Comments Add Comment

कर्णालीको प्रेमपत्र

मैले भन्नै बाँकी छ
तिमी आत्तिन्छौ पहिले नै
अनि कसरी बस्छ प्रिया
सिंहदरबार र कर्णालीको मायाप्रेम !

तिमी प्रस्तावै राख्दिनौ
म राख्नै डराउँछु
त्यसैले अझै अपूरो छ मेरो
तिमीलाई कहानी सुनाउने धोको ।

तिमी धरहराबाट पहाड
निहुरेर हेर्न चाहन्छौ
म पहाड उक्लेर आकाश
नजिक नियाल्न चाहन्छु ।

तिमी निगरमुण्टे ‘न’ भएर
सबैलाइ तल राख्न खोज्छौ
म भने बाटुलो ‘ब’ झै चिरिएर पनि
एउटै घेराभित्र रम्न चाहन्छु
यसैकारण खोजेका हुन् हाम्रा हुलाकीहरुले
संघियता साथी…..

म जस्तै ‘म’ हरुले पठाएको सन्देश
पाएकै छौ तिमीले
जरुर साथी………
मलाइ निगुरमुण्टे न भित्र
निहुरिन  मन छैन अब ।

तिमीले जत्ति नै
भोजभतेर खुवाए पनि
जत्ति नै मह चटाए पनि
अब फर्किनुपर्छ हुलाकीहरु
निस्वार्थ शन्देश बोकेर,
हैन भने, बर्खास्त हुनेछ हुलाकी पनि
मेरो मनबाट ।

त्यसैले छिट्टै खुसीको खबर
पठाऊ सिंहदरबार
तबमात्र खुल्नेछ एउटा द्वार
अनि पखालिनेछ काठमाण्डौको प्रदुषण पनि
यसरी तिम्रो र मेरो
जर्वजस्त सम्झौता
बदल्नुछ आत्मीय प्रेममा ।।

krishna
कृष्ण कट्टेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment