Comments Add Comment

फागुन १६ पछि राजनीतिक कोर्ष परिवर्तन हुने

१५ फागुन, काठमाडौं । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले फागुन १६ गतेको शक्ति प्रदर्शनपछि मुलुकको राजनीतिले नयाँ कोर्ष लिने दावी गरेको छ । उसले यो प्रदर्शनबाट कांग्रेस-एमालेलाई सहमतिमा आउन बाध्य पार्ने बताएको छ ।

कांग्रेस-एमालेले भने शक्ति प्रदर्शनलाई सामान्य भन्दै यसबाट डराउनुपर्ने वा हौसिनुपर्ने जरुरी नरहेको प्रतिक्रिया दिएका छन् । समिक्षकहरुले पनि फागुन १६ को औपचारिकतापछि एमाओवादी नेतृत्वको मोर्चा सहमतिका लागि वार्तामा आउने आधार बन्ने बताएका छन् ।

अनलाइनखबरले प्रमुख दलका नेता र विश्लेषकसँग एमाओवादी मोर्चाको शक्ति प्रदर्शनपछिको राजनीतिक परिदृष्यका बारेमा प्रतिक्रिया लिएको छ । उनीहरु सबैले फागुन १६ पछि सहमतिको यात्रा पुनः शुरु हुने बताए ।

ananda-dhunganaसहमतिको कोर्ष शुरु हुन्छ : आनन्दप्रसाद ढुंगाना, नेता, नेपाली कांग्रेस

एमाओवादी मोर्चाले फागुन १६ गते शान्तिपूर्ण प्रदर्शन गर्छौं भनेको छ, त्यो राम्रो कुरा हो । उहाँहरुले प्रदर्शनका लागि प्रदर्शन गर्नु कुनै ठूलो कुरा रहेन । तर कोर्ष त अब परिवर्तन हुन्छ र हुनै लागेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैककले सहमतिका आधारमा संविधान जारी गर्ने भनेर निर्णय गरिसकेको छ । उहाँहरुको माग पनि सहमति नै हो । अब अरु शक्ति प्रदर्शनको कुनै अर्थ छैन ।

उहाँहरु सहमतिको कोर्षमा आउनुहुन्छ र नआई सुख छैन । अब त्यसका लागि भाटा उठाएर हिँड्नु जरुरी छैन । जनआन्दोलनका सहयात्रीहरुबीच सहमतिबाट संविधान जारी गर्नुपर्छ भन्ने महशुस भइसकेको छ सबैलाई ।

Gokarna-Bista-1शक्ति प्रदर्शन आत्मरति हो : गोकर्ण विष्ट, सचिव, नेकपा एमाले

एमाओवादी मोर्चाले मान्छे जम्मा पारेर आमसभा गर्दैमा वा प्रदर्शन गरेकै भरमा राजनीतिको कोर्ष परिवर्तन हुने भन्ने मलाइ लाग्दैन । तर पनि कोर्ष परिवर्तनको जरुरी भइसकेको छ र त्यसको बेला पनि आएको छ ।

यसमा एमाओवादीले दुई चार हजार मान्छे जम्मा पारेर आफ्नो शक्ति देखाउनुलाई म नकारात्मक ढंगले हेर्दिन, त्यसबाट राजनीतिलाई सही दिशामा ल्याउन सकिन्छ भने राम्रो हो । अहिलेको संवादहिनताको अवस्था अन्त्य हुनैपर्छ, किनकी यसले अविश्वास र द्वन्द्व बढाउँछ । संवादहीनता कसैको हितमा छैन ।

त्यसकारण संवादमा फर्किएर संविधानसभाभित्रबाट संवादबाट समाधान खोज्न अघि बढ्नुपर्छ । फेरि पनि सबैको जित हुने गरी संवादमार्फत समाधान खोज्नुपर्छ । हामी संवाद र संविधानसभामार्फत समाधान खोज्नका लागि जिम्मेवारपूर्ण भूमिका खेल्न तयार छौं । शक्ति प्रदर्शनबाट डराउने भन्ने हुदैन, उहाँहरुले एउटा कार्यक्रम गर्दै हुनुहुन्छ, मेरो भन्नु केही छैन, फेरि पनि संवादबाट सहमति निस्कन्छ ।

लाठी सहितको प्रदर्शन आत्मरतिका लागि त होला, समाधानका लागि त जिम्मेवारपूर्ण भूमिका नै आवश्यक हुन्छ आमसभा, प्रयदर्शन जे जे गरे पनि समाधान संविधानसभाबाटै खोज्ने हो, यो प्रदर्शनपछि संवादमा उहाँहरु आउनुहुन्छ भन्ने मलाई लाग्छ ।

Laxmanlal-Karnaसहमतिबाटै संविधान बनाउन प्रदर्शन : लक्ष्मणलाल कर्ण, सहअध्यक्ष, सदभावना पार्टी

अहिले अहिलेसम्म गरेको आन्दोलन र जनप्रदर्शन सहमतिबाटै संविधान बनोस् भनेर हो । विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन होस् र अन्तरिम संविधानको मर्म अनुसार नै अघि बढौं भनेर हामीले भनिरहेका छौं ।

हामीले २ लाखलाई सडकमा उतार्ने भनेका छौं । त्योभन्दा बढी हुन्छ तर, कम हुँदैन । मधेसवादी दलहरुले मधेसबाट कार्यकर्तालाई बसमा काठमाडौं ल्याउँदैछन् । उनीहरु भोलि विहानसम्म आइपुग्छन् ।

जहाँसम्म भनेको जस्तो मानिसहरु ल्याउन सकेनन् भने कांग्रेस र एमालेले झन् पेल्ने कुुरा छ, अहिले पनि हामीलाई कहाँ छोडेका छन्  ।

kishor-shreshtaमाओवादीको बार्गेनिङ हो : किशोर श्रेष्ठ, बरिष्ठ पत्रकार

एमाओवादीको फागुन १६ को शक्ति प्रदर्शनपछि राजनीतिले नयाँ कोर्ष त लिन्छ नै । आखिर माओवादी नेतृत्वले सेफ ल्याण्डिङ खोजेको छ, यसपछि वार्तामा बस्न उसलाई सजिलो हुनेछ । संविधान निर्माणको जस कसले लिने भन्ने माओवादी नेतृत्वभित्रै खेल छ । एकथरी वार्ता गर्नै हुदैन भन्दैछन्, अर्काथरी आन्दोलन आवश्यक छैन भनिरहेका छन् ।

यो प्रदर्शनपछि प्रचण्डलाई सेफ ल्याण्डिङको बहाना मिल्छ । जसले जे भने पनि जनता आन्दोलनको मूडमा छैनन् । एमाओवादी नेतृत्वको आन्दोलन उठ्न सकेको छैन । अब लामो समय यो अवस्था रहदा कांग्रेस एमाले पर्खेर बस्दैनन् । संविधानसभाले पनि आफ्नो कोर्ष लिन्छ नै ।

एमाओवादीले संविधानसभा छाड्दैन भन्ने कुरा त तीन महिनाको पेश्की लिएर हिडेपछि नै प्रष्ट भइसकेको छ । ल्यारक्याल लामाको नियुक्ति र मोहन वैद्यले बोलाउँदा पनि उसको एजेण्डामा सहमत हुन नसक्नुले पनि एमाओवादी संविधानसभा छाडेर हिँड्न सक्दैन भन्ने प्रष्ट सन्देश हो । माओवादीले जनतालाई धेरै आश्वासन बाँडे ।

चुनावमा कांग्रेस-एमालेले धारा, बत्ति, सडकको आश्वासन दिए, माओवादीले सबैलाई राज्य दिन्छौं भने । अहिले त्यहि असम्भव आश्वासन उनीहरुको लागि घाँडो भएको छ । माओवादी जहाँ जहाँ बलियो बने त्यो ठाउँमा क्रिश्चियानिटी फस्टाएको छ ।

काठमाडौं वरीपरीका बस्तिमा सुकुम्बासी बस्तिमा क्रिश्चियन फस्टाउनुको कारण माओवादी हो । अहिले उनीहरुले लाठी पनि चर्चमा लुकाएको भनेर प्रहरीले खोजि गरेको छ । यसबाट पनि माओवादी दिग्भ्रमित अवस्थामा छ भन्ने प्रष्ट हुन्छ ।

मलाई लाग्छ माओवादीले बार्गेनिङ पावर बढाउन यो प्रदर्शनलाई महत्व दिएको छ । लोकसेवामा दुई सदस्य पाउनु पनि यसकै कारण हो । शक्तिको बाँडफाँडमा बार्गेनिङ गर्न यो प्रदर्शनले उसलाई बल पुग्न सक्छ । आखिर भागबण्डा हो मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment