Comments Add Comment

प्लटिङले पानीका मुहान संकटमा

१८ माघ, काठमाडौं । कीर्तिपुरको सिम झवा: हिति खानेपानी मुहाननजिकै धनीले गरेको जग्गा प्लटिङका कारण मुहान सुक्दै गएको छ। जग्गाधनी विनोद तामाङले आफूखुसी करिब १० रोपनी जग्गामा प्लटिङ सुरु गरेका छन्।

plotting

सिम झवा: हिति खानेपानी मुहान उपभोक्ता समितिका अध्यक्ष डा. चन्द्रमान बज्राचार्यका अनुसार तामाङले सम्बन्धित निकायको स्वीकृतिबिना सिम क्षेत्रको बोसन खोला सिमानामा पर्खाल लगाएर घडेरीका लागि जग्गा प्लटिङ थालेका छन्। प्लटिङका कारण मुहानमा पानी लिन जान पनि अवरोध भएको अन्नपूर्ण पोस्टमा खबर छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले कीर्तिपुरबासीलाई खानेपानीको समस्या हुन नदिन सिम क्षेत्रमा डेढ दर्जनभन्दा बढी इनार निर्माण गर्ने योजना अघि बढाएको छ।

ती इनारमा सिमबाट पानी संकलन गरेर रिजर्भ वायरमार्फत दुई हजार घरपरिवारलाई खानेपानी वितरण गर्ने योजना केयूकेएलले अघि बढाइरहेका बेला मुहाननजिकै प्लटिङ गरिँदा बाधा उत्पन्न भएको छ। सिम क्षेत्रको मुहानबाट दैनिक २० लाख लिटर पानी संकलन गर्ने लक्ष्य रहेको केयूकेएलबाट इनार बनाउन ठेक्का पाएको कृष्ण इन्जिनियरिङ हेल्पिङ हेन्डका अध्यक्ष हरि ढकालले बताए।

मुहाननजिकै प्लटिङ गर्न थालिएपछि उपभोक्ता समितिले कीर्तिपुर नगरपालिकामा तत्काल उक्त कार्य रोक्न निवेदन दिएको थियो। स्वीकृतबेगर सुरु गरिएको जग्गा प्लटिङबाट उक्त मुहानलाई हुनसक्ने नोक्सानीबारे नगरापालिकाले मुहान क्षेत्र रहेको वडा नम्बर ७ को कार्यालय तथा केयूकेएलको स्थानीय शाखालाई पत्राचार गरेको थियो। स्थलगत अध्ययनपछि ती दुवै निकायले नगरपालिकालाई एकआपसमा बाझिने खालका फरकफरक प्रतिवेदन बुझाएका छन्।

वडा कार्यालयका सचिव रमेश नेपालले स्थानीय निकायसँग स्वीकृति नलिई जग्गा प्लटिङ भइरहेको मौखिक रूपमा स्वीकारे पनि उनले माघ १२ मा नगरपालिकालाई बुझाएको प्रतिवेदनमा त्यसबारे केही उल्लेख छैन। उनको प्रतिवेदनमा ‘जग्गाधनी तामाङले सिम क्षेत्रको बोसन खोला सिमानामा पर्खाल लगाएर करिब १० रोपनी जग्गामा प्लटिङ गरे पनि त्यसबाट सिमको मुहानमा कुनै पनि प्रकारको प्रत्यक्ष असर नपर्ने’ उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment