Comments Add Comment

महाशिवरात्रीका दिन यस्तो हुनेछ सवारी रुट

४ फागुन, काठमाडौं । महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आराध्यदेव पशुपतिनाथ क्षेत्रको सवारी आवागमन प्रभावित हुने जानकारी दिएको छ ।

महाशिवरात्रीका अवसरमा पाशुपत क्षेत्रमा हुने लाखौंको भीड व्यवस्थापनका लागि सवारी आवागमनको रुट परिवर्तन गरिएको महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पशुपति क्षेत्रको सवारी व्यवस्थापनका लागि सो क्षेत्रमा मात्र करीव तीन सय ट्राफिक प्रहरी परिचालित भएका छन् ।  उनीहरुले पूरानो बानेश्वरबाट गौशालातर्फ जाने गाडीलाई रोकेर वैकल्पिक मार्गतर्फ पठाउनेछन् ।

त्यस्तै चाबहिल चोकबाटै गाडीहरु भित्री बाटो हुँदै हाँडिगाउ तथा कालेपुलतर्फ लाग्नेछन् भने त्रिभुवन विमानस्थलबाट गौशालातर्फ गाडी आउन पाउने छैनन् । महाशाखाका अनुसार चावहिल -गौशाला, पुरानो वानेश्वर-गौशाला, मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ सवारी लैजान पाइने छैन ।

त्यस्तै बत्तिसपुत द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयवागेश्वरी मार्ग, लामापोखरी – मित्रपार्क, गौरीघाट-मित्रपार्क र तिलगंगा-गौशाला सडकमा गाडी चलाउन पाइने छैन ।

गौशाला रुटमा यात्रु बोक्ने बस, माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनको गन्तव्य र पार्किङ स्थल पनि तोकिएको छ । कोटेश्वरतिरबाट आउनेलाई तिलगंगामा र बौद्ध जोरपाटीबाट आउने सवारी साधनलाई गुहेश्वरीको पारिपट्टी पार्किङ सुबिधा मिलाइएको छ ।

विमानस्थतर्फबाट आउने यात्रुले तिलगंगामा उत्रिएर पैदल हिडी अर्को गाडी चढ्न चावहिल चोकतर्फ जाने वा बानेश्वरतर्फबाट गन्तव्यस्थलमा जानुपर्ने प्रहरीले जनाएको छ । पशुपति क्षेत्र विकास कोषले पास उपलव्ध गराएका सरकारी गाडी र प्रेसका गाडीहरु गौशाला प्रहरी प्रभागमा पार्किङ गर्न पाउनेछन् ।

भारतीय दर्शनार्थी तथा पर्यटकका सवारी साधन अमलाकोटमा र अन्य तिर्थयात्री आएका सवारी साधन सिफलचौरमा पाकिर्ङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

देशका बिभिन्न भागबाट शिवरात्री मेला भर्न आउने ५० भन्दा बढि गाडीहरु काठमाडौंका सम्बन्धित स्थानमा पार्किङ भइसकेको प्रहरीले जनाएको छ ।

भारतका बिभिन्न शहरबाट गाडी रिजर्भ गरेर आउने दर्शनार्थीको संख्या पनि धेरै रहेको छ । भारतीय गाडी पार्किङ एकै ठाउँमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment