Comments Add Comment

प्रधानमन्त्रीले भने-बलात्कारीलाई कडा कारवाही हुन्छ

१४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी सम्वद्ध जनवर्गीय संगठनहरुले बाराकी ६ बर्षीया बालिकालाई बलात्कार गर्ने र बसन्तपुरमा दुई किशोरीहरुलाई एसिड छ्याप्नेहरुलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

UCPN-Maoist-Cadersअखिल क्रान्तिकारी, महिला संगठन लगायतका प्रतिनिधिहरुले विहीबार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै हदैसम्मको कारवाही गर्न माग गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले यस्ता घटनालाई सरकारलाई गम्भीर बनाएको भन्दै दोषिले उन्मुक्ति नपाउने बताएका थिए । उनले तेजाब छ्याप्नेहरुको पहिचान गरी पक्रन प्रहरीलाई निर्देशन दिइसकेको र बालीका बलात्कार गर्ने प्रहरी नियन्त्रणमा रहेको जानकारी गराएका थिए ।

यसैगरी कानुनमन्त्री नरहरी आचार्यले दीर्घकालमा समेत यस्ता घटना हुन नदिने गरी विद्यमान कानुन संशोधन गर्न तयार रहेको बताएका थिए ।

‘दोषिलाई कारवाही गर्न र पीडित परिवारलाई राहत दिनुपर्छ भन्ने हाम्रो मागमा उहाँहरु गम्भीर हुनुहुन्छ,’ ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘भविष्यमा यस्ता घटना दोहोरिन नदिन अझै कडा कानुन ल्याउने प्रतिबद्धता पनि जनाउनु भएको छ ।’

ज्ञापनपत्र बुझाउनु अघि एमाओवादी नेता कार्यकर्ताहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि केहीबेर प्रदर्शन गरेका थिए । नेतृ शशी श्रेष्ठ, कल्पना धमला, अखिल क्रान्तिकारीका नेताहरु बस्नेत, रन्जित तामाङ लगायतले कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरुले शान्ति सुरक्षा मिलाउन नसकेको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

गत शुक्रबार बाराको कलैयामा ६ बर्षीया बालिका बलात्कृत भएकी थिइन् भने गत आइतबार काठमाडौं बसन्तपुरको एक ट्युसन सेन्टरमा दुई किशारीमाथि एसिड आक्रमण भएको थियो । बालिका बलात्कारमा संलग्न कलैया ४ का कन्हाई गुप्ताललाई प्रहरीले पक्रे पनि एसिड छ्याप्नेको पहिचान गर्न प्रहरीले सकेको छैन । गुप्ताले रक्सिको नशामा गल्ती भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment