Comments Add Comment

अख्तियारकी छोरीको सरकारी बिहे !

अरुण बराल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २४ औं वार्षिक उत्सवका दिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको भूमिका देखेर मानिसहरुलाई केही शंका लागेको थियो । विहीबार अख्तियारको कार्यालयमै उनले छोरीको बिहे गरेर थप शंका जगाएका छन् ।

लोकमान सिंह कार्की
लोकमान सिंह कार्की

सर्वसाधारणलाई बिहे, ब्रतवन्ध इत्यादि कार्यमा मितव्ययी हुनुपर्छ भनेर पाठ सिकाउने ठाउँमा छन् लोकमान । सरकारी कार्यालय लागिरहेका बेला सर्वसाधारणका लागि अख्तियारको मूल गेटै थुनेर गरिएको पारिवारिक ‘कार्जे’ अख्तियारको दुरुपयोग हो कि हैन ? सायद यसको जवाफ अब संसदको सुशासन समितिले माग्ने छ ।

संवैधानिक अंगका प्रमुखले नै अख्तियारको दुरुपयोग गरेपछि सुशासन समितिले मात्रै होइन, संसदले नै महाअभियोग लगाउन सक्ने संवैधानिक व्यवस्था छ ।

सामाजिक कार्यमा फजुल खर्च गर्न हुँदैन भन्ने निकायले नै अख्तियार दिवसमा आफैं फजुल खर्च गरेर सामन्ती भड्किलो व्यवहार प्रदर्शन गरिसकेको छ । आफ्नो पक्षमा बोल्ने र लेख्नेहरुलाई भ्रष्टाचारविरुद्ध योगदान गरेको भन्दै नगद बाँडिएको सबैले देखिसकेका छन् ।

अध्यादेशको फेरो समातेर संसदीय जवाफदेहिताबाट बच्दै अख्तियारमा पुगेका उनी ‘नयाँ राजा’का रुपमा उदाएका छन्  ।

कुनै सांस्कृतिक संस्था नभए पनि अख्तियारले वार्षिकोत्सवका दिन सांस्कृतिक कार्यक्रमका नाममा कति खर्च गर्‍यो ? कतै सार्वजनिक गरिएको छैन ।

अख्तियारको प्राङ्गणमा लोकमानकी छोरीको विवाह भइरहँदा कतिपय मानिसहरुले सोही अख्तियारको पुरानो प्रतिवेदन सम्झिए, जसमा नक्कली शैक्षिक प्रमाणपत्रको छानविनबारे लोकमानकी आफ्नै भतिजीमाथि प्रश्न उठाइएको थियो ।

त्यसो त अख्तियारको १५ औं वार्षिक प्रतिवेदनमा भ्रष्टाचारसम्बन्धी मुद्दा तामेलीमा राखिएकाहरुको सूचीको छैठौं नम्बरमा लोकमानसिंहको नामसमेत समावेश छ, जतिवेला उनी जलस्रोत सचिव थिए ।

यद्यपि लोकमान भाग्यमानी नै हुन् । आफ्नो मुद्दा जहाँ तामेलीमा थियो, उनी त्यही संस्थाको प्रमुखमात्रै बनेनन्, सरकारी कार्यालय नै सेबोटेज गरेर छोरीको बिहे गरी दुनियाँलाई देखाइदिए ।

अध्यादेशको फेरो समातेर संसदीय जवाफदेहिताबाट बच्दै अख्तियारमा पुगेका उनी ‘नयाँ राजा’का रुपमा उदाएका छन्  । उनी लोकतन्त्रवादी दलहरुको निरीहताको फाइदा उठाएर अख्तियारमा पुगेका हुन् । प्रशंसकलाई पुरस्कार दिनु र आलोचना गर्नेहरुप्रति रीसइबी साँध्नु लोकमानको असली चरित्र नै हो । उनको क्रियाकलापमा लोकतान्त्रिक संस्कार छैन ।

अख्तियारको प्राङगणमा जुन प्रहसन मञ्चन गरियो, यसबाट अब लोकमानको भ्रष्टाचारविरोधी अभियानको ‘असलियत’ खुलासा हुन अरु पनि केही बाँकी होला र ?

ठूला माछा समात्छु भनिरहेका लोकमानको टेबलको घर्रामा दुईवटा ठूला माछा थुनिएको धेरै महिना भइसकेको छ । एउटा माछो सुरक्षा निकायका बहालवाला एक प्रमुख अधिकारीको मुद्दा हो, जसमाथि नेपालबाट कालोधन अष्ट्रेलिया पुर्‍याएर सेतो बनाई नेपाल भित्र्याएको आरोप छ ।

दोस्रो माछा भनेको इटहरीमा एक व्यक्तिको जग्गा हडपेको आरोप लागेका अर्का पूर्वसुरक्षा अधिकारीको मुद्दा हो । ती अधिकारीलाई कारवाही गर्नुको साटो अख्तियारमै ल्याउने खेल भइरहेको छ ।

अख्तियारको प्रतिवेदनमा ‘तामेली’को सूचीमा आफ्नो नाम भएजस्तै लोकमानले सभासद गणेश थापाको नाम यस वर्षको तामेली सूचीमा चढाएका छन् ।

विहीबार अख्तियारको प्राङगणमा जुन प्रहसन मञ्चन गरियो, यसबाट अब लोकमानको भ्रष्टाचारविरोधी अभियानको ‘असलियत’ खुलासा हुन अरु पनि केही बाँकी होला र ? के लोकमानले अख्तियारको प्राङगणमा यसरी छोरीको बिहे गर्नु ठीकै र सामान्य घटना नै हो ? सचेत नागरिकले यसमा पक्कै बहस गर्लान् ।

संसदीय समितिले पनि पक्कै पनि सन्देश देला कि लोकतन्त्रमा कानून र पदीय मर्यादाभन्दा माथि कोही पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment