Comments Add Comment

प्रचण्ड भन्छन्-बहुमतको संविधान मान्नैपर्छ भन्ने छैन

१४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको मर्मविपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन् ।

बलिदान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्वन्द्वरत पक्षको साझा दस्तावेजका रुपमा रहेको शान्ति सम्झौतालाई पालना गर्ने वा नगर्ने भन्ने विषयमा प्रस्ट पार्न काँग्रेस-एमालेलाई आग्रह गरे । ‘प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, शान्ति सम्झौताका आधारमा नै अन्तरिम संविधान निर्माण भएकाले त्यसलाई मान्ने की नमान्ने भन्ने नै यतिखेरको संगिन प्रश्न हो । जवाफ कांग्रेस-एमालेले दिनुपर्छ ।’

फाइल फोटो
फाइल फोटो

संविधान लेखन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्नै नसक्ने उनले उल्लेख गरे । दाहालले भने, ‘संविधानमा सबै वर्ग तथा क्षेत्रले अपनत्व महसुस गर्नुपर्छ, एकाध दलले मात्रै बनाउने संविधानले समग्र मुलुकको प्रतिनिधित्व गर्न सक्दैन, शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता र परिवर्तनकारी शक्तिलाई बाहिर राखेर बनाइने संविधानलाई सबैले मान्नैपर्छ भन्ने छैन ।’

पछिल्ला दिनमा सत्तारूढ दलका नेतासँग अनौपचारिक संवाद भए पनि त्यसले ठोस आकार ग्रहण नगरेको जानकारी दिँदै प्रचण्डले सहमति कि बहुमत भन्ने दुविधा नराखेर विगतका प्रतिबद्धतालाई पालना गरे अहिलेको समस्या समाधान हुने जिकीर गरे ।

एमाओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस मनाउँदै आएको छ ।२०५२ फागुन १४ गते तत्कालीन सरकारले गोरखामा १४ वर्षे बालक दिलबहादुर रम्तेलको हत्या गरेको दिन र इलामको सुखानीमा झापा आन्दोलनका पाँच योद्धाको बलिदान दिएको दिनलाई जोडेर एमाओवादीले बलिदान दिवस मनाउने गर्दछ ।

दिवसको अवसरमा फागुन १४ गतेदेखि २१ गतेसम्म साताव्यापी रुपमा सहिद परिवारको सम्मान लगायत बिभिन्न कार्यक्रम गरिने एमाओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment