Comments Add Comment

वार्ताबारे एमाओवादीको ३० दलीय मोर्चामा दोधार

30-Party-Meet

  • ३० दलीय मोर्चाको बैठकको फाइल तस्वीर

९ फागुन, काठमाडौं । संविधानसभाको बैठक अनिश्चित कालका लागि रोकेर वार्ता र सम्वादको प्रयास गरिरहेका सत्तापक्ष र प्रतिपक्षी दलहरु अझै पनि दन्तबझान, घुर्की एवं र धम्कीमै व्यस्त देखिएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार आफ्नो सरकारको सय दिने प्रगति सार्वजनिक गर्न तयार पारेको वक्तव्यमै वार्ताको कुरो घुसाएका थिए ।सहमति भए प्रक्रिया स्वतः स्थगन हुन्छ भन्दै सहमतिबाटै संविधान बनाउन प्रधानमन्त्रीले आह्वान गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहबारे छलफल गर्न शनिबार ३० दलीय मोर्चाको बैठक बस्यो । मोर्चाको बैठकले प्रधानमन्त्रीको दोस्रो वक्तव्य सकारात्मक भएको बतायो ।

औपचारिक वार्ता गर्न नसकिने बैठकले ठहर गरे पनि अनौपचारिक वार्ताहरु गर्न सकिने गरी मोर्चाले हरियो बत्ती बालेको छ । सत्ता पक्षका केही नेताहरुचाँहि वार्तामा नआउने भए अब एमाओवादीलाई धेरै समय कुर्न नसकिने बताउन थालेका छन् ।

त्यसो त एमाओवादी नेता डा. बाबुराम भट्टराईले शनिबार बिहानै सल्यानमा आयोजित एक कार्यक्रममा भनेका छन्-ओली र सुशील कोइरालाले ढोका थुनेर वार्तामा बोलाएपछि कसरी आउने ? जबसम्म संविधानसभाको बहुमतीय प्रक्रिया खारेज हुँदैन, तबसम्म वार्ता हुँदैन ।’

यद्यपि शनिबार सिंहदरबारमा बसेको ३० दलको बैठकले ढोकाबाट नभए जस्केलोबाटै छिरेर भए पनि अनौपचारिक वार्तामा बस्न सकिने सम्भावना औंल्याएको छ । अनौपचारिक छलफलपछिमात्रै शीर्ष तहको वार्ता गर्ने भन्ने ३० दलको निर्णयले जस्केलोबाट छलफल गर्न सकिने संकेत गरेको छ ।

यस्तो छ ३० दलको निर्णय

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले तत्काल शीर्षतहमा औपचारिक वार्तामा बस्न नसकिने निष्कर्ष निकालेको छ । तर, अनौपचारिक वार्ता र सम्वाद गर्न सकिने मोर्चाले संकेत गरेको छ ।

प्रचण्ड मोर्चाको शनिबार बसेको बैठकले प्रधानमन्त्रीले पछिल्लोपटक गरेको वार्ता आहृवान यसअघिको भन्दा सकारात्मक भएको तर, अझै पनि वार्ताका उपयुक्त वातावरण नबनेको ठहर गरेको हो । साथै अनौपचारिक वार्तालाई निरन्तरता दिई शीर्षस्तरमै औपचारिक वातावरण बनाउन आग्रह गरेको छ ।

अझै पनि औपचारिक र शीर्ष तहमा वार्ताका लागि उपयुक्त वातारण नबनेको भन्दै ३० दलले भनेका छन्-‘हामी पुनः अहिलेको सकारात्मक प्रक्रियालाई अझ अगाडि बढाउन र कुनै न कुनै न कुनै तह एवं रुपमा वार्तालाई निरन्तरता दिई शीर्षस्तरमै औपचारिक वातावरण बनाउन आग्रह गर्दछौं ।’

प्रधानमन्त्रीको वक्तव्य अलि राम्रो

३० दलको बैठकमा नेताहरुले प्रधानमन्त्रीको आहृवानलाई सकारात्मक भनेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको वक्तव्य हिजोको भन्दा अलि राम्रो भएको तर, वार्ताका लागि लोभिइहाल्ने अवस्था नभएको बैठकमा बताएका छन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने प्रधानमन्त्रीको आहृवान धेरै सकारात्मक भएको बताएका छन् ।

तर, बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने आन्दोलन तुहाउने खेल भएको भन्दै अहिलेको अवस्थामा वार्ता हुन नसक्ने बताए ।तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले अहिले ३० दलले आन्दोलन छाडे अरु कसैले उठाउने बताए ।

सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले वार्ता आहृवान सकारात्मक भए पनि प्रश्नावली समिति खारेज र विगतमा भएका सहमति कार्यान्वयनको प्रतिवद्धता नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment