Comments Add Comment

गच्छदारको कित्ता छुट्याउन मधेसी मोर्चाको बैठक

१८ माघ, काठमाडौं । आन्दोलन र मुठभेड रोक्न सम्वादको सूत्रधार बन्ने दाबी गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक बिजय गच्छदारलाई उनकै मोर्चाभित्रबाट कित्ता क्लियर गर्न दबाब परेको छ ।

फाइल फोटो
फाइल फोटो

गच्छदारले आन्दोलनको साटो सहमतिको प्रयास थालेपछि मधेसी मोर्चामा स्पष्ट दुई धाँजा देखिएको छ । मोर्चाको आज बस्ने बैठकमा गच्छदारलाई कित्ता स्पष्ट पार्न दबाब दिइने एक नेताले बताए ।

मधेसी मोर्चाको रणनीतिक बैठक आइतबार अपरान्ह सदभावना पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा गच्छदारलाई आफ्नो बाटो प्रष्ट पार्न आग्रह गरिने सदभावनाका महासचिव मनिष सुमनले बताए ।

‘मधेसी मोर्चाको लाइन भनेको निर्णायक आन्दोलनबाट मधेस स्वायत्त प्रदेशसहितको संघीय संविधान जारी गराउने हो’ सुमनले भने ‘यसबारेमा गच्छदारजीले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ’ ।

स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावनाका अध्यक्ष राजेन्द्र महतो सत्तापक्षसँग सम्झौताहीन आन्दोलन गर्नुपर्ने पक्षमा छन् ।

मधेसी मोर्चाभित्रको सबैभन्दा ठूलो दलका हैसियतमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मोर्चाको संयोजकको जिम्मेवारी पाइरहेका छन् । तर, गच्छदार पछिल्लो समय कांग्रेस एमालेसँग निकट बनेको आरोप मोर्चाभित्रैबाट लागेको छ ।

तर, फोरम लोकतान्त्रिकका महासचिव रामनजनम चौधरीले भने गच्छदारले मुलुकलाई मूठभेड र गृहयुद्धमा जानबाट रोक्न जिम्मेवार नेताको भूमिका निर्वाह गर्न खोज्दा मोर्चाभित्रैबाट षडयन्त्र भइरहेको बताएका छन् ।

‘बिजय दाइले सहमतिका लागि सबैलाई मान्य हुने विकल्प ल्याउँदा मधेसी मोर्चाभित्रैबाट प्रचण्डलाई दबाब दिएर असफल बनाइयो’ चौधरीले भने ‘गृहयुद्ध रोक्न उहाँले वार्ताको कुरा गर्दा अनेक आरोप लगाउन थालिएको छ’ ।

मधेसी मोर्चामा आबद्ध दलहरुभित्रै दुई धार देखिएको छ । उपेन्द्र यादव र राजेन्द्र महताको पार्टी आन्दोलनको पक्षमा एकढिक्का छन् । तर महन्थ ठाकुरको तमलोपामा हृदयेश त्रिपाठीहरु आन्दोलनको पक्षमा छन् भने सर्वेन्द्रनाथ शुक्लहरु आन्दोलनको विपक्षमा छन् ।

त्यस्तै शरदसिंह भण्डारीको मधेस समाजवादी पार्टी र अनिल झाको संघीय सदभावना पार्टीले गच्छदारलाई साथ दिएका छन् । गच्छदारकै पार्टीभित्र बरिष्ठ उपाध्यक्ष रामेश्वर राय र महासचिव जितेन्द्र देव भने आन्दोलनको पक्षमा कडा भएर प्रस्तुत हुँदैछन् ।

गच्छदारले यसबीचमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओलीसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् । जसलाई मोर्चाभित्रैबाट आपत्तिको विषय बनाइएको छ ।

आजको बैठकमा गच्छदारको भूमिकाबारे छलफल हुने र मोर्चामा रहने वा नरहने उनले व्यवहारबाटै पुष्टि गर्नुपर्ने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment