Comments Add Comment

ग्यास उद्योगी भन्छन्-२ महिना पछि सहज

ध्रुव भट्टराई
१८ माघ, विराटनगर । आयल निगमले माग भन्दा झण्डै दोब्बर बढी ग्यास बजार पठाएको दावी गरेपनि पूर्वी नेपालमा खाना पकाउने ग्यासको अभाव भने कायम छ । उद्योगीहरुले कोटा अनुसारको ग्यास नआएकोले अवस्था सहज हुन कम्तिमा दुई महिना लाग्ने बताउँछन् ।
Koshi-Gas

पूर्वी नेपालमा मासिक ३ हजार ८ सय टन ग्यासको माग छ । तर, यो महिनामात्र ५ हजार ४ सय मेटि्रक टन ग्यास बजार पठाइएको आयल निगम क्षेत्रीय कार्यालय विराटनगरको तथ्यांकमा उल्लेख छ ।

निगमको क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख भुवनराज रेग्मीले पूर्वी नेपालमा माग अनुपातमा ग्यास बढी परिमाणमा पठाए पनि अभाव कायम रहनुलाई आश्चर्य भने । ‘के कारण बजारमा अभाव भएको हो म आफै आश्र्चमा परेको छु,’ रेग्मीले भने, ‘कारण पत्ता लगाएर समस्या समाधान गर्छौं ।’

कोशी र मेची अञ्चलमा ८ वटा ग्यास उद्योग छन् । तर पनि बजारमा अभाव हुनुमा उद्योगी र डिलरको समन्वयको अभाव हुनसक्ने उनको अनुमान छ ।

निगमको तथ्यांक अनुसार मंसिर महिनामा ३ हजार ९ सय २१ मेट्रिक टन ग्यासको कोटामा थप २ हजार ८ सय १८ मेट्रिक टन आयात भएको थियो । त्यसैगरी पुस महिनामा ४ हजार ३ सय ५६ मेट्रिक टन ग्यास आयात भएको थियो । माघ महिनामा भने साविकको महिना भन्दा ७ सय ४८ मेट्रिक टन कोटा थप गरिएको छ । तर, उपभोक्ता मंसिर महिनादेखि हालसम्म पनि एक सिलिण्डर ग्यासका लागि घण्टौं लाइन बस्न बाध्य छन् ।

भारतको बरौनीस्थित डिपो मर्मतका कारण बन्द हुँदा कोटा अनुसारको ग्यास नेपाल आयात नहुँदा अभाव भएको निगमको दावी छ । यद्यपी हाल बरौनी डिपो सन्चालनमा आएर माग भन्दा झण्डै दोब्बर अनुपातमा ग्यास आयात भैरहेको छ । उद्योगीलाई पनि ग्यासको कोटा थप गरिएको छ ।

तर, पूर्वमा बढी प्रयोगमा आउने कोसी, सुविधा, रिजाल कम्पनीका ग्यास उद्योगले आयल निगमबाट मागअनुसारको ग्यास नपाएको बताउदै आएका छन् ।

आयल निगमले उद्योगलाई कोटा नबढाउँदा र मागअनुसार आपूर्ति नगर्दा अभाव भएको कोशी ग्यास प्रालिका म्यानेजर सचित उपाध्यायले बताए । उनले भने, ‘निगमले ग्यासको कोटा बृद्धि गरे पनि लामो समयदेखि ग्यासको अभाव छ, बजार सहज हुन कम्तिमा अझै दुई महिना लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment