Comments Add Comment

कमल थापाको विश्लेषण : चैतमा डरलाग्दो स्थिति आउन सक्छ

२३ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चैतमा काठमाडौंमा डरलाग्दो स्थिति आउन सक्ने राजनीतिक विश्लेषण गरेका छन् ।

एमाओवादी मोर्चाले राजधानीमा ३०/४० हजार कार्यकर्ता उतारेर सिंहदरबार छिर्न सक्ने भन्दै थापाले त्यसबेला उनीहरुमाथि गोली हान्न नमिल्ने बताए ।

जनआन्दोलन ०६२/०६३ मा गृहमन्त्रालय सम्हालेको अनुभवका आधारमा थापाले अनलाइनखबरसँग भने- ‘एमाओवादी र मधेसवादी दलसँग देशभरिबाट ३०/४० हजार कार्यकर्ता काठमाडौं ल्याउन सक्ने क्षमता छ । उनीहरु सिंहदरबार, संविधानसभामा छिर्न खोजे भने गोली हान्न मिल्दैन ।’

माओवादीले भरुवा बन्दुकबाट जनयुद्ध सुरु गरेर यहाँसम्म आइपुगेको भन्दै थापाले यो कुरा नबिर्सन कांग्रेस र एमालेलाई आग्रहसमेत गरे ।

पछिल्लोे राजनीतिक घटनाक्रमबारे थापाको राजनीतिक विश्लेषण उनकै शब्दमा : 

kamal thapa
म एउटा कुरा टड्कारोरुपमा के देखिरहेको छु भने कांग्रेस र एमालेको अदुरदर्शिता, स्वेच्छाचारिता र दम्भका कारण फेरिपटक प्रजातन्त्र ध्वस्त हुने हो कि ? मैले यस्तो सम्भावनाका संकेतहरु प्रष्ट देखेको छु ।

तीनवटा परिस्थिति

पछिल्लो केही महिना यताका तीनवटा घटनालाई म बडो सुक्ष्म ढंगले विश्लेषण गरिरहेको छु ।

पहिलो- माओवादी, मधेसवादी दलको मोर्चा र कांग्रेस र एमालेको सत्तारुढ गठवन्धनको बीचमा संविधानका अन्तरवस्तुहरुमा त्यति धेरै ठूलो सैद्धान्तिक मतभेदहरु देखिँदैनन् । सैद्धान्तिक मतभेदहरु त आधारभूत रुपमै हामीसँग छ । तर, माओवादी मधेसी मोर्चा र सत्तारुढ दलहरुका बीचमा शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा करिव करिव सहमति बनिसकेको हो ।

हामीले यो पनि बिर्सन सकिँदैन कि माओवादीको जनयुद्ध सुरु हुँदा एउटा भरुवा, बन्दुक र सयजना ‘र्‍याक ट्याक’ गुरिल्लाको समूहले सुरु गरेको हो ।

राज्य पुनःसंरचनामा पनि कतिवटा प्रान्त बनाउने र तराईर्का ५ जिल्लालाई कहाँ राख्ने भन्ने मतभेद हो । यो ठूलो सैद्धान्तिक मतभेद होइन । तर, यति झिनो असैद्धान्तिक मतभेद, जसलाई केही घन्टा अथवा केही दिन धैर्यतापूर्वक छलफल गरेको भए शायद सहमतिको विन्दुमा पुग्न सकिन्थ्यो । तर, त्यसको विपरीत अहिले मुलुक ठूलो द्वन्द्वको भूँवरीमा फस्न लागेको अवस्था छ ।

दोस्रो- अप्रत्याशित ढंगबाट माघ ८ को आसपास र त्यसपछि बाहृय शक्तिहरुको चलखेल तीव्र रुपमा बढेर गयो । भित्र कोठामा भेट्दा प्रक्रियाबाट अगाडि बढ भन्ने, सार्वजनिकरुपमा सहमति गरेर मात्र संविधान बनाउने भन्ने । यो द्वैध चरित्र प्रदर्शन भइरहेको छ ।

तेस्रो- राप्रपा नेपाल, जसले आफ्नो एजेण्डा स्थापित नभए पनि विधि र प्रक्रिया मान्छु भनेर सकारात्मकरुपमा अगाडि बढेको पार्टीलाई अनायाश असंवैधानिक र अप्रजातान्त्रिक बखेडा झिकेर संविधान निर्माणको प्रक्रियाबाट अलग गर्न खोजिएको छ ।

यी तीनवटै घटनाक्रमलाई हेर्दा म के देख्छु भने संविधान निर्माण ‘सेबोटेज’मा पर्‍यो । अब संविधान बन्ने सम्भावना कम हुँदै गयो । बन्यो भने पनि टिक्न नदिने खेल सुरु भयो जस्तो मलाई लाग्छ ।

यही पृष्ठभूमिमा जिम्मेवार दलका जिम्मेवार नेताहरुले विवेक र वुद्धिमतापूवर्क अगाडि नबढ्ने हो भने आगामी चैत वैशाखमा राजनीतिक दुर्घटना अवश्यमभावी रुपमा म प्रष्टरुपमा देख्छु ।

जनआन्दोलनको सम्भावना र नियन्त्रण बाहिर जाने खतरा

राप्रपा नेपालले जुन जनआन्दोलनको सम्भावना देखेको हो, त्यसको व्यापक परिवेश छ । त्यो ढीलो-चाँडो अवश्यम्भावी छ ।

त्यो जनआन्दोलनको चरित्र कस्तो हुन्छ, म अहिले भन्न सक्दिँन । शान्तिपूर्ण प्रजातान्त्रिक ढंगबाट पनि कहिलेकाँही परिर्वतन गर्न सक्ने हुन्छ वा ध्वंसात्मक हुन पनि सक्छ ।

तर, अहिले जुन किसिमको द्वन्द्वका चरित्रहरु देखा परेका छन्, त्यो मैले भनेको भन्दा फरक ढंगले आएको छ ।

अहिले जुन अन्योल, अनिश्चितता र अराजकताको स्थिति सिर्जना भएको छ र जुन ढंगबाट राजनीतिक दलहरु अघि बढेका छन्, यो मुठभेडले परिस्थिति अब दलहरुको नियन्त्रणभन्दा बाहिर जान्छ भन्ने खतरा देखेको छु ।

नबिर्सौं, जनयुद्ध भरुवा बन्दुकबाट सुरु भएको थियो

विपक्षीसँग जनमत छैन भनेर कांग्रेस र एमालेले भनेको बैधानिकरुपमा सही हो । उहाँहरुसँग दुई तिहाइ बहुमत छ र संविधान निर्माणका लागि यो संख्या पर्याप्त हुन्छ । तर, जनयुद्धको विद्रोह र जनआन्दोलनका केही मान्यता संस्थागत गर्ने पृष्ठभूमिका रुपमा यो संविधानसभाको चुनाव भएको हो ।

आन्दोलनमा अहिले जनता आउँदै आउँदैनन् । तर, एमाओवादी र मधेसवादी दलहरुसँग देशभरिबाट ३०/४० हजार कार्यकर्ता ल्याउन सक्ने क्षमता छ । त्यो ३०/४० हजार कार्यकर्ता सडकमा उतारेपछि स्वभाविक रुपले डरलाग्दो परिस्थिति बन्न सक्छ

कांग्रेस र एमाले र सूर्यबहादुरजीहरुको राप्रपाको मात्र कुरा गर्ने हो भने त ०४७ को संविधान नै पर्याप्त थियो नि । त्यो पर्याप्त छैन भनेर विद्रोह र आन्दोलनमा आएको शक्तिलाई पूर्ण निषेध गरेर संविधान प्रविधिकरुपमा बन्यो भने पनि अहिले तत्काल त जनबल छैन भन्ने आधारमा निषेध गर्न सकिएला ।

तर, हामीले यो पनि बिर्सन सकिँदैन कि माओवादीको जनयुद्ध सुरु हुँदा एउटा भरुवा, बन्दुक र सयजना ‘र्‍याक ट्याक’ गुरिल्लाको समूहले सुरु गरेको हो ।

यो पनि बर्सिन हुँदैन । इतिहास बडो कठोर हुन्छ । माओवादी जन्माउने, हुर्काउने र यहाँसम्म ल्याएर पालेर पोषित गराउने काम पनि कांग्रेस र एमालेले नै गरेका हुन् । आज फेरि नयाँ ढंगबाट परिस्थितिलाई बिगार्ने काम पनि कांग्रेस र एमाले नै अग्रपंक्तिमा देखिएका छन् ।

विसं. २००७ सालदेखि अहिलेसम्मको इतिहास हेर्दा प्रजातन्त्र संस्थागत हुन नसक्नुमा घटनाक्रमका विभिन्न पात्रहरु पनि जिम्मेवार होलान् । तर, मूलरुपमा प्रजातन्त्रलाई संस्थागत गर्न असक्षम हुनेमा कांग्रेस र एमाले नै जिम्मेवार छन् ।

चाहे १७ सालको घटना होस्, चाहे ०६१ माघ १९ को होस् । ठीक थियो वा थिएन बहस गर्न सकिएला । तर, त्यो परिस्थिति कांग्रेस र एमालेले बनाएका हुन् ।

फेरि प्रजातन्त्र त आयो तर, उनीहरुले कहिँ अन्त लगेर बुझाइदिने हुन् कि ? यसपटक त्यो बुझ्नेमा राजसंस्था त छैन । भनेपछि कुनचाहिँ त्यस्तो शक्ति आउने हो, जसलाई कांग्रेस र एमालेले बुझाउँछन् ? यो खतरा देखेको छु ।

चैतमा डरलाग्दो स्थिति आउन सक्छ

kamal thapa-1सत्तामा बसेका व्यक्तिहरुले आन्दोलनलाई नियन्त्रित बनाउन र कमजोर पार्न प्रहरी, सरकारी फोर्सको परिचालन गर्नुका साथै वाक शक्तिको पनि प्रदर्शन गर्नुपर्छ । त्यसलाई म स्वभाविक मान्छु ।

मेरो आफ्नो अनुभवले के भन्छ भने अहिले अधिकांश मान्छे संविधान बनोस् भन्ने पक्षमा छन् । त्यो संविधान कस्तो बन्नुपर्छ भन्ने चासो र चिन्ता पनि हुन छाडिसक्यो । यो अस्थिरता, अराजकताको श्रृंखलाको अन्त्य होस् र त्यो अन्त्य हुने आधार संविधान हो भनेर जनताले बुझेका छन् । त्यसकारण संविधान बन्न नदिने ढंगको आन्दोलनमा जनता स्वतःस्फुर्त सहभागी हुन्छन् भन्ने मलाई लाग्दैन ।

अहिले यही कुरा बुझेर एमाओवादी र मधेस केन्द्रित दलहरु तत्काल संघर्षमा गइहालेनन्, हेर्नुस् त कति चलाखीपूर्ण काम गरेका छन् ?

अहिले जनता आउँदै आउँदैनन् । त्यसमाथि काठमाडौंको जनता झन आउँदैनन् । त्यही भएर उनीहरु देशभर विकेन्द्रितरुपमा गइरहेका छन् । मेरो अनुमानमा उहाँहरुले कार्यक्रम नै चैतदेखि राख्नुभएको छ ।

काठमाडौंको मात्र नभएको हुनाले एमाओवादी र मधेसवादी दलहरुले चैतमा हुने आन्दोलनलाई निर्णायक बनाउन देशभरिबाट ३०/४० हजार कार्यकर्ता ल्याउन सक्ने क्षमता छ । त्यो ३०/४० हजार कार्यकर्ता सडकमा उतारेपछि स्वभाविक रुपले डरलाग्दो परिस्थिति बन्न सक्छ ।

अनुभवकै कुरा गर्दा ०६२/०६३ को आन्दोलनका बेला बैशाख ८ गतेपछि जनता पनि सडकमा उत्रिएका हुन् । त्योभन्दा अगाडि जतिबेला हामीले रिङरोडभित्र कफ्र्यू लगाएका थियौं, नारायणगोपाल चोक, गोंगबु चोक लगायतका ८/९ ठाउँमा हजार, १५ सय, ५ सय, २ सय मान्छे जम्मा हुन्थे ।

बैशाख ८ गते राजाबाट आहृवान भयो र हामीले कफ्र्यू हटायौं । अब राजाले छोड्ने भए भनेपछि जनता सडकमा उत्रिएका हुन् र ८ गतेदेखि अप्रत्यासित बन्यो ।

भोलिपर्सी हुने पनि त्यही हो । यदि ३०/४० हजार कार्यकर्ता ल्याएर सडकमा ताण्डव नृत्य नचाए र अब यिनीहरुले जित्यो जित्यो भन्ने भयो भने जनता सडकमा आउँछन् । किनभने त्यो ३०/४० हजार आयो भने पनि गोली हानेर मार्न त सकिँदैन । ३०/४० हजारले भोलि सिंहदरबार, संविधानसभा भवन, राष्ट्रपति भवन कहीँ पनि प्रवेश गर्न खोज्यो भने गोली हान्न त सकिँदैन ।

हाम्रो स्टेट मेसिनरी यति कमजोर र राजनीतिकरण भइसकेका छन् कि अनि त्योबेला कोल्याप्स हुन्छ र काम गर्न छाड्छ ।

थापासँगको अन्तर्वार्ता पढ्नुस् 

कांग्रेस र एमालेको रिसले जनतासँग बेइमानी गर्न त भएन नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment