Comments Add Comment

ओलीको ‘बर्थ डे’मा जोकशास्त्र उपहार (भिडियोसहित)

Kp oli Birth Day  (1)

११ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६४ औं जन्मदिन मनाइरहँदा बालकोटस्थित उनको निवासमा चर्चित हास्य कलाकार, गायक र संगीतकारको जमघट थियो । कलाकारले ओलीको गुणगान गरे, समर्थनमा बनाइएका गीत सुनाए ।

हास्य कलाकार तथा स्रष्टाहरुको संस्था सिस्नोपानी नेपालको सिंगै टोली उपस्थित थियो बालकोटमा । मनोज गजुरेल, सीताराम कट्टेल धुर्मुस, सुन्तली, नारद खतिवडालगायतका हास्य कलाकार ओलीका वरिपरि थिए ।

ओली आफैंमा हाँस्यरस भएका नेता हुन् । उखान टुक्का जोडेर भाषण गर्दा ओली कुनै हास्य कलाकारले भन्दा कम हँसाउदैनन् । ‘वास्तवमा उहाँ आफैंमा एक जोकशास्त्री पनि हो’ ओलीलाई जन्म दिनको शुभकामना दिँदै मनोज गजुरेलले भने ‘त्यसैले मैले उहाँलाई जन्म दिनको उपहारमा मेरो जोकशास्त्रको किताब दिएँ ।’

झापादेखि बालकोटसम्मै ओलीको नजिक बस्ने मौका पाएका गजुरेलले ओलीलाई जन्म दिनको उपहारस्वरुप आफ्नो ‘भर्जिन व्यंग्य’ पनि सुनाए । पछिल्लोपटक नरेन्द्र मोदीको क्यारिकेचर गरेर भारतीय मिडियामा छाएका गजुरेलले मोदीसँगै जोडिएको अर्को व्यंग्य ओलीको जन्मदिनमा सुनाए, तर भिडियो रेकर्ड गर्न भने मानेन ।

हास्य कलाकारका बाबै

स्टेजमा र टेलिभिजनको पर्दामा दर्शकलाई हँसाउन हास्य कलाकारहरुले ओलीबाट धेरै टिप्सहरु पाउँछन् रे । । ‘उहाँ जोकको भण्डार हो, उहाँको भण्डारबाटै हामीले चोरे हँसाउने हो’ बालकोटको प्राङगणमै कलाकारहरु भन्दै थिए ।

Kp oli Birth Day  (3)

ओलीलाई टोपी लगाइदिएर शुभकामना दिएपछि सुन्तलीले भनिन्-उहाँलाई हामी बा भन्छौं, हामीलाई अप्ठ्यारो पर्दा, दुःख हुँदा आउने ठाउँ नै यहीँ हो । उहाँले हामीलाई सक्दो सहयोग र सल्लाह सुझाव दिनुहुन्छ । हाम्रा कमी कमजोरी औंल्याएर अघि बढ्न प्रेरणा दिनुहुन्छ ।

संगीतमय बर्थ डे

ओलीको बर्थ डेमा संगीतकार डा. टीका भण्डारी र गायिका श्रेयषी चेम्जोङसहित नाम चलेका गायक गायिका र चलचित्रकर्मी पनि उपस्थित थिए ।

ओली ६४ वर्ष टेकेको दिन उनको निवास पूरै संगीतमय थियो । एमाले सम्बद्ध जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, गायिक तथा सभासद मधु गुरुङ, महासचिव राजेश थापा मगर आफैं खटिएका थिए जन्मदिन संगीतमय बनाउन ।

टीका भण्डारीले ओलीकै नाममा शुभकामना गीत गाए । श्रेयषी चेम्जोङले पनि उनको दीर्घायुको कामना गर्दै गीत गाइन् ।

सिस्नोपानीको शंख घण्टा

सिस्नोपानी नेपालको तर्फबाट अध्यक्ष लक्ष्मण गाम्नाङगेले ओलीलाई घण्ट र शंख उपहार दिए । घण्ट र शंख शान्ति ध्वनीको प्रतीकका रुपमा उपहार दिइएको उनले बताए ।

‘ओम भन्ने शब्द मुस्लिम, बुद्धिष्ट, हिन्दू सबैको लबजमा आउँछ’ गजुरेलले भने ‘अर्को कुरा ओली कमरेडको घरमा म्युजिक लाइब्रेरी छ, त्यहाँ घण्टा र शंख नदेखिएकाले त्यो ठाउँमा राख्नका लागि उपहार दिएका हौं’ ।

प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्ष राजेन्द्र अर्यालले नेपालको नक्सामा पूर्वी सीमानाबाट अध्यक्ष ओली सूर्य अंकित झण्डाका साथ उदाएको र पश्चिम सीमानाबाट नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह उभिएको चित्र अङकित तस्वीर उपहार दिए । ‘जसरी नेपाललाई पृथ्वीनारायण शाहले एकीकृत सार्वभौम मुलुकका रुपमा स्थापित गरे’ अर्यालले भने-‘ओलीबाट यो मुलुक बिखण्डनको प्रयास सफल हुन नदिने अपेक्षा जनताले गरेका छन्, त्यसैले यो उपहार दिएका हौं’ ।

स्वास्थ्यको कामना

ओलीलाई जन्मदिनको शुभकामना दिन पार्टी उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमले पत्नी तुलसासहित बालकोट पुगेर करीव डेढ घण्टा बिताएका थिए ।

Kp oli Birth Day  (2)

पार्टी सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, मन्त्रीहरु, सभासदहरु, सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि ओली निवासमा बाक्लो उपस्थिति थियो ।
त्यहाँ जन्मदिनको उपलक्ष्यमा दुईवटा ठूला केक काटिए । सबै आगन्तुकलाई केक र स्न्याक्ससहित दिवाभोज दिइयो । आगन्तुक र शुभेच्छुकहरु ओलीलाई जन्मदिनको शुभकामनासँगै सुस्वास्थ्यको समेत कामना गरिरहेका थिए ।

संयोग नै मान्नुपर्छ, जन्मदिनकै अवसर पारेर ओलीको दाहिने हातमा लामो समयदेखि बाँधिएको पट्टीसमेत निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment