Comments Add Comment

बालुवाको मुठ्ठीदेखि भक्तबहादुरको ‘हाइज्याक’सम्म

१० फागुन, काठमाडौं । नेपाली पुस्तक बजारमा साहित्यक एवं गैरसाहित्यक कृतिहरु प्रकाशन हुने क्रम राम्रैसँग फस्टाइरहेको छ । यसैक्रममा पछिल्लो समय बजारमा आएका एकाध किताब यस्ता छन् :

Books

बालुवाको मुठ्ठी पार्ने किताब !

‘बालुवाको मुठ्ठी पर्दैन, दमाई-कामीको एकता हुँदैन ।’ यो भनाइ पाल्पा झडेवा, बगालेका तुलबहादुर विश्वकर्माको हो । तुलबहादुर अहिले जीवित छैनन् । उनको यो टुक्कालाई जीवित बनाइदिएका छन् समग्र विकास केन्द्र नामक गैरसरकारी संस्थाका प्रमुख डोरनाथ उपाध्यायले ।

डोरनाथले समाज सेवा सुरुवात गर्ने क्रममा दलितलाई संगठित गर्न जाँदा तुलबहादुरले ०४१ सालमा उनलाई भनेका थिए, ‘दलित’लाई संगठित गर्नु र बालुवाटाको मुठ्ठी पार्नु एउटै कुरो हो ।

तर, समग्र विकास केन्द्रको संयोजनमा पत्रकार कृष्णमुरारी भण्डारीले बालुवाको मुट्ठी पारेका छन्-किनाराका मान्छे शीर्षकको पुस्ताकाकारमा ।

भण्डारीको लेखन र पत्रकार माधव ढुंगेलको सम्पादनमा प्रकाशित ‘किनाराका मान्छे’मा देशका विभिन्न भागमा सामान्य जीवन बिताएर समाजसेवामा अग्रसर रहेका अभियन्ताहरुको जीवन संघर्षलाई समेटिएको छ ।

भण्डारीको पुस्तकमा धादिङका प्रेमबहादुर नेघी उर्फ दमैसिं, रहिमाया प्रजा, सिरहाका सोमनीदेवी राम, अधिकलाल राम चमार र मञ्जु महतोसमेत छन् ।

पुस्तकमा लमजुङका गोविन्दमान श्रेष्ठ, नारायण कुमाल र पतिराम कामीका संघर्षका कथा पनि समेटिएका छन् । उदयपुरका कमल खपाङ्गी मगरदेखि सप्तरीकी रमनीदेवी रामका कथा व्यथा किताबमा समेटिएका छन् ।

ठूला भनिएका मानिसहरुमात्रै पुस्तकमा समेटिने गरेकोमा साना र कमजोर भनिएका मानिसहरुको कथा समेट्ने प्रयास गरिएको लेखकको स्पष्टोक्ति छ ।

पुस्तकको विषयवस्तु राम्रो छ । सीमान्तीकृतहरुको आवाज उठाइएको छ । तर, एनजीओको प्रयोजनजस्तो देखिनु पुस्तकको समस्या हो । प्रत्येक व्यक्तिको कथामा एनजीओको भूमिका जोडिन्छ ।

ज्ञानेन्द्र चुपचाप, चित्रलेखाको धम्की

पूर्वप्रजिअ नरेन्द्रराज पाण्डेले ‘सिडियोका १७ वर्ष’ नामक पुस्तक बजारमा ल्याएका छन् । पौडेलको पुस्तकमा ०४७ सालदेखि ०६४ सम्मको लोकतान्त्रिक कालमा जिल्ला प्रशासन र स्थानीय निकायमा कसरी दलका नेताहरुले हस्तक्षेप गर्थे भन्ने अनुभवसमेत समेटिएको छ । पुस्तकमा पञ्चायतकाली संस्मरणहरु पनि छन् ।

पौडेल मधेसतिर सिडियो थिए, चित्रलेखा उपसभामुख थिइन् । देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । एकताका विभिन्न व्यक्तिलाई ठगेर कांग्रेसको आडमा केही व्यक्तिहरु खुलेआम हिँडिरहेका रहेछन् । प्रजिअ पौडेलले तिनीहरुलाई पक्रेर हिरासतमा कोचेछन् । राति चित्रलेखाले सिडियोलाई फोन गरिछन्,  म चित्रलेखा, उपसभामुख, चिन्नुभएन ? ती मेरा मान्छेहरु हुन् तपाईले छाडिदिनुपर्‍यो ।

ती ठगलाई नछाड्ने बताएपछि गृहराज्यमन्त्री कँडेलले फोन गरेर भनेछन्, तिनीहरुलाई छाडेनौ भने भोलि म देखाइदिन्छु । सिडिओले भनेछन्, मैले त अहिल्यै देखाइसकें ।

सिडियो सा’पको किताबमा अर्को रोचक प्रशंग ०५८ सालको दरबार हत्याकाण्डको अघिल्लो दिनको छ । उनी त्यसबेला कास्कीको सिडियो थियो, जतिबेला दरबार हत्याकाण्डको पूर्वसन्ध्यामा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र पोखरामा कस्तो मूढमा थिए भन्ने पुस्तकमा लेखिएको छ ।

‘अधिराजकुमार ज्ञानेन्द्रलाई सराङकोटबाट नियाल्दा’ शीर्षकमा सिडियोले लेखेको संस्करणमा दरबार हत्याकाण्ड हुनुपूर्वको ज्ञानेन्द्रको मूढलाई शंकास्पदरुपमा देखाउन खोजिएको छ ।

प्रजिअ पौडेलले लेखेको उक्त अंश देखाउँदै रक्तवीज उपन्यासका लेखक कृष्ण अविरल भन्छन्-‘सिडियोसा’पले लेख्नुभएको यो अंश पढ्नुहोस्, मेरो रक्तवीज उपन्यास ‘जस्टिफाइड’ हुन्छ ।

वास्तविकता के हो ? लेखक आफैं जानून् । तर, प्रशासनिक क्षेत्रमा काम गर्दा पाएका अनुभवहरु समेटेर लेखिएको पुस्तक सिडियोका १७ वर्षले प्रजातन्त्रकालीन प्रशासनको सामान्य प्रतिविम्व उतार्ने प्रयास गरेको छ ।

यद्यपि लामा आख्यानहरु ‘फ्याक्ट’भन्दा बढी ‘फिक्सन’ जस्तो लाग्छन् । लेखकको कवि व्यक्तित्वले कितावलाई इतिहास भन्दा पनि साहित्यजस्तै बनाइदिएको छ ।

गोरखालीको बिजोग, बाहुनको झन् कन्तबिजोग

साहित्यले जुन भूमिमाथि टेकेको हुन्छ, त्यो आञ्चलिकताबाट त्यो साहित्यको आयतन समेत नापिन्छ । सिक्किमको गान्तोकमा जन्मिएर बेलायतको अक्सफोर्डमा पढेका प्रज्वल पराजुली नेपाली जातिको अन्तरराष्ट्रिय ‘टेरिटोरी’मै कलम चलाउन सक्ने लेखकमा दरिएका छन् । यसको पछिल्लो प्रमाण हो, ‘द गोर्खाज डटर’ अर्थात गोर्खाकी छोरी ।

कालेबुङको चिउरीबोटे बस्तीका शिवभक्त शर्मालाई समर्पण गरेर लेखिएको गोर्खाकी छोरी काठमाडौंको बत्तीसपुतली, झापाको बिर्तामोड, कालेबुङको मुसलमानको दोकान, भुटानी शरणार्थी, न्युयोर्कमा पुगेका नेपाली र बृटिश गोरखा लाहुरे समुदायसम्म घुम्छ ।

संसारभरि छरिएका नेपालीहरुवीच फैलिएको पराजुलीको कथा संग्रहले जहाँ रहे पनि नेपाली मौलिकता र संस्कृतिलाई विषयवस्तु बनाएको छ । प्रज्वलको कथानकता एउटा भूगोलमा खुम्चिएको छैन, एउटा जातिमा अड्किएको छैन ।

पिताको अनुभूति कथामा दार्जिलिङमा रहेको बाहुन परिवारको मनोदशा देखाइएको छ । बाबुले छोरीलाई बाहुनको नश्लीय शुद्धताका बारेमा बताएको हुन्छ । आमा आफ्नी छोरीको नश्लीय पवित्रतामा विशेष ध्यान दिन्छिन् । छोरी हुर्केपछि नेवारको छोरालाई मन पराउँछिन् । त्यो नेवार छोरो विमल गुरुङको पार्टीमा लागेर मन्त्री हुने सपना साँच्छ । उसको स्वभाव राम्रो हुन्छ ।

तर, बाहुनकी छोरीले पिताको नश्लीय सिद्धान्तलाई पछ्याउँछे । नेवार ब्वाइफ्रेण्डसँग बिहे गर्न मान्दिँन । तर, बिहेको कुरा छिनेको बाहुनको छोराले रक्सी खाएपछि गर्ने बबालसँगै कथा टुंगिन्छ । पुस्तकमा लेखकले केही भनेका छैनन्, बाहुन पात्रले आफैं बोलेको छ, छादेको छ ।

काठमाडौंको बत्तीस पुतलीमा एकल महिलाको घरमा काम गर्ने ‘खुँडी केटी’ले घरेलु कामदार र वालश्रमको अवस्था बोलेको छ ।

त्यस्तै पश्चिमा बन्ने प्रयासमा लागेका भूटानी शरणार्थी, न्युयोर्कको बासिन्दा बन्ने धुनमा लागेका नेपाली अनि गोरखालीको खानी कालेबुङमा दोकान गरेर सांस्कृतिक अन्तरघुलन गर्न नसकेको मुसलमान जोडी सबैमा नेपाली जातिका मनोदशाहरु बोलिएका छन् ।

शीर्षकथा ‘गोर्खाकी छोरी’ले बाल मनोविज्ञान र गोर्खा सैनिकको कथा एकैचोटि बोलेको छ ।

बीसी शर्मा र सरला भट्टराईले नेपालीमा अनुवाद गरेको २५६ पृष्ठको ‘गोर्खाकी छोरी’ नेपालयले बजारमा ल्याएको हो ।

लाहुरेले लडेको दुई शताब्दी

पूर्वगोरखा सैनिक काङमाङ नरेश राईले ‘खुकुरीको धारमा दुई शताब्दी’ लेखेका छन् । गोर्खा सैनिकमा हुँदा खुट्टो फ्याक्चर भएको आफ्नै कथादेखि लिएर  २७ जना लाहुरेहरुले विभिन्न कालखण्डका बेलायती सेनाका लागि लडेको लडाइँको कथा समेटिएको छ पुस्तकमा  ।

बागबजारमा अघिल्लो साता पुस्तक विमोचन कार्यक्रममा लेखक राईले भने, जसरी एउटा आँखा रुँदा अर्को आँखा पनि रुन्छ, त्यसैगरी ६० हजार बढी नेपालीले ज्यान गुमाएको यो समस्यामा दुबै आँखाले रुनुपर्छ । यो देशको समस्या हो । एउटा आँखाको मात्रै समस्या होइन ।

राईको पुस्तकमा विसं. २००७ साल ताका नेपालका गाउँगाउँबाट गल्लाहरुले कसरी युवालाई गोरखा भर्तीमा लैजान्थे भन्ने नेपाली समाजको चित्र भोक्ताहरुमार्फत् उतारेका छन् ।

पुस्तकमा नेपालीहरु कुन बाटोबाट मलेसियामा पुर्‍याइन्थ्यो, फेकल्याण्ड पुर्‍याइन्थ्यो र लड्न बाध्य पारिन्थ्यो भन्ने सनसनीपूर्ण वयान समेटिएको छ । हाम्रा नेपाली दाजुभाइले भोगेको पीडा थाहा पाउन चाहेनहरुले पुस्तक पढ्न छुट्यो भने अधुरै हुने देखिन्छ ।

यद्यपि पुस्तकको भाषाशुद्धी र विश्लेषणात्मक पाटो चाँहि केही खड्किएको छ ।

वैद्यले कब्जा गरे ‘भक्तबहादुर’

नेपाली बजारमा साहित्यका साथै  अन्य विधाका पुस्तक पनि आउने क्रम बढेको छ । डा. ऋषिराज बराल र नन्दीश अधिकारीले ‘माओवादी आन्दोलनको गति र दिशा’ लेखेका छन् ।

यसैवीच एमाओवादीका केन्द्रीय सल्लाहकार स्व. भक्तबहादुर श्रेष्ठको स्मृति ग्रन्ध प्रकाशित भएको छ । तर, त्यसमा एमाओवादी नेताहरुको एएटा पनि लेख रचना छैन । भक्तबहादुरर वैद्य माओवादीको कब्जामा रहेका छन् ।

भक्तबहादुर स्मृति प्रतिष्ठानले निकालेको सल्लाहकार श्रेष्ठको स्मृति ग्रन्थमा वैद्य माओवादीका नेताहरुका मात्रै लेख रचना समावेश गरिएका छन् ।

संस्कृतिको कुरा गरेर नथाक्ने वामपन्थीहरुले कसरी आफूसँग मन नपर्ने पक्षलाई निषेध गर्छन् भन्ने अपसंस्कृतिको नमूना बनेको छ ‘भक्तबहादुर श्रेष्ठ विविध आयाम नामक पुस्तक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment