Comments Add Comment

काँकरभिट्टामा काठमाडौंका मान्छेसँग तीन दिन

डम्बर खतिवडा

Khagendra-sangraula

‘काँकर’ को शब्दस्वादः

मैले बुझेसम्म ‘काँकर’ को अर्थ हुन्छ ‘गंगटो’ र ‘भिट्टा’ को अर्थ हुन्छ बारी अर्थात् डिहीँबास (घडेरी) योग्य उच्चा जमीन ।

धेरै अगाडि हाम्रो घरमा एकजना हलिया थिए- देवीलाल सदा । उनलाई हामी ‘देविया’ भन्थ्यौं । हाम्रो घरमा उनी ‘कृषि मजदूर’ भन्दा बढी हजुरबाका साथी जस्ता थिए । मुसाको चोखा (अचारजस्तो बनाइएको मासु) र काँकरको चटनीसँग दारु पिउन खुबै मज्जा मान्थे उनी । मलाई एकपटक काँकरको चटनी चाख्ने तीव्र इच्छा थियो । तर, हजुरबा र आमाहरुका अगाडि घरमै चाख्ने साहस नै भएन ।

फलानाले ‘गंगटो खायो’ भन्ने हल्ला पनि नहोस् र ‘काँकर’ को स्वाद चाख्न पनि पाइयोस् भनेर म देवियाको पछिपछि लाग्न थालें । उनीसँगै खेत जान थालें । उनी हलो जोतुन्जेल म काँकर समातेर बस्थें । उनी पटाहा लगाउन थाल्दा म उनका खुट्टा समातेर टाङमुनि पस्थें । निक्कै खुशामद गरिसकेपछि मैले एक दिन ‘काँकर’ को चटनी चाखें ।

जीवनमा एकपटक मात्रै, त्यो पनि डराउँदै डराउँदै चाखेको काँकरको स्वाद कस्तो थियो, त्यो बिर्सिसकें । तर, देशको पूर्वी सीमान्त बस्ती काँकरभिट्टामा भने काँकरको शब्द स्वाद बाँकी नै छ । त्यहाँ क्याम्पसको नाम पनि काँकरभिट्टा । स्कुलको नाम पनि काँकरभिट्टा । कला साहित्य उत्सवको नाम पनि काँकरभिट्टा ।

पहिचानको आन्दोलन र सीमान्तकृत हुँदै गएका भाषासाहित्य र संस्कृतिको महत्व मलाई यही कारणले बढी मन छुनेखालको लाग्छ । काँकरभिट्टाको साटो ‘गंगटे बारी’ क्याम्पस, ‘गंगटे बारी’ उच्च माबी, ‘गंगटे बारी’ कलासाहित्य महोत्सब भन्नुपरेको भए सायद त्यसको ‘लिरिक’ मात्र हैन, अर्थसंगतिमा नै निक्कै समस्या हुन्थ्यो ।

‘रिडर्स’ को कथा :

करिब २ वर्ष अगाडि सन्दर्भबस एक नयाँ युवासँग परिचय भयो । झ्याप्प कालो दारी पालेर ‘काउब्वाइ हेट’ लगाएको ठिटो निक्कै अरिमठिएको होला जस्तो लाग्यो । तर, कुरा गर्दै जाँदा उनी ठीक उल्टा थिए । अध्ययन र बौद्धिक चिन्तनको आगोले सल्काइरहेको उनको हृदयमा थुप्रै उत्सुकता र जिज्ञासाहरु थिए । उनी बारम्बार भन्थे मलाई-दाई हाम्रो एउटा सानो क्लब छ, ‘रिडर्स’ झापा भन्ने । हामी त्यसमार्फत् ‘पठन संस्कृति’ को विकासका लागि काम गरिरहेका छौं । उनी थिए- सागर सिवाकोटी ।

Dambar-khatiwada

सागरसँगको त्यही भेटले तान्दै लगेर मलाई यसपटक काँकरभिट्टामा तीन दिन बस्ने बनायो । गत हप्ता अर्थात् फागुन ९, १०, ११ गते ‘रिडर्स’ झापाले आयोजना गरेको कला सहित्य उत्सव-२०७१ देशकै लागि एउटा ‘युनिक’ र नमूना कार्यक्रम हो भन्न कुनै हिच्किचाहट छैन मलाई । सागरका अतिरिक्त त्यहाँ ‘रिडर्स’ झापाको कथा बाँड्न उनका साथीहरुको पूरै जमात तयार थियो । निरज कट्टेल हुन् वा उज्वल प्रसाई, दीपक पोखरेल हुन वा सौरभ मैनाली, राजु अधिकारी वा हरि तिम्सिना, उनीहरुको स-सानो प्रयास जोडिँदै जाँदा, ‘रिडर्स’ झापा बन्यो ।

चियापसलमा बसेर उनीहरु आफूले पढेका कुराहरु एकअर्कालाई ‘शेयर’ गर्थे । खानेपानी कार्यालयको चौरमा जम्मा भएर उनीहरु विभिन्न लेखरचनाहरु पढ्थे र बहस गर्थे । आफैभित्र ज्ञानको भोकलाई तृप्त गर्नुभन्दा बढी कुनै महत्वाकांक्षा थिएन, उनीहरुको । स-साना कामहरु नै ठूल्ठूला उपलब्धिका कडी बन्न सक्छन् भनेर पुष्टि गर्दिएका छन् उनीहरुले अहिले ।

पचास हजारभन्दा बढी जनसंख्या भएको सुदुरपूर्वी शहर मेचीनगर नगरपालिकामा उनीहरुको परिचय नै आज ‘रिडर्स’ भएको छ । जब उनीहरु सडकमा समूह बनाएर गफिँदै हिँड्छन, मान्छेहरु भन्छन रे ‘उ, रिडर्स आए’ ।

सीमान्त शहरः

मेचीनगर नगरपालिकाको १० नम्बर वडा हो -काँकरभिट्टा बजार । सीमा नदी मेचीको पश्चिमी किनारालाई ढाक्दै गएको छ यसले । यही एउटा वडामा २० हजार जनसंख्या पुग्न लाग्यो भन्ने सुनेर एकक्षण त मलाई पत्यार नै भएन ।

काँकरभिट्टा बजारमात्र पनि आफैंमा एउटा ‘सीमान्त शहर’ जस्तो बन्न लागेको छ । तर, काँकरभिट्टाको सीमान्तता ‘आइसोलेसन’ हैन, यो सिधै जोडिएको छ देशका अरु भागसँग । यहाँसम्म कि काठमाण्डौंसँग पनि उत्तिकै भावनात्मक रुपले जोडिएको छ ।

काँकरभिट्टाको सीमान्तता एउटा यस्तो सुदुर विन्दू हो, जहाँ पुगेर मान्छेलाई देशको माया अझ हरहराउँदो गरी अनुभूत हुन थाल्छ । बोर्डर अर्थतन्त्रका आफ्नै चरित्र हुँदा हुन् । नत्र यति धेरै मान्छेले यहाँ खाँदिने इच्छा गर्ने थिएनन् होला ।

डोनेशन बक्समा पुस्तकः

कला, साहित्य उत्सवको उद्घाटन गर्ने तरिका नै नयाँ र प्रतिकात्मक थियो । मञ्चमा आसन ग्रहण गराइएका लम्बेतान अतिथिहरु थिएनन् । दर्जनौं मूर्धन्य व्यक्तित्वहरु हलमा आ-आफ्नै आसनमा थिए । मञ्चको अग्रभागमा एउटा पारदर्शी प्रकारको बाकस थियो । त्यसमा पुस्तक राखेर डा. देवेन्द्रराज पाण्डेले कार्यक्रम उदघाटन गरे ।

‘रिडर्स’ झापाका साथीहरु एउटा राम्रो वाचनालय बनाउन चाहन्छन् । त्यही अभियानको संकेत थियो यो उद्घाटन । यो पुस्तक दान ।

सोलो स्पिकरहरु

तीन दिनको काँकरभिट्टा कला, साहित्य उत्सव-०७१ मा पाँचजना एकल संभाषणकर्ताहरु थिए- डा. देवेन्द्रराज पाण्डे, प्रा. कृष्ण खनाल, साहित्यकार खगेन्द्र संग्रौला, समाजवादी चिन्तक प्रदीप गिरी र कवि, लेखक तथा राजनीतिज्ञ आहुति । यी सबैले आ-आफ्नो क्षेत्रलाई गहिरो न्याय गरिरहेका थिए ।

Davendra-raj-Pandey-and-Pradeep-giri

डा. पाण्डेको चिन्तन विकास र अर्थतन्त्रसँग जोडिएको थियो । जनमुखी कार्यपद्दतिमा नढालिएको विकासलाई विकास मान्न अस्वीकार गरे उनले । विकासकै नाममा पञ्चायती व्यवस्था आएको थियो नेपालमा । प्रजातन्त्रभन्दा विकास प्रमुख हो भन्नेहरु फेरि सल्बलाउँदैछन् । तर, अधिकारमुखी ढाँचाभन्दा फरक मोडेलमा हुने विकासले कुनै प्रतिफल नदिने निष्कर्ष थियो उनको ।

प्रा. खनालको चिन्तनमा राजनीतिका ‘क्रक्स’हरु, विशेषतः परम्परागत राजनीतिक दलहरु कसरी असफल हुँदैछन, भारतमा ‘आप’ को जन्मको कारण के हो ? लोकतन्त्र, दलतन्त्र र नेतातन्त्र बीचका भिन्नताहरु के के हुन् भन्ने विषयमा केन्दि्रत थिए ।

साहित्यकार संग्रौलाले थुप्रै नयाँ आत्मनुभूतिहरु ओकले झापा पुगेर । उनले आफूलाई ‘स्टालिनवादसँग कुनै मोह नभएको’, ‘कम्युनिज्म’ र ‘बामपन्थ’ बीचको भिन्नता बुझ्न सक्ने, ‘सर्वहारा अधिनायकत्व’ को युग समाप्त भएको समयको माक्र्सवादीका रुपमा आत्मचित्रण गर्ने प्रयास गरे ।

आहुतिले ‘दलित आन्दोलन’ का सन्दर्भबाट जुन तर्कहरु राखे, त्यसले धेरैको दिमाग हल्लाइदियो ।

प्रेमका लागि क्रान्तिः

बाँकी रहृयो चिन्तक प्रदीप गिरीको कुरा । उनी अन्तिम दिनका मुख्य वक्ता थिए । विना कुनै हिच्किचाहट उनले बढो शानले भने ‘साहित्य मेरा लागि प्रेम परेकी, तर विवाह गर्न नपाएकी प्रेमिकाजस्तै हो, जसको मधुर स्मृतिले मात्र पनि जीवनभर आनन्द दिइरहन्छ ।’

गिरीको बोलीमा कुनै बनावटीपन थिएन । उनको तर्कमा कुनै ‘हाइपोक्रेसी’ थिएन ।

उनले अझ बढी शानले भने ‘म देश परिवर्तन गर्न भनेर कांग्रेसमा, प्रजातन्त्रको आन्दोलनमा लागेको हैन । म ठूलो साहित्यकार बन्ने इच्छा राख्थें । तर, ती युवती, जसलाई म प्रेम गथेर्ं, उनी म राजनीतिमा लागौं भन्ने चाहन्थिन् । उनको प्रेम प्राप्त गर्ने इच्छाले म साहित्य छोडेर राजनीतिमा आएँ, प्रेमका लागि क्रान्तिमा आएँ । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो दुर्घटना थियो, न मेरो प्रेम सफल भयो, न मेरो राजनीति सफल भयो, न मेरो साहित्यप्रतिको प्रगाढ अनुराग नै सार्थक हुन पायो ।’
गिरीले स्रोताहरुलाई मन्त्रमुग्ध मात्र बनाएनन्, झण्डैझण्डै रुवाए ।

प्यानल डिस्कसको श्रृंखला :

अधिकांश ‘प्यानलिष्ट’हरु आ-आफ्नो क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु थिए । किशोर नेपाल, रविन्द्र मिश्र र सुधीर शर्माका बीच सञ्चारक्षेत्रबारे बहस हुनु, नयनराज पाण्डे, बुद्धिसागर र आन्विका गिरीबीच उपन्यास लेखनबारे बहस हुनु केही त्यसका उदाहरणहरु हुन् ।

यो श्रृखला तीन दिनसम्म लगातार चलिरहृयो । अधिकांश प्यानल डिस्कसहरु टेलिभिजनका घिसेपिटे ‘टक सो’ हरु भन्दा निक्कै उत्कृष्ट थिए ।

केही सीमाहरु

तर, प्यानलिष्टहरुको छनौट लैङ्गकिता, मधेस र जनजातिप्रति ‘वायस’ जस्तो देखिने आरोप लगाउन सकिने ठाउँ पनि थिए । आयोजकहरुका आफ्नै बाध्यता थिए होलान् । सम्पर्कका सीमा थिए होला । ‘वायस’ नै हुनुपर्ने जस्तो त ‘रिडर्स’ का साथीहरु कोही पनि लाग्दैनन् । जिज्ञासा, सहिष्णुता र खुल्ला मष्तिष्कका अभियन्ताहरु जस्तै लाग्थे उनीहरु । तथापि यो अलिकति ध्यान दिनयोग्य पक्ष नै हो ।

तीन दिनको ‘इमेज’:

नढाँटी भन्दा तीनै दिन बस्ने सोचले गएकै थिइँन म त्यहाँ । साथीहरुको मन पनि रहने, एक दिन बस्ने र लुसुक्क फर्किने योजना थियो भित्री हृदयमा । तर, त्यहाँ पुगेपछि मेरो मनको भित्री कुरा भित्रभित्रै मर्‍यो । लाग्यो कि यो तीन दिनको छाप मेरो मष्तिष्कमा निकै लामो समयसम्म रहन सक्नेखालको छ । किन छोडुँ यसलाई ? त्यसो त थुप्रै औपचारिक/अनौपचारिक भेटघाट र चिनजानको अवसर पनि दियो त्यसले, जुन सितिमिति प्राप्य हुँदैन ।

तर, मेरो हृदयमा बस्ने कार्यक्रमको छापभन्दा देशको हृदयमा बस्ने काँकरभिट्टाको ‘इमेज’ निक्कै महत्वपूर्ण हो भन्ने लागिरहृयो । देशका इनेगिनेका ठूला संस्थाहरुले यतिको कार्यक्रम आयोजना गर्नु परेको भए राज्यकोषको निक्कै ठूलो रकम खर्च हुन्थ्यो होला । एउटा सानो नगरका केही युवाहरुले देशलाई यति ठूलो ‘म्यासेज’ दिए कि काँकरभिट्टा देशको सुदुर पूर्वी कुनामा भए पनि आफै केन्द्रमा सरेर आएझैं प्रतीत हुन्थ्यो ।

अन्त्यमाः

‘पठन संस्कृति’बारे कवि मनु मञ्जिल यदाकदा भन्छन्- ‘जुन मान्छेले युवा उमेरमै संसारका १० वटा राम्रा किताब पढ्छ, त्यो जीवनभरि कहिल्यै बदमास हुन सक्दैन’ ।

कवि मञ्जिलको आशय बढो सरल छ । युवाहरुलाई चोर हुन नदिने हो भने किताब पढाउनुपर्ने रहेछ । गुुण्डा हुन नदिने हो भने पनि किताब पढाए हुने रहेछ । ड्रगिष्ट हुन नदिने हो भने पनि किताब पढाउनुपर्ने रहेछ । पठन संस्कृति आफैमा धेरै सामाजिक समस्याहरुको स्वस्फूर्त उपचार हुन सक्छ ।

तस्वीर: रिडर्स क्लब झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment