Comments Add Comment

अमेरिकामा वीपीको सालिक र यथार्थ

लेखनाथ भण्डारी

स्पष्टीकरण नम्बर १

नेपालको प्रजातान्त्रिक आन्दोलनका  अग्रणी व्यक्तित्व, नेपाली कांग्रेसका संस्थापक सदस्य तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री  स्व. विश्वेश्वरप्रशाद कोइरालाको राजनीतिका अतिरिक्त नेपाली साहित्यमा  समेत  विशिष्ट स्थान  र योगदान रहेकोछ ।

BP-Koiralaकोइरालाको जन्म शताब्दीको सन्दर्भमा हामी नेपाल बाहिर अर्थात उतर अमेरिकामा बस्नुहुने नेपाली मूलका वा बिदेशी नागरिक समेतको  दृष्टिकोणमा बीपीका  बारेमा एक ग्रन्थ प्रकाशनको तयारीमा छौँ । यो ग्रन्थले  नेपालको राजनतिक/प्रजातान्त्रिक आन्दोलन तथा साहित्यिक क्षेत्रमा कोइरालाको भूमिका/प्रभाव वा स्थान तथा अन्य  यससंग सम्बन्धित  बिषयहरुमा तपाईं हाम्रो  अनुभूति, दृष्टि, समालोचना वा आलोचना पक्षको उजागर गर्ने  र  स्व. कोइराला प्रति हाम्रो सम्मान/श्रध्दा प्रकट हुने विश्वाश छ ।

नेपाली समाजका आदर्श र अग्रजहरुको चर्चा गर्दा वीपी कोइराला अग्रस्थानमा गणना हुने व्यक्तित्व हुन् । पारिवारिक दृष्टिले उनी पनि कुनै घरपरिवारका, समाजका नातागोताभित्रका हुनु वा कुनै राजनीतिक पार्टी वा समुहका हुनु स्वभाविक हो । तर, समग्र नेपाल, नेपाली जनता र राष्ट्रियता आदिको सम्बृध्दिका लागि कोइरालाले निर्बाह गरेको भूमिका अब कुनै व्यक्ति वा परिवार, समूह वा समाजका लागि मात्र हो भनेर गणना गरिनु हुन्न । उनी समग्र नेपाल र नेपालीका साझा आदर्श वा ‘रोल मोडेल’ हुन् ।

यही मान्यता र विश्वासले हामीले कोइरालाको जन्म शताब्दि सन्दर्भमा एक ग्रन्थ प्रकाशन गर्ने जमर्को गरेका हौँ र यो जमर्को अहिले पनि जारी छ ।

कोइराला स्मृती ग्रन्थ प्रकाशनका लागि पहल गरिरहेका हामी केही सदस्यहरुमा नाम नै लिनु पर्दा नेपाली भाषा साहित्यका वरिष्ट व्यक्तिव्त डा हरिराज भट्टराई र अमेरिकी नेपाली समाजका सामाजिक अभियन्ता कृष्ण लामिछाने हुनुहुन्छ ।उहाँहरुसँग सहकार्य गरिरहेको यो टिप्पणीकर्ताका लागि व्यक्तिगत रुपमा कोइराला घरपरिवार भित्रका आफन्त पनि होइनन् र राजनीतिक अगुवा नेता वा व्यक्तिगत आदर्शका पात्र पनि होइनन् ।  तर, समग्र नेपाली समाजका अगुवा आदर्शहरुको सम्मान, सम्झना र प्रेरणाका लागि योग्यहरुमध्ये एक हुन् वीपी ।

बयान नम्बर २

अमेरिका वा क्यानडा अर्थात उतर अमेरिकाबासी नेपाली र गैरनेपालीका दृष्टिमा वीपी कोइरालाका बारेमा  ग्रन्थ प्रकाशित गर्ने प्रयासबारे काम शुरु गरेयता अमेरिकामा रहेका नेपालीहरु र अमेरिकामा कोइरालाको भूमिका(उपस्थिति वा अन्य गतिविधि) का बारेमा हामीले सोध खोज शुरु गर्नु स्वाभाविक वा जरुरी थियो ।

यही क्रममा हामीले शुरुमा न्युयोर्कस्थित कुनै कलेजमा वीपी कोइरालाको सालिक रहेको जानकारी पायौं । तर, सालिक छ भन्ने जानकारी प्राप्त भए पनि सो सालिक कहाँ थियो वा छ र अहिले कुन अबस्थामा छ  भनेर यकिन गर्नका लागि धेरै समय लाग्यो ।

समस्या यतिसम्म भयो कि सो कलेजमा  अध्यन गर्नुहुने, सालिकसँग उभिएर फोटो खिच्नुहुने वा सालिकका बारेमा बुलेटिन प्रकाशित गर्नुहुने अमेरिका र नेपालमा रहनु हुने धेरै जनासँग सम्पर्क गर्दा पनि हामीले सालिक फेला पार्न सकेनौं ।

यस क्रममा हामीलाई पारारम्भिक सुचना दिनु हुने तरुण पौडेल, खगेन्द्र जीसी, तारा निरौला, दिनेशजंग शाह, सहदेव पौडेल, दुर्गा पोख्रेल, कृष्ण निरोला, जयराज आचार्य,  कनकमणि दीक्षित, राजेश श्रेष्ठलगायत वीपी कोइराला परिवारका अत्यन्तै निकटका सदस्यहरुसमेतलाई सम्पर्क गर्यौं । उहाँहरुलगायत नाम उल्लेख नभएका अरु  धेरैको सहयोगका लागि हामी आभारी छौँ ।

बयान नम्बर ३

अन्तत: सालिकका बारेमा नेपालबाट प्रकाशित अङ्ग्रेजी पत्रिका नेपाली टाइम्समा यसबारे करिब ८ बर्ष पहिले (21 APRIL 2006 – 27 APRIL 2006) यसबारे सार्वजनिक गर्दै  Forgetting to remember BP शीर्षकमा  लेखिएको लेख हामीलाई प्राप्त भयो । यो लेखको जानकारी सहदेवजीले दिनुभएको हुनुपर्छ ।

यही लेखका लेखक प्रोफेसर टेड रिकार्डीलाई पछ्याउँदै हामी सालिक भएको ठाउँसम्म पुग्यौं । हामीलाई प्राप्त जानकारी र हाम्रो निरन्तर प्रयासका क्रममा हामीले यसबारे सम्बन्धित वा असम्बन्धित नै सही, दर्जनौं व्यक्तिहरुसँग सम्पर्क गर्यौं ।

न्युयोर्क पुगेर प्रोफेसर टेड रिकार्डीलाई भेटेको पनि ३-४ महिनापछि मात्र हामी सालिक भएको स्थानमा पुगेका हौं ।

सालिक शुरुका दिनमा कसले किन र कसरी(कुन उदेश्यले) बनाएको हो ? यसबारे मेरो अध्ययन र खोजी जारी नै छ । प्रोफेसर रिकार्डी यस सालिक निर्माण र स्थापना अभियन्तामध्ये एक हुनुहुन्छ तर, पनि यसबारे मैले उहाँको राय लिन बाँकी नै छ ।

सयुंक्त राष्ट्र संघका लागि नेपालका पूर्वराजदूत जयराज आचार्य पनि यस अभियानका अभियन्ता हुनुहुने मेरो अनुमान छ । तर, यसबारे मैले उहाँसंग पनि यसबारे सोधिसकेको छुइँन ।

 कसले बनायो वीपीको सालिक ?

आचार्यले उल्लेख गर्नुभए अनुसार सालिक उहाँका चिनजानका मित्र बुल्गेरियाका कलाकार मिहैलले सन् १९९० मा बनाएका हुन् ।

कोइरालाको सालिक नेपाली कांग्रेसका नेता गणेशमान सिंहले अमेरिका भ्रमणका क्रममा एक कार्यक्रमबीच अनावरण गर्नुभएको थियो । कोइरालाको यही सालिकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि अमेरिका भ्रमणका क्रममा सन् १९९३ को अक्टुवर १२ का दिन एक कार्यक्रमका बीच माल्यार्पण गर्नुभएको थियो ।

सालिक अहिलेसम्म सुरक्षित राख्नु र राखिएको स्थानसम्म हामी पनि पुग्नुमा प्रोफेसर रिकार्डी र उहाँको परिवार र आफन्तहरुको वीपी कोइरालाप्रति र  नेपालप्रतिको असाध्य गहिरो लगाव र श्रध्दाको परिणाम हो । उहाँहरु अर्थात प्रोफेसर रिकार्डीको परिवार यो सालिक सम्मानजनकरुपमा सार्वजनिक स्थानमा पुनस्थापना गरियोस् भन्ने चाहन्छ ।

नेपाली समाजमा प्रोफेसर रिकार्डीको भूमिका र योगदानको छुट्टै अर्को पाटो छ ।

कोइरालाको सालिक भएको स्थानमा पुगेर तस्बिर खिचेपछि व्यक्तिगतरुपमा यसलाई सार्वजनिक जानकारी गराउन सके सम्बन्धित पक्षको ध्यानाकर्षण  हुने र यसको पुनर्स्थापनामा सहयोग पुग्ने यो टिप्पणीकारको विश्वास थियो । सालिक पुनर्स्थापना हाम्रो प्राथमिक चासो वा उद्देश्य होइन भन्ने कुरा हामीले सालिकको संरक्षण गर्नु हुने प्रोफेसर परिवारलाई स्पष्ट पारेका छौं ।

सालिक शुरुको  न्युयोर्कस्थित फ्रेन्ड्स वर्ल्ड कलेजबाट स्थानान्तर हुने क्रममा न्युयोर्ककै कोलम्बिया युनिभर्सिटी र त्यसपछि वासिंगटन डीसी हुँदै भर्जिनिया राज्यको ग्रामीण इलाकास्थित घर बगैंचामा पुगेको हो ।

यसरी बिभिन्न स्थानमा ल्याउँदा र लैजाँदा तामाको धातुमा कुँदेर बनाइएको चित्र/सालिकको सिमेन्टेड/मार्वल स्ट्याण्ड  टुक्रिएको छ ।

 बयान नम्बर ४

सालिकका बारेमा  नेपाली पोष्टडटकम र यसको फेसबुकमा यस बारे सम्बन्धित पक्षको ध्यानाकर्षण  हुने र यसको पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासले नै ३ वटा फोटो र यो क्याप्सन राखिएको थियो – अमेरिकामा वीपी कोइराला : नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको अढाई दशक पहिले(सन्१९९०) अमेरिकाको न्युयोर्कस्थित फ्रेन्ड्स वर्ल्ड कलेजमा स्थापित सालिक डेढ बर्ष लामो खोजिपछि भर्जिनिया राज्यको पश्चिम दक्षिण ग्रामीण इलाकामा दुई टुक्रा भएको अवस्थामा फेला परेको छ | (तस्वीर: लेखनाथ भण्डारी)

यसको  पुंरस्थापनाबारे चासो  राख्नु हुनेहरुका लागि  थप  यो कुरा पनि  फेसबुकको कमेन्टमा  उल्लेख  छ – यो सालिक अहिले जहाँ र जुन अबस्थामा जोसँग छ, उनीहरु यसलाई सम्मानजनकरुपमा सम्बन्धित पक्षले उपयुक्त ठानेको सार्वजनिक स्थानमा पुनर्स्थापना गरोस् भन्ने चाहन्छन् | तर, अहिले तुरुन्तै दीर्घकालीन कुनै योजना र संरक्षणको ग्यारेन्टिबिना यसलाई भइरहेको ठाउँबाट उठाउन पनि हतार गर्नु राम्रो नहोला | तसर्थ यसबारे समुहिक योजनाका बारेमा सल्लाह हुनसके राम्रो |

बयान नम्बर ५

सालिकका बारेमा सार्वजनिक उक्त तथ्यलाई समातेर नेपालबाट प्रकाशित अनलाइनखबरले ‘अमेरिकामा यसरी भेटियो वीपीको शालिक‘ शीर्षकमा डेढ वर्षअघि हराएको मूर्ति गाउँमा भेटियो भन्ने समाचार सार्वजनिक गरेको रहेछ । यसमा कोइरालाको अपमान गरिएको, सालिक हराएको वा रहस्य आदि कुराहरु उल्लेख थियो । यसबाट सालिकको सुरक्षा र सम्मानको चिन्ता गर्नुहुनेहरुमा पर्न जाने दुखप्रति यो टिप्पणीकार स्वयं दुखी र क्षमा प्रार्थी छ ।

अहिले आएर सालिकको सम्मानजनक पुनर्स्थापन वा स्वामित्वजस्ता बिषयमा केही चर्चा शुरु भएको छ । सात समुद्रपारको यस भूमिमा हामी नेपाली हुनु र वीपी नेपालीका साझा सम्मानित व्यक्तित्व हुनुबाहेक अर्को तर्क सामान्य अबस्थामा स्वीकार्न सकिन्न । तसर्थ यसबारेमा सम्पूर्ण अमेरिकी नेपाली समाजको प्रतिनिधित्व हुने गरी राज्यका निकायको संयोजनमा वा सामाजिक संस्थाको पहलमा यसको यस भूमिको सार्वजनिक स्थानमा पुनर्स्थानाका लागि पहल गर्न सके राम्रो ।

यदि हामीलाई तेरो वा मेरो घर परिवार वा समुह संगठनको सङ्कीर्णरुपमा नै  वीपी जस्तो राष्ट्रिय र अन्तराष्ट्रिय व्यक्तित्वलाई भागबण्डा लगाउँदा आनन्द लाग्ने हो भने अरु धेरै सालिक घर घरमा राख्न पनि सकिन्छ । तर, यदि त्यस्तै गर्ने हो भने यो सालिक (वीपी कोइराला)को  पृष्टभूमि, इतिहास र आदर्शलाई हामीले गुमाउनेछौँ ।

अन्त्यमा

अमेरिकाबासी वा उतरअमेरिकाबासी नेपाली र गैरनेपालीको दृष्टिमा कोइराला, प्रकाशोन्मुख कृतिमा हामी निकट भविष्यमा नै यस सालिकसमेतका अन्य धेरै तथ्यहरु सार्वजनिक गर्नेछौं । यसका लागि यस विषयमा रूचि हुनेहरुबाट प्राप्त हुने सहयोगको हामी स्वागत गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment