले विकास गर्ने दाबी
डेल्टाले भारतको गोवामा क्यासिनो हव बनाई गेमिङ जोन चलाइरहेको छ । जहाँ बर्षेनी हजारौं स्वदेशी तथा विदेशीहरु क्यासिनो खेल्न पुग्छन् । त्यही क्यासिनो हबका कारण गोवाको कायापलट भएको क्यासिनो व्यवसायीको तर्क छ ।

नेपालमा डेल्टाको प्रवेशसँगै यहाँको पर्यटनमा सकरात्मक सुधार आउने अपेक्षा गरिएको छ । डेल्टाले क्यासिनो खोल्नुपूर्व दैनिक ४ वटा उडान हुने गोवामा अहिले ३७ वटा उडान हुन थालेका छन् ।

नेपालमा क्यासिनो हब खोलेपछि क्यासिनो पारखीहरु नेपाल आउने सम्भवना रहने सापकोटाले बताए । ‘क्यासिनो खेल्नका लागि गोवा पुग्ने पर्यटकहरु नेपालमा पनि क्यासिनो खेल्न आउनेछन्’ उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment