Comments Add Comment

कता हराए मुम्बईमा बेचिएका नेपाली चेली ?

Sunita-danuwar

  • हालै पुनेबाट उद्धार गरिएकी कल्पना मगर (बीचमा)का साथमा शक्ति समूहका सुनिता दनुवार र बालकुमारी राना 

मात्रिका पौडेल

१३ फागुन, काठमाडौं । सुनिता दनुवार १९ वर्षअघि आफूलाई बेचिएको ‘कोठी’ खोज्दै गत साता भारतको मुम्बई पुगिन् । जुन घरको नारकीय जीवनबाट मुक्त भएर उनी स्वदेश फर्किएकी थिइन्, त्यो ठाउँमा त अहिले गार्मेन्ट उद्योग र मिठाइ पसल पो सञ्चालनमा आएका रहेछन् ।

‘मलाई बेचिएको घर हेर्दै गएकी थिएँ, त्यो कहालीलाग्दो नरक त अहिले व्यापारिक भवनमा परिणत भइसकेछ’ मुम्बईबाट फर्किएकी सुनिताले भनिन् ‘मुम्बईका परम्परागत वेश्यालयहरु अहिले फेरिएका छन्, बेचबिखन र वेश्यावृत्तिको उद्योग नयाँ ढंगले सञ्चालन हुन थालेछ ।’

फेरियो भारतको यौन बजार

मुम्बई, पुनेलगायतका भारतीय शहरमा नेपाली चेलीलाई बेचेर वेश्यावृत्तिमा लगाउने कार्य उस्तै भए पनि बेचबिखनको शैली भने फेरिएको छ । त्यसैले बेचिएका चेलीहरुको उद्दार तथा स्वदेश फिर्ती थप जटिल बनेको निश्कर्ष छ सुनिताको ।

सुनिता भन्छिन्-‘पुराना गल्लीका थोत्रा घरहरुमा चेन गेट लगाएर चेलीहरुलाई यौनदासी बनाउने शैलीमा व्यापक परिवर्तन भएछ । अहिले त आधुनिक भवनहरुमा भव्य फ्ल्याट लिएर बहिनीहरुलाई थुनेर राख्दा रहेछन् ।’ उनका अनुसार पुनेको बोद्धारपेटस्थित न्यू बिल्डिङ नेपाली चेलीहरुलाई बेचबिखन गरी यौनदासी बनाउने नयाँ अखडाका रुपमा चर्चित रहेछ । कोठी सञ्चालक पनि नेपाली र त्यहाँसम्म नेपाली चेली पुर्‍याउने दलाल पनि नेपाली नै हुन् ।

अचेल कोठीका रुपमा सञ्चालित आधुनिक भवनका फ्ल्याटमा भन्दा त्यहाँबाट होटल तथा रेष्टुरेन्टहरुमा नेपाली चेलीहरुलाई सप्लाई गर्ने बेचबिखनको नयाँ शैली फस्टाएको मुम्बईको रेस्क्यु फाउण्डेनशनका अधिवक्ता सतीश भण्डारीले अनलाइनखबरसँगको टेलिफोन सम्पर्कमा बताए । ‘नेपाली चेलीहरुलाई एकै घरमा थुनेर राख्ने, प्रहरी आउँदा यहाँको रासन कार्ड देखाउन लगाउने र विभिन्न कन्ट्क्याटका आधारमा यौनकार्यका लागि पठाउने गरेको पाइयो,’ सुनिता भन्छिन् ।

कहाँ गए त नेपाली चेली ?

मुम्बई लगायत भारतका शहरमा मात्रै अहिले पनि १५ हजारभन्दा बढी नेपाली चेलीहरु यौनदासीका रुपमा बेचिएका छन् । तर आधिकारिक तथ्याङ्क दुबै देशका सरकार र बेचबिखन विरुद्ध क्रियाशील संघ संस्थाहरुमा छैन ।

रेस्क्यु फाउण्डेसनका पदाधिकारीहरुसँग कुरा गर्दै शाक्ति समूहका सुनिता दनुवारसहितको टीम
प्रेरणाका पदाधिकारीहरुसँग कुरा गर्दै शाक्ति समूहका सुनिता दनुवारसहितको टीम

महाराष्ट्रमा त्यहाँको प्रहरी र अधिकारकर्मी मिलेर प्रत्येक चार दिनमा विभिन्न यौन अखडाबाट महिलाहरुको उद्धार गर्छन् । तर, पछिल्ला केही वर्षयता नेपाली चेलीहरुको उद्धार नगन्य संख्यामा भइरहेको छ । ‘चार सय महिलाको उद्दार हुँदा एक दुईजना नेपाली चेली हुन्छन्, बाँकी सबै भारतीय र बंगलादेशी छन्,’ रेस्क्यु फाउण्डेशनका अधिवक्ता भण्डारी भन्छन् ‘तर यहाँका सेक्स मार्केटमा नेपाली केटीको संख्या घटेको होइन बढेकै छ ।’

नेपाली चेलीहरुको बेचबिखन घटेको छैन । भारतका यौनबजारमा नेपाली चेलीहरु अहिले पनि दिनहुँ बेचिएकै छन् । त्यसो भए उनीहरु कहाँ गए त ?

यो प्रश्न सुनितालगायत शक्ति समूहको टोलीले महाराष्ट्रका अधिकारकर्मीहरुसँग पनि राखे । ‘नेपाली बहिनीहरुको बेचबिखन एक त नयाँ ढंगबाट भइरहेकाले त्यस्तो ठाउँमा पुग्नै कठिन रहेछ,’ दनुवारले भनिन् ‘अर्कोतिर नेपाली केटी उद्दार गर्ने भनेपछि भारतीय प्रहरी नै पन्छिँदा रहेछन्

नेपाली भनेपछि ‘नो रेस्क्यु’

उद्दार गरिएका नेपाली चेलीहरुलाई अदालतले खोजेको बेला उपस्थित गराउन नसक्दा सम्बन्धित प्रहरीको जागिर नै जानेसम्मका घटना भएकाले प्रहरी हच्किएको पाइएको छ । ‘उद्दारपछि उनीहरु नेपालमा आउँछन्, अदालतले खोज्दा उपस्थित गराउन नसकेपछि कतिपय प्रहरी निलम्बित समेत भएछन्,’ शक्ति समूहका मिडिया संयोजक आशिष दुलालले भने, ‘त्यसैले त्यहाँका प्रहरी नेपाली भएका यौन अखडामा नजाने बरु उल्टै हप्ता उठाउने गर्दा रहेछन् ।’

कतिपय यौन अखडाबाट उद्दारको समयमा भाग्दै गरेका नेपाली चेलीहरुलाई प्रहरीले उल्टै समातेर कोठीमै बुझाउने गरेको समेत पाइएको छ ।

‘कन्ट्याक्ट सेक्स’

सुनिताको टोलीले यसपटक मुम्बई र पुनेका केही ‘रेस्क्यु शेल्टर’मा पुग्दा एकजना मात्र नेपाली चेली भेट्टाए । यसले पनि नेपाली चेलीहरु कोठीहरुमै थुनिएर बस्न बाध्य भएको संकेत गर्छ ।

पुनेको न्यु बिल्डिङबाट उद्दार गरिएकी कल्पना मगर (नाम परिवर्तन)का अनुसार न्यू बिल्डिङमा मात्र ५० भन्दा बढी नेपाली युवतीहरु यौनदासी बनाइएका छन् । ‘हामीलाई बिभिन्न होटल, गेष्ट हाउस, डान्स बार र कतिपय फ्ल्याटहरुमा लगिन्थ्यो’ कल्पनाको भनाइ उधृत गर्दै सुनिताले भनिन्, ‘नेपालीहरुको अवस्था निकै दयनीय छ, उद्दार गर्न जानेबाट पनि नेपाली भनेपछि तर्किन्छन् ।’

मुम्बईबाटै तेस्रो मुलुक

नेपाली चेलीहरुलाई दलालले भारतबाट पनि तेस्रो मुलुकमा बेचबिखन गर्ने गरेको समेत रेस्क्यु फाउण्डेशनले जनाएको छ । उसका अनुसार मलेसिया, दुबै, कतार तथा अफ्रिकी मुलुकमा समेत सप्लाई हुने गरेको पाइएको छ ।

सुनिताको टोलीलाई महाराष्ट्रका अभियन्ताले भने-‘नेपाली केटीहरु सुन्दर र आकर्षक हुन्छन्, उनीहरुलाई त दलालहरुले यस्तो गरि लुकाउछन् कि यता लुकाउन गाह्रो परेमा तेस्रो मुलुकमा सप्लाई गर्छन् ।’  दिनहुँ भारतका यौन बजाजरमा पुर्‍याइने नेपाली चेलीहरुको उद्दारमा जटिलता उत्पन्न भएपछि बेचबिखन विरुद्धको अभियानमा चुनौति थपिएको छ ।

लाचार नेपाल सरकार

उपसचिव सुनिता नेपाल
उपसचिव सुनिता नेपाल

सरकारलाई पनि यो चुनौतीको धेरथोर जानकारी नभएको होइन । तर, दुई देशबीच स्वदेश फिर्ती सम्बन्धी नीति नबन्दा पनि यो चुनौती थपिएको हो । महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयको बेचबिखन विरुद्धको राष्ट्रिय निर्देशक समितिमा पनि यस्ता गुनासाहरु दिनहुँ पुग्ने गरेका छन् ।

समितिकी उपसचिव सुनिता नेपालका अनुसार सरकार बेचबिखन विरुद्धको अभियान, उद्धार र पुन:स्थापनाको अभियानमा गैरसरकारी संघ संस्थाहरुको भरमा छ । ‘प्रोटोकलको ड्राफ्ट शक्ति समूहले तयार पारेर मन्त्रालयमा दिएको छ, यसका बिभिन्न पक्षबारे छलफल भएका छन्’ नेपालले भनिन् ‘बेचबिखनको तथ्यांक नघट्ने तर उद्धारको तथ्यांक भने घट्ने कुरा चिन्ताको विषय हो ।’

भारत बाहेक तेस्रो मुलुक र नेपालभित्रै पनि बेचबिखनका शैलीहरु परिवर्तन भएकाले विद्यमान ऐनमै संशोधनको तयारी भइरहेको पनि उनले बताइन् । वर्षेनी कति नेपाली चेलीहरु बेचबिखनमा पर्छन्, मानव बेचबिखनको संख्या कति छ भन्ने आधिकारिक तथ्यांक एकद्वार प्रणालीमार्फत संकलन गर्न मन्त्रालय असफल भएको देखिएको छ ।

त्यसैले उद्दार तथा पुन:स्थापना अनि क्षतिपूर्तिको विषय पनि चुनौतिपूर्ण बन्दै गएको छ । यसले गर्दा नेपाल मानव बेचबिखनको स्रोत मुलुकका रुपमा विश्वमा चिनिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment