Comments Add Comment

वाइसीएलले लुकाएका भाटा खोज्न प्रहरी परिचालन

Maobadi rally (8)

१६ फागुन, काठमाडौं । प्रमुख विपक्षी एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले लाठीसहित राजधानीमा शनिबार शक्ति प्रदर्शन गर्न लागेको भन्दै गृहमन्त्रालयले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

प्रहरी हाइ अलर्ट

गृह मन्त्रालयको निर्देशनबमोजिम नेपाल प्रहरीले ‘हाइ अलर्ट’को नीति लिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । महानगरीय प्रहरीका सबै युनिट शुक्रबार साँझैदेखि सडकमा तैनाथ छन् ।

शुक्रबार बिहानैदेखि प्रहरीले ‘सर्च एन्ट अपरेशन’ शुरु गरेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले बताए । त्यसक्रममा कुनै विष्फोटक पदार्थ, जनजीवन आतंकित पार्ने मनसायले तयार पारिएका सामाग्री र लाठीहरु नियन्त्रणमा लिइनेछन् ।

हालसम्म विष्फोटक पदार्थ फेला नपरे पनि सर्वसाधारणलाई आतंकित पार्ने गरी जम्मा पारिएका बाँसका भाटा र लाठी भण्डारण गरिएको स्थलको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई पनि नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको गृह स्रोतले जनाएको छ । ‘शान्तिपूर्ण रुपमा जुलुस,सभा गर्नलाई प्रहरीले नै सुरक्षा दिन्छ’ उच्च प्रहरी अधिकारीले भने ‘जनजीवन आतंकित पार्ने कार्य सैहृय हुँदैन ।’

गृह मन्त्रालयले यसअघि नै लाठी लिएर सार्वजनिकस्थलमा भेला वा प्रदर्शन नगर्न सूचित गरिसकेको छ । सो निर्देशन अवज्ञा गर्नेमाथि कस्तो कारवाही गर्ने भन्नेबारेमा प्रहरीले राजनीतिक तहबाटै निर्देशन पर्खिएको एक उच्च प्रहरी अधिकारीले बताए ।

महानगरी प्रहरी आयुक्तको कार्यालयका प्रमुख विज्ञानराज शर्माले प्रहरीले शान्ति सुव्यवस्था काम गर्ने सवालमा कुनै पनि गैरकानुनी काम हुन नदिने बताए ।

नाकामा कडाइ

प्रहरीले काठमाडौं भित्रिने सवारी साधनहरुमा उच्च निगरानी थालेको छ । थानकोट, फर्पिङ, बनेपा र साँखुसहित सबै नाकाबाट शुक्रबार र शनिबार काठमाडौं भित्रिने सवारी साधन र चालकको अभिलेख राख्न कडा निर्देशन दिइएको प्रहरी स्रोतले बताएको छ ।

(यो समाचार पनि पढ्नुहोस् : नागढुंगा क्षेत्रबाट माओवादीका लाठी बरामद)

विमानस्थलमा सतर्कता

विमानस्थलको सुरक्षा सतर्कता बढाउन त्रिवि सुरक्षा गार्ड युनिटका सबै प्रहरी कर्मचारी तैनाथ हुन्छन् भने आगमन र प्रस्थान गर्ने यात्रुको विषयलाई बढी संवेदनशीलताका साथ हेर्न अध्यागमन कर्मचारीलाई निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।

प्रहरीका तीनवटा गणका सुरक्षाकर्मी हाई अलर्टमा छन् । उनीहरुको ड्युटी स्टयाण्डबाई हुने भनिएको छ । त्रिपुरेश्वर, नक्साल र महारागञ्जलाई मुकाम बनाएर उनीहरु परिचालित हुनेछन् ।

मुख्य शहरी क्षेत्रमा इन्स्पेक्टर र डीएसपीको कमाण्डमा टोली तैनाथ छन् । तीनै जिल्लाका प्रहरी प्रमुख महानगरीय प्रहरी आयुक्त कार्यालय, रानीपोखरीमा उपस्थित हुने र निर्देशनअनुसार युनिटहरु चलाउने प्रहरी स्रोतले जनाएको छ ।

होटल र लजमा विशेष निगरानी

शुक्रबार साँझदेखि नै होटल, लज र रेष्टुरटेन्टहरुमा सादा पोशाकका सुरक्षाकर्मी परिचालित छन् । कुनै पनि अप्रीय घटना हुन नदिन र आन्दोलनकारीको सुरक्षालाई समेत ध्यान दिएर सुरक्षा व्यवस्था कडा पारिने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए ।

गृहमन्त्रालयले कानुनले बर्जित गरेका कुनै पनि गतिबिधि नगर्न र सर्वसाधारणलाई आतंकित पार्ने खालका हात हतियार, लाठी लगायतका कुनै पनि सामाग्री प्रदर्शन नगर्न पनि सम्बद्ध पक्षलाई सचेत गराएको ढकालले बताए ।

सुरक्षा बैठक

गृह मन्त्रालयमा गृहसचिव सूर्य प्रसाद सिलवालको नेतृत्वमा शुक्रबार अपरान्ह शान्ति सुरक्षासम्बन्धी बैठक बसेको थियो । बैठकमा शान्ति सुरक्षा महाशाखाका प्रमुख लक्ष्मी ढकाल, आइजीपी उपेन्द्रकान्त अर्याल लगायत प्रहरी उच्च अधिकारीहरु समेत सहभागी थिए ।

वैद्य र विप्लवको बेग्लै त्रास

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको प्रदर्शनमा मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ता पनि मिसिने र अप्रीय घटना गराउन सक्ने सुराकीका आधारमा सादा पोशाकका सुरक्षाकर्मी समेत परिचालन गरिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment