Comments Add Comment

एसएलसी तयारीले भ्याइ नभ्याइ

slc1

आरपी सुवेदी

१८ माघ, नेपालगन्ज । बाँके बैजापुर-१ नवलपुरकी सपना चौधरीको आजभोलि निकै व्यस्तता बढेको छ । किताब कापिसँग खाना बोकेर उनी विद्यालय जान्छिन् र दिनभर साथीहरुसँग बसेर पढ्छिन् । शिक्षक तथा साथीहरुबाट नजानेका कुरा सिक्छिन्, आफूले जानेका कुरा साथीहरुलाई सिकाउँछिन् । यसो गर्दा गर्दै दिन बित्छ उनको ।
सपना जस्तै बैसागाउँकी लक्ष्मी चौधरी पनि निकै व्यस्त छिन् । उनीहरु बेफुर्सदिलो हुनुको कारण हो नजिकिदो एसएलसी परीक्षा ।

बाँकेको अगैयास्थित नेपाल राष्ट्रिय माद्यमिक विद्यालयबाट सपना र लक्ष्मीजस्तै ३० जना विद्यार्थी यसपालिको एसएसली परीक्षामा सहभागी हुँदैछन् । ति सबैजना गत कात्तिक महिनादेखि नै विद्यालयमै बसेर एसएलसीको तयारी गरिरहेका छन् । उनीहरु सामुहिक रुपमा बसेर पढ्छन्, शिक्षकहरुबाट सिक्छन् र आ-आफ्नो पालो अनुसार खाना-नास्ता पकाउँछन् ।

विद्यालयको छतमा घाम तापेर पढिरहेको अवस्थामा भेटिएकी सपनाले राम्रो नम्बर ल्याएर पास हुने लक्ष्य रहेको सुनाइन् । ‘राम्रो नतिजा ल्याउन सके हामी भन्दा पछि पढ्ने भाइबहिनीलाई सुविधा होला भनेर मिहिनेत गरिरहेका छौं ।’ slc

प्रावि तहको दरबन्दीमात्रै स्वीकृत भएको सो विद्यालयले सामुदायिक बन तथा अन्य निकायको सहयोगमा मावि तहको कक्षा सञ्चालन गरेको छ । यसपालीको एसएलसी परीक्षामा राम्रो नतिजा ल्याएर मावि तहको दरबन्दी स्वीकृत गराउने विद्यालयको योजना छ ।

त्यही उद्देश्यले दशैं, तिहार लगत्तैदेखि विद्यार्थीहरुलाई आवासीय रुपमा पढाउँदै आएको प्रधानाध्यापक ओमप्रकाश थापाले बताए । उनले भने, ‘विद्यालयमा मावि र निमाविको दरबन्दी छैन हामी प्रावि तहकाले नै पढाउँदै आएका छौं, पहिलो पटकमै राम्रो नतिजा ल्याएर सम्वन्धित निकायको ध्यान तान्ने उद्देश्य छ ।’

घरमा बस्दा घरायसी कामले पढ्ने वातावरण नहुने र विजुलि बत्तिको पनि सुविधा नहुने भएकोले विद्यार्थीहरु आवासीय पढाइबाट सन्तुष्ट छन् । ‘घरमा काम भैरहन्छ, पढ्न पाईंदैन, त्यही भएर स्कूलमा बसेर पढ्छौं,’ दिलिप बुढामगरले भने ।

विद्यालयले नजिकै घर भएकालाई पनि विद्यालयमै बसेर पढ्नु पर्ने बाध्यात्मक नियम बनाइएको छ । विद्यार्थीहरुलाई पढाउन तीनजना शिक्षक खटिएका छन् । पढेवाफत् विद्यार्थीहरुले कुनै शुल्क तिर्नुपर्दैन । तर, विजुली र पानी प्रयोग गरेवाफत केही शुल्क लिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment