Comments Add Comment

सत्तापक्षलाई गलाउने एमाओवादी रणनीति

नारायण पंगेनी

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार देशैभरका कार्यकर्तालाई काठमाडौं उतारेर शक्ति देखाउने तयारी गरेको छ । एमाओवादीको योजनामा अन्य साना दलहरु साक्षी किनारामा बसेका छन् ।

माघ ८ को सेरोफेरोमा बनेको ३० दलीय गठबन्धनकै नामबाट देशब्यापीरुपमा कार्यकर्तालाई प्रशिक्षणसमेत दिइसकिएको छ । कार्यकर्ता प्रशिक्षणमा कार्यकर्ताहरुलाई लाठीको बदला लाठीले दिन स्वयं प्रचण्डले नै निर्देशन दिएका छन् ।

फागुन १६ गते कार्यकर्ताहरुको महामेला देखाउने तयारीमा रहेको मोर्चाको नेतृत्वकर्ता दल एमाओवादीले युवा संगठन वाइसीएलको नाममा मंगलवार राजधानीमा प्रदर्शन गर्‍यो ।

मार्चपास नाम दिइएको उक्त प्रदर्शनमा एमाओवादीका विभिन्न जनवर्गीय संगठन सवैजसो कायकर्ताको उपस्थिति थियो । टाउकोमा वाइसीएल स्वयंसेवक लेखेको टोली र हातमा बाँसको भाटो लिएका वाइसीएल स्वयंससेवक मार्चमा युवा विद्यार्थी तथा जबस मोर्चादेखि वृद्धवृद्धा र पार्टी नेताहरु समेत थिए ।

पार्टी संगठन फरक-फरक भए पनि मंगलबारको स्वयंसेवक मार्चमा युवा विद्यार्थी, वृद्धवृद्धादेखि केन्द्रीय नेताहरु सबैको पहिचान ‘वाइसीएल स्वयंसेवक’ थियो ।

मार्चपासमा सहभागी वाइसीएल नेताहरुले सडक आन्दोलन सुरु भइसकेको भन्दै १६ गते निर्णायक हुने प्रचण्डकै भाषा दोहोर्‍याएका थिए । कार्यकर्ताहरुलाई आ-आफ्नो कमाण्डमा रहन समेत सडकबाटै निर्देशन दिइएको थियो ।

निर्देशनपछि सबैले बोकेका बाँसका लाठीहरु भृकृटीमण्डपमा जम्मा गरेर गाडीमा लोड गरी आफ्नै क्षेत्रमा लगेको देखिन्थ्यो । फागुन १६ गतेदेशैभरबाट ओसारिएका कार्यकर्ताहरु १६ गतेको प्रदर्शनपछि सोही दिन नै आ-आफ्नो घर फर्किएपछि कुनै बदलाव नआउने सत्तासीन दलहरुको बुझाइ हुन सक्छ ।

फागुन १६ को पूर्वसन्ध्यामा वाईसीएलका नाममा गरिएको प्रदर्शनबाटै फागुन १६ मा शक्ति देखिने एमाओवादीको आँकलन छ । फागुन १६ मा शक्ति देखाउनुअघि नै तयारी देखाएरै भए पनि सरकारी पक्षलाई गलाउने एमाओवादी रणनीति छ ।

सरकारी पक्ष विपक्षी मोर्चाले सडक कब्जा गर्ने डर देखेर सहमतिमै मात्र संविधान लेखौं न त भन्दै प्रधानमन्त्रीले अर्को आहृवान गर्ने विश्वास पनि प्रचण्डलाई रहेको धेरैको विश्लेषण छ ।

एमाओवादीको ३० दलीय मोर्चाभित्र संविधानसभामा प्रतिनिधित्व गरेका १९ दल र संविधानसभा बाहिरका साना १२ दल सहभागी छन् ।

१९ दलको साथ

संविधानसभाकै १९ दलमध्ये पनि एमाओवादीबाहेका दलहरुको प्रतिनिधित्व एक/दुई जना सभासदमा सीमित छ । संविधानसभा भित्रैबाट संघर्षको थालनी गरेको बताएको मोर्चाका १ सय ४८ सभासद छन् ।

संविधानसभामा प्रक्रियामा अगाडि बढे कुनै पनि हालतमा नस्वीकार्ने बरु संविधानसभा नै समानान्तर ढंगले अघि बढ्ने हुँकार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका छन् ।

आदिवासी जनजातिदेखि संविधानसभा नै बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहितका दलहरुलाईसमेत डोर्‍याएर संघर्षको ऐलान गरेको एमाओवादीले फागुन १६ गते शक्ति प्रदर्शनको ब्यापक तयारी गरेको छ । १६ गतेको शक्ति प्रदर्शन निर्णायक हुने एमाओवादीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment