Comments Add Comment

सातहजार भारतीय कामदार इटा उद्योगमा

१८ माघ, मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा पर्ने एक मात्र इँटा उद्योग बगाले थापा इँटा उद्योगले वार्षिक एक सय ५० देखि दुर्इसय भारतीय कामदार ल्याउने गरेको छ ।

सो उद्योगका व्यवस्थापक मोतीबुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो । कामदार राजकुमारी थारूले एक इँटा बनाएबापत ५० पैसा पारिश्रमिक पाउँछन् । उनले दैनिक दुई हजार पाँच सयदेखि तीन हजार इँटा बनाउने गरेका छन् । जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा रहेको उनले बताए ।

नेपालमा आएर सात महिनाको कमाइले वर्षभरिलाई खान र बस्न पुर्याउनुपर्ने उनीहरुको बाध्यता छ । थारूकै जिल्लाबाट आएका देवासी राया, जितेन ब्राह्मण, श्याम भुलेयालगायत अन्य थुप्रैको परिवार पाँच वर्षदेखि यस उद्योगमा निर्भर बनेको छ । उनीहरुमध्येका ज्येष्ठ सदस्य ५५ वर्षीय जितेन ब्राह्मणले काम गरेको दुई दशक भएको छ । यो सातमहिने समयावधिमा खर्च कटाएर एक व्यक्तिले करिब ६५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको ब्राह्मण बताउँछन् ।
स्वदेशमा काम भएन भन्दै बिलौना गाउने बिदेसिरहेका छन् भने नेपालका उद्योगमा दिनानुदिन श्रम गर्न बिदेसिनेका लागि जितेन, राजकुमारीजस्ता अन्य धेरै भारतीय प्रेरणाको स्रोत बन्न सक्ने स्थानीयवासीको भनाइ छ । स्वदेशमा श्रम गर्न लजाउने र विदेशमा सोही काम मन लगाएर गर्नेहरुका लागि यो गतिलो उदाहरण हुनेमा दुई मत छैन । स्वदेशमै रोजगारीको सम्भावना हुँदाहुँदै बिदेसिनेले यस कुरामा ध्यान दिनु जरुरी रहेको उर्लाबारीका पारस पौडेलले बताए ।

उनले भने-‘म पनि कुनै बेला बिदेसिएको एक नेपाली हुँ तर आज आफ्नै देशमा आफ्नै काम गरिरहेको छु ।’ कोसी अञ्चलमा ४५ इँटा उद्योग सञ्चालित छन् । ती उद्योगमा काम गर्न सात हजार मजदुर प्रयोग गरिरहेको कोसी इँटा व्यवसायी सङ्घले जनाएको छ । सङ्घले भारतीय कामदार लिन गएको नभई उनीहरु आफैं आएको जिकिर गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment