Comments Add Comment

सिटौलाले भने- विपक्षीलाई फूलको मालाले स्वागत गरिरहेका छौं

१५ फागुन, पाल्पा । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकीकृत माओवादी लगायतका विपक्षी दलहरुलाई फूलको मालाले स्वागत गरिरहेको बताएका छन् ।

Krishna sitaula 650पाल्पाको तानसेनमा शुक्रवार विहान प्रेस युनियन पाल्पाले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले वार्ताका लागि तरबारले नभई फूलको मालाले स्वागत गरिरहेको बताए । सरकारले वार्तालागि गरेको आग्रहलाई एकीकृत माओवादीले अस्वीकार गर्दै सरकारले तरबार राखेर वार्तामा बोलाएको आरोप लगाएको छ ।

‘यो संविधानसभा एमाओवादीहरूकै सहभागितामा जनताले बनाएको हो’,  महामन्त्री सिटौलाले भने, ‘संविधानसभामा आउनुस् भन्दा तरबार तेर्साएको कसरी हुन्छ ? बरू फुलको मालाले नै स्वागत गरिरहेका छौँ ।’

कांग्रेस महामन्त्री सिटौलाले दलहरुले सहमति कार्यान्वयन गरिरहेको भनी पूर्वराजा ज्ञानेन्द्रले लगाएको आरोपको पनि खण्डन गरे । ज्ञानेन्द्रलाई दरबारबाट बाहिर निकाल्दा आफू नै राजालाई भेट्ने एक मात्र प्रतिनिधि भएको भन्दै सिटौलाले त्यतिबेला ज्ञानेन्द्रसँग गणतन्त्र कार्यान्वयन गर्ने सहमति भएको दावी गरे ।

कांग्रेस महामन्त्री सिटौलाले सडकमा गएर कसैले पनि संविधान बनाउन नसक्ने बताए । अहिलेको मुख्य एजेण्डा संविधान निर्माण गर्ने भएकाले सडकमा गएका एमाओवादी, मधेशीलगायतका दललाई सडक छाडेर संविधान निर्माणको प्रक्रियामा सहभागी हुन उनले आग्रह गरे ।

संविधान बनाउने काम छाडेर सडकमा जानु भनेको समग्र शान्ति प्रक्रिया र अन्तरिक संविधानको बिरोध गर्नु भएको उल्लेख गर्दै उनले दोस्रो संविधानसभा कुनै पनि हालतमा असफल नहुने जिकिर गरे ।

सिटौलाले नेपाली कांग्रेसले कुनै पनि हालतमा माओवादीलाई छाडेर अघि जान नसक्ने उल्लेख गरे । शान्ति सम्झौता र अन्तरिक संविधानको प्रमूख सहयात्री माओवादीलाई कांग्रेसले छाडेर अघि बढ्न नसक्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment